• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

युरो : क्वाटरफाइनलका दुई खेल आज, स्पेनलाई स्विट्जरल्यान्ड चुनौती

Byspainnepal

Jul 2, 2021

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत शुक्रबार क्वाटरफाइनल चरणका दुई खेल हुँदैछन् । पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन नेपाली समय अनुसार रातको ९:४५ बजे भिड्दा दोस्रो खेलमा उपाधिका दुई दावेदार बेल्जियम र इटालीबीच १२:४५ बजे प्रतिस्पर्धा हुनेछ । राउन्ड अफ १६ मा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अघि बढेको स्विट्जरल्यान्ड १९३८ पछि कुनैपनि ठूलो प्रतियोगिताको नकआउट चरणमा जित हासिल गर्न सफल भएक थियो । स्विस फुटबल इतिहासकै सर्वोत्कृष्ट नतिजापछि टोली अब नयाँ इतिहास कोर्न आतुर छ । पहिलो खेलमा इटालीसँग ३-० ले हारेयता टोलीले सुधारिएको प्रदर्शन गरेको छ । यता स्पेन क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै राउन्ड अफ १६ पार गर्न सफल भएको थियो । एक समय ३-१ को अग्रता लिएर पनि अतिरिक्त समयमा खेल धकेल्दा भने स्पेनको डिफेन्समा कमजोरी देखिएको थियो । सुरुवाती दुई खेलमा बराबरी खेलेको स्पेनले पछिल्लो दुई खेलमा ५-५ गोल गरेको छ । युरोमा लगातार २ खेलमा ५ गोल गर्ने टोलीको कीर्तिमान बनाएको स्पेन सोहि लयलाई कायम राख्न चाहन्छ । अर्को खेलमा बेल्जियम साविक विजेता पोर्चुगललाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । तर उक्त खेलमा टोलीका दुई मुख्य खेलाडीले चोट बोक्न पुगे । लगातार तीन जितको नतिजा निकालेको बेल्जियमसँग बेन्चमा स्तरीय खेलाडीको कमी छैन । प्रतियोगिताको सुरुवातमा यी दुवै उपलब्ध नहुँदा पनि बेल्जियम सहज जित दर्ता गर्न सफल रहेको थियो । इटाली पनि उच्च लयमा रहेको छ । पछिल्लो ३१ खेलमा अपाजित रहेको इटालीले अष्ट्रियालाई पराजित गर्न भने अतिरिक्त समयमा संघर्ष गर्नुपरेको थियो । रोबर्टो मान्सिनीको टोलीमा सबै पक्षको सन्तुलन मिलेको देखिन्छ । पहिलो रोजाइमा पर्न निकै प्रतिस्पर्धा रहेकाले भने उनलाई केहि टाउको दुखाइ पक्कै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *