• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

भक्कानिदै बार्सिलोना छोडे मेस्सीले

Byspainnepal

Aug 8, 2021

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी क्याटलान क्लब बार्सिलोनाबाट बिदाइका क्रममा आयोजित सम्बोधन गर्ने समारोहमा भक्कानिएर रोएका छन् । आफ्नो अभिव्यक्ति राख्नुअघि नै सम्हाल्न नसकेर आँशु झारेका मेस्सी सम्बोधन सकिएपछि उपस्थित सबैले लामो समय ताली बजाएर सम्मान दिँदा भक्कानिएर रोएका थिए ।

मेस्सीले आफ्नो बार्सिलोना बस्ने चाहना हुँदाहुँदै पनि सम्भव नभएको बताए । क्लब र आफ्नो व्यक्तिगत रुपमा सबै प्रयास गरेपनि त्यो सम्भव नभएको मेस्सीले प्रष्ट पारे । ‘म, क्लबका अध्यक्ष र व्यवस्थापन सबै आ-आफ्नो स्थानमा प्रष्ट थियौं । हामी सबैले सहमति पनि जनाएका थियौं । तर लिगको नियमका कारण सम्भव हुन सकेन । हामी कसैले पनि यो अवस्था चाहेका थिएनौं,’ मेस्सीले भने ।

मेस्सीले गत सिजन र यस सिजनको अवस्था ठिक विपरित भएको पनि स्वीकारे । ‘ गत सिजन म आफैं क्लब छाड्न चाहन्थे, तर त्यो सम्भव भएन । यसपटक मैले क्लबमा रहने सक्दो प्रयास गरें, तर अवस्था यस्तो भयो की दुवै पक्षले चाहेर पनि त्यो सम्भव हुन सकेन,’ उनले भने । मेस्सीले आफ्नो र परिवारको सारा जीवन नै बार्सिलोनामा बितेको हुनाले केहि वर्षपछि यहाँ नै फर्कने प्रष्ट पारे ।

मेस्सीले यो आफ्नो करिअरकै सबैभन्दा कठिन समय रहेको स्वीकारे । ‘मैले करिअरमा निकै कठिन समयको सामना गर्नुपर्यो। धेरै खराब नतिजाको सामना गरें, तर यो जस्तो अवस्था थिएन । अब मैले पुन: प्रशिक्षणमा फर्कनुपर्छ तर अवस्था निकै फरक हुनेछ । यो समय मेरो लागि निकै कठिन छ,’ उनले भने ।

मेस्सीले आफूले नचाहेर पनि क्लब छाड्नुपरेको र यस्तो अवस्था आउने नसोचेको बताए । ‘यो निकै दुखलाग्दो समय हो । मैले यस क्लबमा रहेर निकै सफलता हासिल गरें । तर यो अवस्थामा छोड्नुपर्छ भन्ने सोचेको पनि थिइनँ । मैले क्लबमा नै रहेर करिअर सक्ने अपेक्षा गरेको थिएँ,’ उनले भने । मेस्सीले आफ्नो सम्झौता कहिले पनि समस्या नरहेको प्रष्ट पारे । मेस्सीले आफूबिना पनि क्लब अघि बढ्नेमा ढुक्क रहेको बताए । ‘अध्यक्षले भनेजस्तै खेलाडीभन्दा क्लब ठूलो हो । खेलाडी आउने जाने क्रम जारी नै रहन्छ । अहिले पनि क्लबमा राम्रा खेलाडी छन् । अन्य खेलाडी पनि भविष्यमा आउने नै छन् । मलाई विश्वास छ आउने दिनमा पनि क्लब सफल नै हुनेछ,’ उनले भने ।

मेस्सीले आफू समर्थकका बिचमा रहेर बिदाइ लिन नपाएकोमा खिन्न महसुस गरेको बताए । ‘अहिलेको अवस्था नै यस्तै रहयो । पछि फेरी कुनै अवसर आयो भने म बिदाइमा समर्थकमाझ आउन सक्छु होला, तर त्यो बेलामा फरक स्थिति हुनेछ । हामीले समर्थकसँग रहेर खेल्न पनि पाएनौं । यो निकै खराब समय रहयो,’ उनले भने ।

मेस्सीले आफू बार्सिलोनामा रहन नपाउने खबर सुनेपछि निकै दुख लागेको अनुभव साटे । ‘ जब मैले सम्झौता हुन नसक्नेबारे खबर पाएँ, निकै नरमाइलो लाग्यो । मेरो परिवारका लागि पनि त्यो सहज समय थिएन । तर मैले आफू फुटबल खेल्न पाउँछु भनेर चित्त बुझाएँ । अब भविष्यको बारेमा सोच्नुपर्छ भन्ने परिवारले पनि थाहा पाएका छन्,’ मेस्सीले थपे ।

मेस्सीले पिएसजीका खेलाडीसँग खिचेको सामूहिक तस्बिर एक संयोग मात्र रहेको बताए । ‘हामी सबै एकै स्थानमा छुट्टीमा थियौं । तस्बिर लिनु एक संयोग मात्र हो । उनीहरुले पिएसजी आउ भनेर ठट्टा गरेका थिए । तर अहिलेसम्म त्यस्तो केहि निर्णय भएको छैन,’ मेस्सीले प्रष्ट पारे ।

मेस्सीले क्लबलाई समस्यामा पार्ने मनसाय नरहेकोले नै अहिले नै कठिन निर्णय लिएको बताए । ‘हामीले ट्रान्सफर विन्डोको अन्त्यसम्म रहेर प्रतीक्षा गर्ने अवस्था छैन । क्लब निकै ऋणमा छ र म त्यसको बोझ बन्न चाहन्न । अध्यक्ष लापोर्टाले पनि योबारे प्रष्ट पारेका छन् । म आफैं पनि आफ्नो भविष्यबारे चिन्तित छु र निर्णय लिनुछ,’ उनले भने ।

मेस्सीले बार्सिलोनाबाट अर्को च्याम्पियन्स लिग जित्ने लक्ष्य पूरा हुन नसकेको पनि बताए । ‘हामीले च्याम्पियन्स लिग जित्ने लक्ष्य पूरा गर्न सकेनौं । मलाई लिभरपुलसँगको सेमिफाइनल र चेल्सीसँगको खेल याद आउँछ । हामीले विविध कारणले च्याम्पियन्स लिगसम्म पुग्न सकेनौं । अहिले सम्झंदा निकै दुख लाग्छ तर त्यो वास्तविकता थियो,’ उनले भने ।

मेस्सीले ड्यानी आल्भेसको उदाहरण दिँदै आफू कम्तिमा उनको करिअरको उपाधि कीर्तिमानसम्म पुग्न चाहने बताए । ‘ड्यानी आल्भेसले हिजो भर्खर ओलम्पिक स्वर्ण जिते । उनी हामीसँगै खेल्दा पनि सधैं जित्न चाहने खेलाडी हुन् । म पनि कम्तिमा उनीजति उपाधि जित्न चाहन्छु,’ मेस्सीले थपे । आल्भेसले करिअरमा ४३ उपाधि जित्दा मेस्सीले ३८ उपाधि हासिल गरेका छन् ।
हाम्रो खेलकुदबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *