• Wed. May 8th, 2024

SPAIN NEPAL COM

अञ्जन र नवयुगको गोलमा ताइपेइविरुद्ध नेपालको सहज जित

Byspainnepal

Jun 3, 2021

फिफा विश्वकप तथा एशिया कप छनोटमा नेपालले दोस्रो जित हात पारेको छ । समूह बीमा रहेको नेपालले छैटौं खेलमा दोस्रो जित निकालेको हो ।

बिहीवार कुवेतमा भएको खेलमा नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको जित दर्ता गरेको हो । यो जितसँगै समूह बीमा रहेको नेपाल ६ अंकसहित चौथो स्थानमा रहेको छ । विश्वकप छनोटको सम्भावना सकिए पनि बिहीवारको नतिजासँगै एशिया कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना भने बाँकी नै राखेको छ ।

नेपाली टिमको प्रशिक्षकमा कुबेती नागरिक अब्दुल्लाह अल्मुताइरी आए पछि युवा खेलाडी समेटेर टिम बनाएका थिए । इराकमा मैत्रीपूर्ण फुटबल खेले पछि नेपाली टिम उतैबाट कुवेत प्रस्थान गरेको हो । कुवेतको ४२ डिग्री सेल्सियसको गर्मीमा नेपाली युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए । चाइनिज ताइपेईविरुद्ध नेपाल शुरुमै हावी भएको थियो ।

कुवेत स्थित अल जमल फुटबल रंगशालामा भएको खेलको तेस्रो मिनेटमा नै नेपालले पेनाल्टी पाएको थियो । नेपालका सन्तोष तामाङले प्रहार गरेको फ्रि किक डि बक्समा चाइनिज ताइपेइका खेलाडीको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिए । जसलाई अञ्जन विष्टले सहजै गोल गर्न सफल भए । चाइनीज ताइपेईविरुद्ध अञ्जनको यो तेस्रो गोल हो ।

एक गोलले पछि परेको अवस्थामा ११ औं मिनेटमा ताइपेइले खेलमा फर्कने मौका खेर फाल्यो । उसका वु चुन चिङको हेडरलाई नेपाली कप्तान किरण चेम्जोङले बचाए ।

खेलको १६ औं मिनेटमा नेपालका सन्तोष तामाङको पासमा सुनील बलले प्रहार गर्न खोजेको बललाई ताइपेइका गोलकिपरले बचाए ।
त्यसपछि नेपालले दुई वटा मौका पाएको थियो । २२ औं मिनेटमा सुनील बलले लामो प्रयास गर्दा पोष्टको निकै माथिबाट बाहिरीयो । २४ औं मिनेटमा अञ्जन विष्टले दुई जना डिफेन्डरको विचबाट गरेको प्रहार ताइपेइका गोलकिपरले बचाए । त्यसपछि दुबै टिमबाट अरु प्रहार हुन सकेन र नेपालले पहिलो हाफमा एक शुन्यको अग्रता बनायो ।

दोस्रो हाफको ५२ औं मिनेटमा नेपालले अर्को मौकालाई सदुपयोग हुन सकेन । त्यसपछि ५४ औं मिनेटमा सन्तोष तामाङको प्रहारपनि पोष्टमा रहन सकेन । ७० औं मिनेटमा ताइपेइले कर्नरबाट मौकाको सिर्जना गरेको थियो । तर त्यसलाई नेपालले क्लियर गर्यो ।

८० औं मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका युवा खेलाडी मनीष डाँगीको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।
८१ औं मिनेटमा नेपालले दुई शुन्यको अग्रता बनायो । नेपालका लागि नवयुग श्रेष्ठले गोल गर्न सफल भएका थिए ।
८६ औं मिनेटमा नवयुग श्रेष्ठको हेडको प्रयास पोष्टको नजिकैबाट बाहिरिएको थियो। फ्रिकिकबाट आएको बलमा उनको हेडर पोष्टको नजिकैबाट बाहिर गएको थियो ।

८९ औं मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका विशाल राईको सशक्त प्रहारलाई ताइपेइका गोलकिपरले बचाए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा नेपालले अर्को मुभ बनाएको थियो । तर सुमन अर्यालको प्रहारलाई ताइपेइका गोलकिपरले बचाए । त्यसपछि दुबै टिमबाट थप गोलहुन सकेन र नेपाल दुई शुन्यले विजयी भयो ।

यो जितपछि नेपालले ६ खेलमा ६ अंक बनाएको छ । उसले प्रतियोगितामा खेलेका ६ खेलमा दुबै जित चाइनिज ताइपेइविरुद्ध नै निकाल्यो । यता ताइपेइ भने अहिलेसम्म एक पनि जित निकाल्न सकेको छैन । नेपालले अर्को खेल जोर्डनसँग २४ गते प्रतिस्पर्धा गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *