• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

खेलाडीलाई पक्रन सरकारी टोलि मैदानमै पसेपछि ब्राजिल र अर्जेन्टिनाको खेल रद्द

Byspainnepal

Sep 5, 2021

एजेन्सी – अर्जेन्टिना र ब्राजिलबीच फिफा विश्वकप २०२२ कतारको छनोट अन्तर्गत ब्राजिलमा सुरु भएको खेल केहि मिनेटमा नै रोकिएसँगै औपचारिक रुपमा रद्द भएको छ । खेलको सातौं मिनेटमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधि अर्जेन्टिनी खेलाडीले कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड तोडेको भन्दै मैदानभित्र नै प्रवेश गरेका थिए । स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनी खेलाडीलाई समाउन खोजेपछि रेफ्रीले खेल रोकेका थिए । केहीबेर दुवै टोलीका खेलाडीले सल्लाह गरेपनि एकछिनमा अर्जेन्टिनी टोली मैदान छोड्दै बाहिरिएको थियो । त्यसको केहिबेरमा रेफ्री टोली पनि मैदान छोड्दै टनेल भित्र पसे । यसबीचमा ब्राजिलका खेलाडी र अफिसियल भने एन्भिसा प्रतिनिधिसँग छलफलमा रहेका थिए । अर्जेन्टिनाको टोलीमा इंग्लिस प्रिमियर लिग खेल्ने ४ खेलाडी रहेको र ब्राजिल प्रवेश गर्न बेलायतबाट आउने जोकोहीले १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम छ । एन्भिसाले भने अर्जेन्टिनाका ती खेलाडीले नियम तोडेकाले डिपोर्ट (देश निकाला) गर्नुपर्ने दिउँसोदेखि नै बताएको थियो । तर ब्राजिल पुगेको तीन दिन बित्दापनि केहि खबर नपाएको भन्दै अर्जेन्टिनी टोलीले त्यसको विरोध जनाएको थियो । ब्राजिलियन संचारमाध्यमले भने यी ४ खेलाडीले आफ्नो विवरण लुकाएको भन्दै स्वास्थ्य प्रणालीलाई नै गुमराहमा राख्न खोजेको जनाएका छन् ।

नियमअनुसार यी ४ खेलाडीले या त देश छोड्नुपर्ने वा १४ दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधान छ । एस्टन भिल्लाका एमिलियानो मार्टिनेज र एमिलियानो बुएन्डिया तथा टोटेनहम हट्स्परका क्रिस्टियन रोमेरो र जिओभानी लो सेल्सो अर्जेन्टिनी टोलीमा रहेका छन् । मार्टिनेज, रोमेरो र लो सेल्सोले अर्जेन्टिनाको सुरुवाती रोजाइमा नै खेलिरहेका कारण पनि एन्भिसाले खेल रोक्न बल प्रयोग गरेको थियो । आफ्नो ट्वीटरमार्फत एन्भिसाले यी खेलाडीले नियम तोडेको र त्यसै अनुरुप कारवाही हुने जनाएको छ । अन्य प्रिमियर लिग क्लबले आफ्नो खेलाडीलाई यस्तै समस्याका कारण दक्षिण अमेरिकी छनोट खेल्न दिएका थिएनन् । ब्राजिल आफैंले पनि प्रिमियर लिगमा खेलेका ९ खेलाडीलाई प्रयोग गर्न पाएन । अर्जेन्टिनाले भने क्लबहरुसँग समन्वय गर्दै समयमा नै खेलाडी छाड्ने आश्वासन दिएको थियो । अर्जेन्टिनाले मैदान छाडेको एक घण्टासम्म पनि ब्राजिलका खेलाडीले भने खेल सुचारु हुने आशमा मैदान छाडेका थिएनन् । तर खेल सुचारु हुन नसक्ने भएपछि रेफ्रीले खेल रद्द भएको घोषणा गरेका छन् । अब रेफ्रीले आफ्नो अधिकारिक रिपोर्टमा लेखेको विवरणका आधारमा फिफाको अनुशासन समितिले यस खेलबारे निर्णय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *