• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

त्रिदेशीय क्रिकेटको उपाधि नेपाललाई

Byspainnepal

Apr 24, 2021

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै नेपाल विजेता बनेको हो । यो नेपालले कुनै पनि अन्तराष्ट्रिय क्रिकेटमा हात पारेको सबैभन्दा फराकिलो जित हो । यसअघि नेपालले तेह्रौं सागमा भुटानलाई १४१ रनले जितेको थियो ।

फाइनलमा २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई १७ ओभर २ बलमा ९६ रनमा अलआउट गर्दै १४२ रनको जीत हात पारेको हो । नेपालका करण केशीले ३, सन्दीप लामिछाने र कमलसिंह ऐरीले २–२ तथा अभिनास बोहोराले १ विकेट लिएपछि नेदरल्याण्ड्स ९६ रनमै अलआउट भयो ।

नेपालले दिएको लक्ष्य नेपालले ट्वेन्टी ट्वेन्टी क्रिकेटमा बनाएको अहिलेसम्मको धेरै रन हो । यसअघि १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले भुटानसामू २३६ रन बनाएको थियो ।

त्रिवि मैदान कीर्तिपुरमा नेरदल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गरेको नेपालले दुई खेलाडीको अर्धशतक मद्दतमा २३८ रन बनाएको थियो ।

नेपालका कुशल भुर्तेलले ७७ रन बनाए । यस्तै कुशल मल्ल ५० तथा दिपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे । राष्ट्रिय टिमबाट पहिलो अर्धशतक बनाउने क्रममा मल्लले २४ बलमा ५० रन पूरा गरे । आक्रामक ब्याट्स्म्यानको रुपमा परिचय बनाइरहेका मल्लले ५ छक्का र २ चौकासहित ५० रन बनाए । उनले नेपालका लागि दोश्रो छिटो अर्धशतक बनाएका हुन् । यसअघि ज्ञानेन्द्र मल्लले २१ बलम मलेशियासँग अर्धशतक बनाएका थिए । १७ बर्षिय कुशलले यहि प्रतियोगिताबाट राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।

यस्तै प्रतियोगिताका पाँचमध्ये चार खेलमा अर्धशतक बनाउने क्रममा कुशल भुर्तेलले शनिबार ५३ बलमा ७७ रन बनाए । उनले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आशिफ सेखले १६ रनको योगदान गरे । ज्ञानेन्द्रले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

तेश्रो ओभरमा टिमको रन ३० हुँदा आशिफ आउट भएपनि कुशल र ज्ञानेन्द्रले दोश्रो विकेटका लागि ४७ रनको साझेदारी गरे । टीमको स्कोर ८७ हुँदा दशौं ओभरमा ज्ञानेन्द्र आउट भए । यसैगरि कुशल भुर्तेल र कुशल मल्लले तेश्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । कुशल ७७ रनमा आउट भएपछि मैदानमा आएका दीपेन्द्रसिंह ऐरीले पनि विष्फोटक ब्याटिङ गरेपछि नेपालले अहिलेसम्मकै उच्च स्कोर बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *