• Tue. Apr 16th, 2024

SPAIN NEPAL COM

त्रिकोणात्मक टी–२० क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित

Byspainnepal

Apr 17, 2021

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ । शनिवार त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै नेपालले सुखद् सुरुआत गरेको हो । नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य नेपालले १५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपाललाई जित दिलाउन डेब्यूद्वय खेलाडी कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

खराब सुरुआत गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै टोलीको मात्र १२ रन हुँदा २ विकेट गुमाइसकेको थियो । टोलीको दोस्रो तथा आफ्नो स्पेलको पहिलो ओभर लिएर आएका सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका थिए । उनले दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई एलबीडब्लु आउट गरेका हुन् । म्याक्सले ११ बलमा दुई चौका सहित १० रनको योगदान दिए ।

अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *