• Tue. Apr 16th, 2024

SPAIN NEPAL COM

नेपाली ‘शान्ति सैनिक’ बारेका पाँच तथ्य

Byspainnepal

Mar 11, 2021

काठमाडाैं । शिवको आराधना गरी मनाइने महाशिवरात्री पर्वकाे दिन नेपालकाे सेना दिवस पनि हाे ।

नेपाली सेनाले नेपालमा मात्रै नभएर विभिन्न संकटग्रस्त देशमा गएर शान्ति स्थापनार्थ विशेष भूमिका निर्वाह गर्दै आएकाे छ ।

संयुक्त राष्ट्रसंघको अगुवाइमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाले दक्षिण एसियादेखि क्यारिबियन, अफ्रिकीलगायत देशमा शान्ति स्थापनार्थ विशेष भूमिका खेलेको छ ।

राष्ट्रसंघले ‘यूएन पिसकिपिङ’ अभियान सुरु गरेको करिब ७३ वर्ष पुगिसेको छ । पछि सन् १९५८ मा मात्र नेपाल त्यसअन्तर्गत जोडिएको हो । संयुक्त राष्ट्रसंघअन्तर्गतका शान्ति सैनिकलाई  ‘ब्लु हेल्मेट’ अर्थात् नीलो टोपी भनेर समेत चिनिने गरिन्छ ।

नेपालबाट शान्ति स्थापनार्थ खटिएका शान्ति सैनिकबारेका केही तथ्यहरू:

१. संयुक्त राष्ट्रसंघको सदस्यता लिएको ३ वर्षपछिमात्र प्रवेश

सन् १९४९ मा संयुक्त राष्ट्रसंघमा आबद्ध हुने अभिव्यक्ति दिए पनि औपचारिक रुपमा सन् १९५५ मा नेपाल राष्ट्रसंघको सदस्य भएको थियो । संयुक्त राष्ट्रसंघमा नेपालको पनि सहभागिता होस् भन्ने  इच्छा व्यक्त गर्दै सन् १९४९ मा नेपालबाट विदेश विभागका महानिर्देशक, मेजर जनरल विजय शमशेरद्वारा प्रेषित २७ पृष्ठ लामो औपचारिक पत्र पठाइएको थियो ।

दूर्भाग्यवश, सोभियत संघले ७ डिसेम्बर १९४९ मा आफ्नो भिटो शक्तिद्वारा सुरक्षा परिषद्को बैठकमा नेपालमाथि प्रतिबन्ध लगायो ।

औपचारिक आवेदन दिएको ७ वर्षपछि नेपाल संयुक्त राष्ट्र संघको सदस्य भएको थियो । सदस्य बनिसकेपछि सन् १९५८ मा नेपाल संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक हिस्सा बन्न पुग्यो ।

२. एक पर्यवेक्षक र सैनिकका रुपमा प्रवेश

संयुक्त राष्ट्रसंघको पर्यवेक्षक समूहको तर्फबाट नेपालले सन् १९५८ मा पश्चिम एसियाली राष्ट्र लेबनानमा संयुक्त राष्ट्रको पर्यवेक्षकको रुपमा संयुक्त राष्ट्र शान्ति मिसनमा आफ्नो सहभागिता जनाएको थियो । शान्ति सुरक्षा मिसनमा त्यसबेला नेपाली सेनाका पाँच जना सैन्य पर्यवेक्षक थिए ।

ती पाँच सैन्य पर्यवेक्षकमा लेफ्टिनेन्ट कर्नेलमा सेवा निवृत्त भएका क्याप्टेन बोधेन्द्रबहादुर रायमाझी, सेनापतिको रुपमा सेवानिवृत्त भएका क्याप्टेन अर्जुननरसिंह राणा, लेफ्टिनेन्ट कर्नेलको रुपमा सेवानिवृत्त भएका क्याप्टेन कनकसमशेर जंगबहादुर राणा, ब्रिगेडियर जनरलका रुपमा सेवानिवृत्त भएका क्याप्टेन टिकासमशेर जंगबहादुर राणा र मेजर जनरलको रुपमा सेवानिवृत्त भएका क्यापटेन गंगाबहादुर विष्ट थिए ।

पर्यवेक्षकको रुपमा प्रवेश गरेको १६ वर्षपछि सन् १९७४ मा शान्ति स्थापनाको मिसनमा नेपाली सेनाले आफ्नो पुरानो गोरख बटालियनलाई इजिप्ट पठाएको थियो । विश्वस्तरीय रुपमा शान्ति स्थापनार्थ नेपाली सेना खटिएकाे यो नै पहिलो पटक थियाे ।

३. संयुक्त राष्ट्रसंघमा चौथौं ठूलो सैन्य शक्ति

सन् २०२० डिसेम्बर ३१ मा प्रकाशित संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार नेपाली सेना राष्ट्रसंघमा विश्वव्यापी रुपमा शान्ति स्थापनार्थ सहभागी भएका सेनामध्येमा चौथो ठूलो फौज हो ।

नेपालभन्दा अगाडि बंगलादेश, रुवान्डा र इथियोपिया रहेका छन् । नेपाली सेनाका अनुसार सन् २०२१ को जनवरी २९ सम्ममा ५ हजार १२८ शान्ति सैनिक शान्ति मिसनमा खटिएका छन्, जसमध्ये १८७ महिला बाँकी पुरुष सैनिक छन् ।

अहिले शान्ति सैनिकको रुपमा नेपाली सेना यमन, लिबिया, इराक, सेन्ट्रल अफ्रिकन रिपब्लिक, सिरिया, माली, लेबनान, इजराइल, पश्चिमि साहारा, दक्षिण सुडान र कोङ्गोमा खटिएको छ । यदि आवश्यक परेमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालबाट १० हजार शान्ति सैनिक पुर्‍याउने लक्ष्य रहेको नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापा बताउँछन् ।

४. शान्ति सेनाको रुपमा पूर्वमाओवादी लडाकू

नेपाललले एक दशकसम्म माओवादीले नेतृत्व गरेको सशस्त्र विद्राेहलाई झेल्नुपर्‍यो । शान्ति सम्झौतापछि रगतले कोरिएको उक्त विद्राेह अन्त्य भएको थियो । त्यसपछि माओवादीका ‘योग्य’ पूर्वलडाकु नेपाली सेनामा भर्ती गराइए ।

नेपाली सेनाका अनुसार भर्ती भएका ७४५ पूर्वमाओवादी लडाकू राष्ट्रसंघको शान्ति सेनाको रुपमा बाह्य देशमा खटिएका छन् । संयुक्त राष्ट्रसंघका तर्फबाट विभिन्न व्यक्तिले नेपाली सेनाको भूमिकाको सर्वत्र प्रशंसा गरेको सेनाले बताएको छ ।

५. मृत्य र अपाङ्गता
संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको प्रवेश त्यति सहज भने छैन । नेपाली सेनाका अनुसार अहिलेसम्म राष्ट्रसंघको शान्ति स्थापनाको मिसनमा ड्युटीमा खटिएका ६६ जना नेपाली सेनाले आफ्नो ज्यान गुमाएका छन् भने ६८ जना शान्ति सैनिक घाइते भएका छन् ।

विदेशी भूमि लेबनानमा शान्तिका लागि आफ्नो बलिदानी दिने पछिल्लो नेपाली सेना हुन्‚ गंगाबहादुर दर्लामी । उनले गत पुष ५ गते ड्युटीका क्रममा मृत्युवरण गरेका थिए ।
(राससकाे अंग्रेजी संस्करणमा पत्रकार बिराट अनुपमले तयार पारेकाे रिपाेर्टकाे अनुवाद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *