• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

रुस–युक्रेन युद्धको असर स्पेन र नेपालमा कस्तो पर्ला ?

Byspainnepal

Feb 25, 2022
तस्विर बीबीसीबाट साभार

संसारकै सबैभन्दा ठूलो मुलुक रूसले आफ्नो छिमेकी युक्रेनमाथि बिहिबार बिहानैदेखि आक्रमण गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै पूर्वी युक्रेनमा सैन्य आक्रमणको घोषणा गरेपछि संसारको ध्यान युक्रेनमा अडिएको छ । दोस्रो विश्वयुद्धपछि युरोपमा कुनै एउटा मुलुकले अर्को मुलुकमाथि यति ठूलो सैनिक आक्रमण गरेको यो पहिलो पटक हो । आजका दिनका लागि रूसले निकै लामो तयारी गरेको थियो। केही सातादेखि नै झन्डै दुई लाख रूसी सैनिकले तीनतिरबाट युक्रेनलाई घेरेको भए पनि रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले अहिले आक्रमणको कुनै योजना नभएको जिकिर गर्दै आएको थियो। पुटिनको घोषणालगत्तै बिहीबार रूसी सैनिकहरू जल, स्थल र हवाई माध्यमबाट युक्रेनमा पसेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोडेर देशमा सैनिक कानुन लागु गरेको छ। रूसी आक्रमणविरूद्ध लड्न अहिले युक्रेनीहरूले हतियार लिइरहेका छन्।
रूसी आक्रमणको पहिलो दिन भएको क्षतिको विस्तृत र स्वतन्त्र विवरणहरू आइसकेका छैनन्। अहिलेसम्म युक्रेनी राष्ट्रपति कार्यालयले आफ्ना ४० जना सैनिक मारिएको जानकारी दिएको छ। राष्ट्रपतिका ती सल्लाहकारले मारिनेहरू सैनिक मात्र हुन् कि सर्वसाधारण पनि हुन् भन्ने खुलाएका छैनन्। रूसी आक्रमणबाट दर्जनौं मानिसहरू घाइते भएको उनले बताएका छन्। रूसले भने आफ्नो आक्रमण नागरिकलाई नभई युक्रेनी सेना र सैनिक संरचनामा केन्द्रीत रहेको बताएको छ। यसअघि युक्रेनी सेनाले ५० जना रूसी सैनिक मारिएको दाबी गरेको थियो।
छिमेकी रूसले सैन्य आक्रमण सुरू गरेपछि पूर्वी युरोपेली मुलुकका वासिन्दामा बिहीबार नयाँ अनिश्चितता छाएको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए। पुटिनको घोषणालगत्तै राजधानी किएभमा क्षेप्यास्त्र हानिएको छ भने अरू विभिन्न सहरहरूमा पनि आक्रमण भएको छ।
रूसी आक्रमणसँगै किएभवासीहरू सहर छोड्नका लागि लामवद्ध भएका छन्। पेट्रोल पम्पमा लामा लाइन लागेका छन्। मानिसहरू पैसा निकाल्न एटिएम कार्डमा पुगेका छन्। सडकमा किएभ सहर छोडेर पश्चिमतिर जानेहरूका कारण जाम भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
राजधानी किएभका वासिन्दा क्षेप्यास्त्रको डरले मेट्रो रेलको सवस्टेशनमा आश्रय लिन पुगेका छन्।

रुस–युक्रेन युद्धको असर स्पेनमा
रुसले युक्रेनमाथी आक्रमण शुरु गरेपछि स्पेन सहित विश्वभरी त्यसको असर देखिन थालेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफुहरु युक्रेनको पक्षमा रहेको भन्दै यो समस्या समाधानका लागि ईयु र नाटो सहयात्रीहरुसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् । ८ सय स्पानिस नाटो सैनिक रुस र युक्रेनको बोर्डरमा रहेका छन । प्रधानमन्त्री सान्चेजले तत्काल थप सैन्य सहायता पठाउने कुराको अस्विकार गरेका छन् । स्पेनको एक अनुसन्धानले ५६ प्रतिसत स्पानिस नागरिक रुस र युक्रेनबीच शुरु भएको युद्धले स्पेनको जनजीवन समेत प्रभावित हुने भयले चिन्तित देखिएका छन् । रुस र युक्रेनको युद्धले सवैभन्दा धेरै असर उर्जामा देखिने छ । यद्यपी जर्मनी, हंगेरी लगायतका अरु युरोपेली देशहरुमा भन्दा स्पेनमा प्राकृतिक ग्यासमा कम प्रभाव पर्ने छ । स्पेनमा आयात हुने प्राकृतिक ग्यासमा अरुदेशको तुलनामा स्पेन रुससंग कम आश्रित छ । २०२१ को विवरण अनुसार स्पेनमा खपत हुने प्राकृतिक ग्यासको १० प्रतिसत मात्रै रुसबाट आयात भएको छ भने ४४ प्रतिसत अल्जेरियाबाट आयात भएको छ । रुसमा कम निर्भर रहेकोले सिधै असर नदेखिएपनि संकट बढ्दै जाँदा अल्जेरिया सहित अन्य क्षेत्रबाट पनि आयात प्रभावित हुन सक्ने र विश्वब्यापी मुल्य बृद्धिको असर स्वभाविक रुपमा पर्ने आकलन गरिएको छ । आक्रमणको पहिलो प्रभाव अन्तर्राष्ट्रिय तेल बजारमा परेको छ। बिहीबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १०४ अमेरिकी डलर पुगेको छ। यो सन् २०१४ पछिकै सबभन्दा बढी हो। युद्धको प्रभाव बढेसँगै आगामी दिनमा कच्चा तेलको मूल्य कतिसम्म पुग्छ भन्ने अहिल्यै अनुमान लगाउन सकिँदैन। तर जसरी घटनाक्रम अगाडि बढिरहेका छन् र जसरी रूस–युक्रेन तनावले विश्वव्यापी ध्रुवीकरण बढिरहेको छ, त्यसले कच्चा तेलको मूल्य तीव्र गतिमा वृद्धि हुँदै जाने आकलन गरिएको छ
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यो छिट्टै प्रतिब्यारेल १२० देखि १५० डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन ।
यस्तै स्पेनमा खाद्य क्षेत्रमा पनि यसको असर देखिने छ । स्पेनमा खपत हुने मकैको आधा हिस्सा युक्रेनबाट आयात हुन्छ । स्पेनमा प्रयोग हुने गँहुको ठुलो हिस्सा पुर्वी युरोपबाट आयात हुन्छ भने स्पेनले ६० प्रतिसत सनफ्लावर तेल र ३१ प्रतिसत भेजिटेवल तेल बाहिरबाट आयात गर्छ । रुस र युक्रेनबीच बढेको तनावले यि सवैको आयात प्रभावित हुने र मुल्य बृद्धि तथा अभाव सिर्जना हुने अनुमान गरिएको छ । स्पेनको एक कृर्षि वेवसाइटले रुस युक्रेन तनावका कारण गँहुं, जौ, ओटमिल, दलहन जन्य खाद्य पर्दाथमा मुल्य बृद्धि भैसकेको जनाएको छ । २०१४ मा रुसले क्रिमियामा आक्रमण गर्दा खाद्यय पदार्थ सिरेलको मुल्य २० प्रतिसत सम्मले बढेको थियो।

रुस–युक्रेन युद्धको असर नेपालमा
नेपाल र युक्रेनबीचको सीधा व्यापारिक सम्बन्ध छ । गत आर्थिक वर्षमा युक्रेन नेपाललाई सबैभन्दा धेरै वस्तु विक्री गर्ने मुलुकमा छैठौं स्थानमा थियो भने चालु आर्थिक वर्षको पहिलो सात महिनामा युक्रेन आठौं स्थानमा छ ।

युक्रेनबाट विभिन्न औद्योगिक कच्चा पदार्थ आयात गरिरहेका उद्योगी –व्यवसायीहरु युक्रेन संकटको सामान्य असर नेपाली अर्थतन्त्रमा देखिइसकेको बताउँछन् । यसले नेपालमा युक्रेनबाट आयात हुने औद्योगिक कच्चा पदार्थको मूल्य बढ्ने उनीहरुको भनाइ छ । युक्रेन संकटको तत्काल सुन, पेट्रोलियम पदार्थ र खाने तेलमा पर्ने व्यवसायीहरुको भनाइ छ । जानकारहरुका अनुसार रुस–युक्रेन तानवले संसारभरको आपूर्ति व्यवस्थामा असर पर्ने भएकाले सुन र कच्चा तेलको मूल्य आकासिन थालिसकेको छ । सुन र कच्चा तेलको कारोबार अन्तर्राष्ट्रिय बजारको महत्वपूर्ण पक्ष हुन् । यी वस्तुको मूल्य बढ्दा आयातका लगि थप रकम खर्च गर्नुपर्ने र नेपाली मुद्राको अवमूल्यन हुन सक्ने अर्थतन्त्रका जानकारहरु बताउँछन् । नेपाल र युक्रेनबीच वाषिर्क झण्डै साढे १७ अर्ब रुपैयाँको व्यापार हुन्छ । चालु आर्थिक वर्षको पहिलो ७ महिना –साउदेखि माघ मशान्त) सम्म नेपालले १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु युक्रेनबाट आयात गरेको छ । १५ लाख रुपैयाँ बराबरको नेपाली उत्पादन निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

नेपालले युक्रेनबाट खाने तेल, केराउ, टेलिफोन र मोबाइलका उपकरण र तयारी कपडा आयात गर्दै आएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा ३५४ प्रकारका फरक–फरक वस्तु नेपालले युक्रेनबाट आयात गरेको थियो ।

विभिन्न सञ्चारमाध्यमहरुबाट संकलित विवरणहरुमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *