• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

बहिस्कारका बीच एनआरएनए स्पेनको दशैं, तिहार कार्यक्रम सम्पन्न

Byspainnepal

Oct 27, 2021

स्पेन स्थित २ वटा राजनीतिक संगठनको बहिस्कारको बाबजुद गैर आवासीय नेपाली संघ, स्पेनको दशैं, तिहार शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्पेनको कोस्टाब्लान्कामा अघिल्लो हप्ता भएको कार्यक्रमका क्रममा भएको कुटपिटको घटनालाई लिएर आफ्नो संगठन निकटका ३ जनालाई एनआरएनए क्षेत्रीय समितीले सामाजिक बहिस्कार गरेको भन्दै निकालेको बक्तब्य फिर्ता गर्न माग गर्दै नेपाली जनप्रगतीशिल मञ्च स्पेनले एनआरएनए एनसीसी स्पेनको उक्त कार्यक्रम बहिस्कार गरेको थियो । नेपाली जनप्रगतीशिल मञ्चको मागलाई समर्थन गर्दै प्रवासी नेपाली मञ्च स्पेनले समेत उक्त कार्यक्रम बहिस्कार गरेको थियो । दुबै संगठनका अध्यक्षले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त बहिस्कार फिर्ता नहुँदा सम्म एनआरएनए स्पेन र उसका मातहतका इकाईले गरेका कुनै पनि कार्यक्रममा सहभागी हुने जनाएका थिए ।
कोस्टाब्लान्का समस्या समाधान गर्न कार्यक्रमको अघिल्लो दिन सर्वपक्षीय बैठक राखेको एनआरएनए स्पेनले भने समस्या समाधानका लागि पहल भैरहेको बेलामा कार्यक्रम बहिस्कार गरिएकोमा दुख ब्यक्त गरेको छ । सोमवार भएको कार्यक्रममा एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले आफुहरुले समस्या समाधानका लागि पहल गरीरहेको अबस्थामा २ वटा राजनीतिक संस्थाले आफुहरुको कार्यक्रम बहिस्कार गरेकोमा दुख ब्यक्त गरे । कार्यक्रमको प्रमुख अतिथी रहेका संघका यूरोप संयोजक नारायण आचार्यले आफु भएको कार्यक्रममा स्पेनमा रहेका यूरोप उपसंयोजक मुक्त गुरुङ र आईसीसी सदस्य सुनील रानाभाट सहभागी नभएकोमा दुःख ब्यक्त गरे । उनले एनआरएनले समाजको एकताका लागी काम गर्नुपर्ने भन्दै स्पेनमा देखिएको समस्या समाधान गरी सामाजिक एकता कायम गर्न सवैसँग आग्रह गरे । कार्यक्रममा विशेष अतिथी रहेका आईसीसी सदस्य चिन्तामणी सापकोटाले स्पेनमा एकले अर्कालाई बहिस्कार गर्ने परम्परा जस्तो बन्न थालेको भन्दै आफुलाई पर्दा एकजुट हुनुपर्छ भन्ने र अरुलाई परेको बेला यही हो बेला भनेर बहिस्कार गर्ने परम्पराबाट माथि उठ्नु आबश्यक रहेको बताए ।

कोरोना महामारीका कारण लामो समयपछि भएको एनआरएनए स्पेनको उक्त कार्यक्रम अन्तिममा आएर एक पक्षले बहिस्कार गरेपछि अपेक्षाकृत मानिसहरुको उपस्थिती नहुँदा खल्लो बन्न पुगेको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा संघका उपाध्यक्ष सनु राउतले बहिस्कारले समस्या समाधान नहुने भन्दै आफुहरुलाई सहयोग गर्न आग्रह गरेका थिए भने अर्का उपाध्यक्ष कृष्ण राम रानाभाटले स्पेनको नेपाली समुदायमा देखिएको समस्या छिटो समाधान भै सामाजिक एकता फर्कने बिश्वास ब्यक्त गरे ।

नेपालमा पछिल्लो समयमा बाढीपहिरोबाट पिडित भएकाहरुलाई सहयोग गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा प्रस्तावित आईसीसी सदस्य प्रकास तिमिल्सेना र स्पेन स्थित संघसंस्थाको तर्फबाट तमु समाज स्पेनका अध्यक्ष गौतम गुरुङले शुभकामना दिएका थिए । कार्यक्रममा नेपाली पाठशाला बार्सिलोनाको संयोजनमा बालबालिकाहरुले नेपाली राष्ट्रिय गान प्रस्तुत गरेका थिए ।

एनके भट्टराईको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम

आफ्नो छोटो स्पेनका बसाईमै एनआरएनए स्पेनको सचिव बनेका कलाकारिता पृष्ठभुमीका एनके भट्टराईले दशैं, तिहार साँस्कृतिक कार्यक्रमको ब्यवस्थित संयोजन गरेका छन् । एक पक्षको बहिस्कारका कारण न्युन उपस्थितीले खल्लो बनेको कार्यक्रमको दोस्रो चरण साँस्कृतिक कार्यक्रम भने केही रसिलो बनेको थियो । सचिव भट्टराई र संघकी महिला संयोजक देबीकुमारी भण्डारीको जोसिलो कार्यक्रम सञ्चालन र अतिथिको रुपमा आएका दोहोरी कलाकार जेवी ओली र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान युरोपकी निवर्तमान अध्यक्ष सुमी घिमिरे सापकोटाको प्रस्तुतीले उपस्थितहरुलाई नचाएको थियो । कार्यक्रममा संघका सदस्य दीपक परियारले एनआरएन गतिबिधी र नेपाल सम्बन्धी एक भिडियो सामग्री प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *