• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

टाइब्रेकरमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

Byspainnepal

Jul 2, 2021

स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै स्पेन युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक उनाइ सिमोनले बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो ।

खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएर आक्रमण बुनेको स्पेनले आठौं मिनेटमा नै अग्रता लिएको थियो । काउन्टर अट्याकमा केहि अवसर पाएको स्विस टोलीका लागि मुख्य फरवार्ड ब्रिल एम्बोलो घाइते हुँदा थप असर परेको थियो । स्विस टोलीले काउन्टरमा केहि अवसर सिर्जना गरेपनि स्पेनिस गोलरक्षकलाई खासै समस्या दिन सकेन । दोस्रो हाफमा स्पेनले एकपछि अर्को आक्रमण बुनेपनि संयमित स्विस डिफेन्सले गोलरक्षकलाई खासै समस्या दिएन । स्पेनका सेन्टर डिफेन्डरबीच तालमेल नमिल्दा पेनाल्टी क्षेत्रभित्र स्विट्जरल्यान्डले बल पोसेसन पाएपछि कप्तान जेर्दान शकिरीले टोलीलाई अग्रता दिलाएका थिए । तर अन्तिम समयमा असिस्ट दिएका रेमो फ्रुएलर नै रातो कार्ड खाएपछि स्विट्जरल्यान्ड दबाबमा रहयो ।

अतिरिक्त समयमा गोलरक्षक सोमरले लगातार बचाउ गर्दै खेल बराबरीमा नै राखेका थिए । दोस्रो हाफमा पनि स्वीस डिफेन्सले लगातार स्पेनको आक्रमणलाई विफल पार्दै खेल टाइब्रेकरमा लग्न सफल भयो । टाइब्रेकरमा स्पेनले पहिलो प्रहार चुकाउँदै सोमरले अर्को बचाउ गरेपनि स्विट्जरल्यान्डका तीन खेलाडीले गोल गर्न नसक्दा स्पेन ३-१ ले विजयी भयो । टाइब्रेकरमा स्पेनका लागि कप्तान सर्जियो बुस्केट्सले पहिलो प्रहार नै पोस्टमा प्रहार गरेका थिए । गोलरक्षक सोमरले विपरित दिशामा डाइभ दिएपनि बुस्केट्सको प्रहार गोल हुन सकेन । स्विट्जरल्यान्डका मारियो गभ्रानोभिचले पहिलो पेनाल्टीमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए । स्पेनका ड्यानी ओल्मोले दोस्रो प्रहारमा गोल गरेपछी फाबियन सेरको प्रहारलाई गोलरक्षक उनाइ सिमोनले बचाए । सेरले दायाँतर्फ गरेको प्रहारलाई सिमोनले सहजै बचाए । स्पेनका लागि तेस्रो प्रहार गर्न आएका रोड्रीको पेनाल्टी विफल पार्दै सोमरले स्विट्जरल्यान्डलाई पुन: अघि बढ्ने अवसर दिए । तर म्यानुएल अकान्जीको प्रहारलाई सिमोनले अघिल्लो बचाऊझैं दायाँतर्फ नै डाइभ दिँदै खेल बराबरीमा राखे । जेरार्ड मोरेनोले स्पेनका लागि चौथो प्रहार टप कर्नरमा गोल गरेपछि स्पेन अघि बढ्यो । चौथो प्रहारमा स्विस टोलीका रुबेन भार्गासको प्रहार बाहिरीपछि स्पेनले खेल जित्ने अवसर पाएको थियो । मिकेल ओयाराज्बलले पाँचौ पेनाल्टीमा गोल गर्दै स्पेनलाई अन्तिम चारमा प्रवेश गराए । उनको प्रहारमा गोलरक्षक सोमर विपरित दिशामा डाइभ दिएपछि स्पेन खेल जित्न सफल रहयो । अब स्पेनले युरोको सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *