• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण

Byspainnepal

Mar 25, 2021

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गरिएको छ । गत आइतबार कलेजका विशेषज्ञ चिकित्सक र नर्सको ठूलो टिमले कलेजो सफल प्रत्यारोपण गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं. १० घरभई हाल काठमाडौं बस्दै आउनुभएकी ५४ बर्षकी धनकुमारी लामाको शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको कलेजका प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले जानकारी दिनुभयो । धनकुमारीलाई उहाँकी ३४ बर्षिय छोरी उषा तामाङले प्रत्यारोपणका लागि कलेजो दिनुभएको हो । कलेजो प्रत्यारोपणमा विशेषज्ञ चिकित्सकहरु सर्जन डा.सञ्जय यादव, डा.एकानन्द सिंह, डा.प्रविन जोशी, डा.जयन्त कुमार शाह, डा.अभिषेक भट्टराई, एनेस्थेसियोलोजिष्ट डा.किरण अधिकारी, डा.सुरेश गौतम, डा.नविन यादव, हेपाटोलोजिष्ट डा.सागर पौडेल, डा.बरुण श्रेष्ठ, रडियोलोजिष्ट डा.विज्ञान पौडेल, नर्स अन्जु थापा, श्रृती यादव, सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा खटिनु भएको थियो । उहाँहरु संगै एपोलो अस्पताल नयाँ दिल्लीका डा.निरभ गोयल, डा.अरुणकुमार र डा.सञ्जिव अनिजा पनि प्रत्यारोपणमा सहभागी हुनुहन्थ्यो । विग्रिएको कलेजोलाई पुर्नजीवन दिन बिरामीलाई आफ्नो छोरीको शरिरमा असर नपर्नेगरी आवश्यक कलेजोको मात्र निकालेर प्रत्यारोपण गरिएको डा..सञ्जय यादवले बताउनुभयो । उहाँले १२ घण्टा लगाएर सफल कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो ।

कलेजो प्रत्यारोपण गर्ने आमा र दान गर्ने छोरी दुवैको स्वास्थ्य अबस्था सुधारोन्मुख रहेको अस्पतालले आज (बिहिवार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । करिब एक वर्ष अघिदेखि काठमाडौंमा कलेजो सम्बन्धी नियमित जाँच गर्दै आउनुभएकी धनकुमारी लामाको क्रोनिक लिभर डिजिजका कारण कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले काठमाडौंको बीर अस्पतालका डा.अजित खनालको सल्लाहा अनुसार चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपणका लागि आउनुभएको थियो ।

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपणका लागि ४ जना सर्जन, ३ जना क्रिटिकल केयर, ३ जना एनेस्थेसियोलोजिष्ट, १० जना विशेष तालिमप्राप्त नर्सहरु उपलब्ध रहेको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो । उहाँले चितवनमै कलेजो प्रत्यारोपण सफल भएपछि महंगो शुल्क तिरेर विदेश जानुपर्ने बाध्यता अन्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा सहज रुपमा कलेजो प्रत्यारोपणका लागि सहज कानुनी व्यवस्था र राज्यको अभिभावकीय भूमिका हुनुपर्ने बताउनुभयो । सामान्यतया कलेजो दूषित पानी र खानाबाट नै बिग्रन्छ । साथै हेपटाइटिस ‘बी’ र ‘सी’ जो रगतको माध्यमबाट पनि सर्दछ । एक तथ्याङक अनुसार नेपालमा झण्डै ६० प्रतिशत कलेजो रक्सी तथा हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारणले विग्रने गर्छ । मधुमेहका कारण कलेजोमा बोसो जमेर कलेजो बिग्रने गर्दछ ।

हाम्रो शरिरमा ५० देखि ६० प्रतिशत कलेजो बिग्रिसकेपछि मात्र यसको लक्षण देखिने गर्दछ । त्यतिबेला कलेजोलाई जोगाउन निकै मुस्किल हुन्छ । त्यसैले कम्तिमा पनि बर्षमा एक पटक कलेजोको अवस्था के छ भनेर जाँच गराउन चिकित्सकको सुझाब छ ।

केही बर्षदेखि चितवन मेडिकल कलेजमा कलेजो सम्बन्धी नियमित जाँच विशेषज्ञ चिकित्सकबाट हुँदै आएको छ । कलेजमा दैनिक २० देखि ३० जना कलेजो सम्बन्धी विरामी उपचारका लागि आउने गरेको डा.सागर पौडेलले जानकारी दिनुभयो । उहाँले उपचारमा आउनेमध्य २० प्रतिशत विरामी प्रत्यारोपण गर्ने खालका हुने गरेको बताउनुभयो ।

वयष्क मानिसले बृद्ध, वयष्क र बालकलाई सजिलै दिन सकिने कलेजो प्रत्यारोपण १८ देखि ५० वर्षम्मका उमेर भएका मानिसले सजिले दान गर्न सक्छन । कलेजोमा बढि मात्रामा बोसो जमेको बाहेक अन्यले पनि सजिलै दान दिन सक्छन । कलेजो आफै विकसित हुने अंग भएकाले यसको प्रत्यारोपण गरेको दुई महिना भित्र नै यो विरामीको शरिरमा आफैं विकसित हुन्छ । यसले गर्दा कलेजो प्रत्यारोपण गरिएको बिरामीले पुनः पहिले जस्तै जीवन जीउन सक्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *