• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

श्रमिकको उद्धारमा आर्थिक हिनामिना नभएको एनआरएनएको दाबी

Byspainnepal

Feb 18, 2021

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले श्रमिकको उद्धारमा आर्थिक हिनामिना गरिएको भन्ने आरोपमा सत्यता नभएको स्पष्ट पारेको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक उद्धारको लागि भएको सम्पूर्ण खर्च विवरण पारदर्शि रहेको जनाएका छन्।

कोरोना माहामारीका कारण यूएईमा अलपत्र श्रमिकको उद्धारका विषयलाई विभिन्न व्यक्तिले सामाजिक संजालमार्फत अतिरन्जित गरिएको भन्दै त्यसप्रति गम्भिर ध्यानाकर्षण भएको संघले जनाएको छ।

मध्यपूर्वमा रहेका नेपाली श्रमिकको उद्धारको लागि संघले सकृय रुपमा काम गर्दे आएको जनाएको छ । कोरोना महामारीको चुनौतीकाबीच संघका सबै संयन्त्रहरु परिचालित गरिएका छन् । त्यसको जानकारी संघका पदाधिकारीलाई वेलाबेलामा दिइएको विज्ञप्तिमा उल्लेख छ।

‘कोभिड १९ को महामारी पछि संघले उद्धार र सहयोगको काम जारी राखेको छ । विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्दै आएको छ । संघले विदेशमा रहेका नेपालीहरुको सहयोगार्थ संयुक्त राष्ट्र संघका निकायसम्म आफ्नो आवाजलाई बुलन्द गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

राहात तथा उद्धारको लागि भएका खर्चहरु पारदर्शि होस भनेर सचिवालमा छुट्टै संयन्त्र राखिएको संघले जनाएको छ । जसको सुपरिवेक्षण गर्नका लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णय अनुसार सचिव आरके शर्मा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र महिला संयोजक भोमा देवी लिम्बु रहेको ३ सदस्यीय समिति गठन गरिएको पनि बताइएको छ।

विज्ञप्तिमा बताइएअनुसार उक्त समितिले प्रत्येक राष्ट्रिय समन्वय परिषदमा एक उपसमिति मार्फत अनुगमनको तयारी गरेको छ । त्यस्तै यस कार्यक्रमको स्वतन्त्र लेखापरीक्षण गराउने कार्यका लागि प्रक्रिया समेत अगाडि बढाइएकाे छ।

विदेशमा अलपत्र नेपालीको राहत तथा उद्धार प्रकृया अझै जारी रहेकाले सम्पूर्ण आर्थिक विवरणहरुको अभिलेख राख्नेक्रम जारी रहेको बेलामा आएका विभिन्न खाले टिकाटिप्णीहरुप्रति संघ संवेदनशील रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राहत तथा उद्धारका क्रममा कुनै कमिकमजोरी भेटिएको र आर्थिक हिनामिनामा कुनै व्यक्ति संलग्न भएको देखिएमा कानून बमोजिम कारवाहीको प्रकृया अघि बढाइने छ । त्यसैले कुनै पनि भ्रममा नपरि संघले जारी राखेको उद्धार प्रकृयामा सहयोग गर्न आग्रह गर्दछौं ।’

हालसम्म मध्यपूर्वका विभिन्न देशबाट १६५ जनालाई हवाइ टिकट सेवा, २४५ जनालाई पीसीआर सेवा, ४५३ जनालाई विभिन्न प्रकारका कानूनी परामर्श सेवा, २७१३ जनालाई गन्तब्य मुलुकहरुमा खाना तथा बासको ब्यवस्था, २४९ जनालाई पुनःरोजगारीमा फर्काउनका लागि आवश्यक सहयोग एवं समन्वय, ३४७९ जनालाई दुतावाससंग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रियाभा समन्वयात्मक सहयोग पुयाईएको संघले जनाएको छ।

त्यस्तै नेपालमा आइसकेपछि समेत अति आवश्यक भएका नेपाली ९५७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घरसम्म जानका लागि यातायात खर्च समेत सहयोग प्रदान गरिएको संघको भनाइ छ । त्यसैगरि प्रदेश १, २ र ७ का विभिन्न १४ वटा स्वास्थ्य संस्थाहरुका कोरोना क्वारेन्टिन सेन्टरहरुका लागि विभिन्न प्रकारका मेडिकल सामग्रीहरु समेत प्रदान गरिएको संघले जनाएको छ।

दातृसंस्थाको सहकार्यमा मलेसियाका जेलमा रहेका १७ जना र अन्य एक जना गरि १८ जना नेपालीलाई नेपाल फर्काउन सफल भएको संघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *