• Sat. Jul 13th, 2024

SPAIN NEPAL COM

कथा – जेनेरेसन ग्याप [ओमर गुरुङ]

Byspainnepal

Mar 6, 2021
ओमर गुरुङ बार्सिलोना ,

 टह टह जुनको उज्यालो,सुनसान रातमा हामी एक हुल युवाहरु गाउँको प्रधानको घरतर्फ जाँदैछौ ।मौसम न जाडो,न गर्मी ,न हावा -हुरी र न त धुलो -हिलो नै छ ।सयपत्री र सुर्यमुखी फूलहरु बारीको डिलहरुमा लटरम्म  फुलिरहेका छन् ।लालुपाते र मखमलि फूलहरु बगैचा र बारीका कान्लाहरुमा फक्रि रहेका  छन् ।यो रमणीय  बेला बायुमण्डलमा रातकी रानी फुलबाट आइरहेको मधहोस्  र सुगन्धित पवन फैली रहेको छ ।हामी आज  बडा दशैँको महा -अस्टमीको दिन कालरात्री मनाउन  गईरहेका छौ ।गाऊ घरमा यो रात नसुतिकन कालरात्री मनाउने परम्परा चल्दै आइरहेको छ ।हामीहरु गाउँको  प्रधानको घरमा गएर रोधी  बस्न शुरु गर्छौ।​कसैले ​मादल ,कसैले बासुरी त धेरैले ताली बजाउदै  हाम्रो रोधी शुरु हुन्छ ।यो रात स्थानीय भाकाको  लोक दोहोरीले प्राथमिकता पाउछ ।गीत ,संगीत र गीतसंगैको टुक्काहरुले युवा हिर्दयहरुमा रस र नसाको काम गर्छ ।सारा दुख,बेदना र अभाबहरु भुलेर स्वर्गीय अनान्दमा लिप्त हुन्छन । अहिलेको आधुनिक संसारको  लोकप्रिय डिस्कोथेकहरु भन्दा यो  प्राकृतिक डिस्को बढी रमाइलो र आनन्दमय छ । जताततै दशैको चहलपहल छ । प्रकृतिले पनि दशैँ मनाईरहे झैँ लाग्थ्यो ।घर माथिबाट झर्ने खहरे खोलाको गडगाडाहट अब बिस्तारै कम भईसकेको थियो ।गाउँको बीचको चौतारोमा हालेको लठ्ठे पिङ्ग र जाँते पिङ्गबाट आइरहेको च -च  हुई ,च -च हुई आवाजहरुले हामी युवाहरुमा उत्साह ,उमंग र  आनन्दीको सन्देश दिईरहेको थियो ।अनि गाउँ तलको बेसीमा पहेंलपुर भएर बयेली खेलिरहेका धानबालीले गाउँका कृषकहरुको मनमा हर्ष  र खुशी बांडी रहेको थियो । 

दशैको टिकाको दिन घरमा बुवाको हातबाट टीका ग्रहण गरेपछि म काइँला बुबा कहाँ गए ।काइँला बुबाकोमा अरु पनि धेरै नै मानिसहरु क्रमिक रुपमा टीका ग्रहण गरिरहेका थिए ।केही समय पछि मेरो पालो आयो । 

“जय काली !भद्रकाली!!… मन्त्र  भट्टाउदै दही -चामलको सेतो  अक्षेता काइला बुबाले मेरो निधारमा लगाई दिनुहुन्छ ।दुर्गा भवानीको अशिर्बादले ठागु (मेरो घरमा बोलाउने  दोश्रो नाम )भविष्यमा डाक्टर !इन्जीनियर !!भएर ।आमा -बाबालाई सधै  खुशी  राख्नु  ।” काइला बुबाको आशिर्बाद नसकिदै  

“मलाई त मन परेन हजुरको  आशिर्बाद ।अरु नै दिनु होस् !”मैले भने । 

“ए तिमी त कुरा गर्न सिपालु छौ ।ल !यो देशको ठुलो नेता भएस !प्रधानमन्त्री भएस !!”काइँला बुबाले भन्नु भयो । 

“यो पनि भएन !”मैले पुन भने । 

“अनि कस्तो आशिर्बाद चाहियो त ?तिमी आफैले भन् !”काइँला बुबाले पुन भन्नु भयो । 

“उही क्या सुबेदार  ,सुबेदार मेजर र  लेफ्टिन ;क्यप्टिन  भएस भनेर दिनुस न !भै हाल्यो नि !”मैले फेरी भने । 

“ए !ल !ल !!त्यो त म दिदै छु नि छोरा ।ल भविष्यमा गोर्खामेजर भएर ठागु  !हाम्रो कुलको इज्जेत राखेर  “काइँला बुबाले भन्नु भयो । 

मैले  खुशी हुदै वहालाई ढोग गरे । 

 म नौ  बर्षे केटाको  लाहुरे बन्ने सपना देखेर त्याँह उपस्थित सबैमा हाँसोको लहर चल्छ ।जीवनमा लाहुरे हुनु नै सबैभन्दा भरपर्दो स्थायी नोकरी हो भन्ने ज्ञान मलाई त्यसबेला भएको हुनुपर्छ ।त्यहिँ उमेरदेखि नै मेरो जीवनको प्रमुख उदेश्य लाहुरे बन्नुमा केन्द्रित हुन् थाल्यो ।लाहुरे बनेर आमा  -बुबा ,आफ्नो कुल र आफ्नो सपना साकार पार्ने संकल्प गर्न थाले । 

                                                            १ 

ब्रिटिश गोर्खा क्याम्प दीप पोखराको गेट बाहिर हजारौ युवाहरु  भर्ति हुन जम्मा भएका छन् ।लामो प्रतीक्षा पछि मात्र गेटको ढोका खुल्यो र हामी भित्र पस्यौ ।एक -एक गर्दै हाम्रो नागरिक प्रमाण पत्र र एस एल सी पासको सर्टिफिकेट चेक गरेर अझ भित्र लगेर गयो ।मेरो  बचपन देखिको सपना ,मेरो बुबा-आमाको चाहाना र मेरो जीवनको प्रमुख लक्ष्य पुरा गर्न आतुर भएर लाइनमा उभिरहेको थिए  ।तर अप्रत्याशित घटनाले म क्याम्पबाट बाहिरिएँ ।मेरा बचपन देखिको सारा सपनाहरु सिसा फुटे झैँ चक्नाचुर भयो ।मेरा बाबा-आमाको चाहनामा ठुलो बज्रपात भयो ।यस घटनाले मेरो जीवनमा नै हलचल ल्याई दिएको थियो । जीवनमा अब म कहिल्यै सैनिक सेवामा जागिर खान अयोग्य ठहरिए ।म मा आँखामा हुने बंशनुगत रोग कलर ब्लाइण्ड ( colour blind)रहेछ ।यस्ता ब्यक्तिहरुले रंगीबिरंगी रंगहरुलाई छुट्टाउन नसक्दा रहेछन र यस्ता ब्यक्तिहरु सैनिक सेवामा अयोग्य ठानिदो रहेछन ।मेरो बचपन देखिको सपना सिशा फुटे झैँ टुक्रा -टुक्रा भएर छरपस्ट भएको थियो ।आफु बस्ने होटलको कोठामा आएर म रुन थाले ।संगैका साथी हरुले सम्झाउने कोशिश गर्न थाले ।तर म झन् चर्को स्वरमा घ्वा -घ्वा  डाँको छोडेर रून थाले ।किन -किन मेरो आँखाहरुबाट बलिन्द्र आँसुका धाराहरु बगि नै रह्यो । मेरो युवा र कलिलो हृदयमा ठुलो चोट परेको थियो ।त्यतिबेला मेरो बुझाईमा जीवान नै बरबाद भएको झैँ  लागेको थियो  ।अचानक त्यति बेलामा कताबाट हो कुन्नि स्कुलमा म्याथ (Math)पढाउने भीमलाल सर कोठा भित्रछिर्नु भयो  । 

“ठागु (मेरो उपनाम )के भयो ?किन रोएको ?”वहाले प्रश्न गर्नु भयो । 

म नबोली रोई नै रहे । 

सगैंका साथीहरुले भीमलाल सरलाई मेरो सम्पर्ण कहानी सुनायो । 

“धत् नरोउ !तिमी जस्तो प्रतिभाशाली युवा यो समाज र देशलाई खाँचो छ ।छोड देऊ  अर्काको देशमा गएर गुलामी गर्ने पेशा ।तिमी त साइन्स बिषय  लिएर क्याम्पस पढनु पर्छ ।मेहनत गरेर  पढ्यो भने यहाँ तिम्रो र यो समाजको भबिष्य उज्वल हुन्छ ।”यस्तै -यस्तै मातृभूमी ,यो समाज र देशप्रति हामीजस्ता युवाहरुको कर्तव्य प्रति  वहाले धेरै कुराहरु  भनेर सम्झानु भयो ।भीमलालसरकै मार्ग निर्देशनमा म क्याम्पस पढ्न गाउँबाट  पोखरा  झरे  र  पोखराको पृथ्बी नारायण क्याम्पसमा आई एस सी मा भर्ना भएर पढन् थाले । आई एस सी सकिए पछि मेरा धेरैजना साथीहरु  ब्रिटिश लाहुरे ,नेपाली सेनाको सह -सेनानी र प्रहरी सहायक निरीक्षक पदमा प्रतिष्पर्धा गर्न गए ।धेरैजना सफल पनि भए ।तर म बी एड  पढ्न भर्ना भए । बी एड  सिधिए पछि पनि धेरै मन मिल्ने साथीहरु प्रहरी निरीक्षक र शाखा अधिकृतको लागि  प्रतिष्पर्धामा उत्रिए ।कति जनाले अधिकृत भएर जागिर पनि शुरु गरे ।तर म आफनै स्वस्थको कमजोरीले जान सकिन ।”किन खुम्चिस मरिच आफ्नै रागले “भन्ने नेपाली उखान झैँ ।समयको डोरईमा म एकदिन प्रिथि नारायण क्याम्पसमा बिहानी कक्षामा एम. ए. मा भर्ना भए र दिउसो  पोखराको अमरसिंह हाई स्कुल रामघाट पोखराको म्याथ -साइन्स पढाउने चके मास्टरमा नियुक्ति भएँ । 

आज बिहानको अन्थ्रोफोलोजी (Anthroropogy) पढाउने सरको अनुस्पथितिले क्लास भएन ।म क्याम्पस हाताभित्र रहेको पश्चिमअञ्चल क्षेत्रीय लाईब्रेरिमा पसे ।एलन म्याकफ़र्लेन (Allan Macfarlane)  र इन्द्र बहादुर गुरुङ्गले संयुक्त रुपमा लेखेको “अ गाइड टु गुरुङ्ग “किताब सरसर्ती हेरेर एकाध घण्टा पछि बाहिर निस्किए ।क्याम्पस गेटनिर आइपुग्दा अचानक एक महिलाले कारको झ्याल खोल्दै टाउको निकालेर बोलायो  

“ओ ठागु दाई सबन मु?”उनी कारको अघिल्लो भागको   ड्राइभर सीट  सँगको बायाँ सीटमा बसिरहेकी थिइन् । 

म एक छिन टोलाएर  हेरिरहे । 

“मलाई चिन्नु भएन ?”उनी मलाई हेरेर प्रतिउतर मागीरहेकी थिइन् । 

म अझ अलमलमा परि रहे।निक्कै लामो प्रयास पछि पो बल्ल चिने उनी त मेरो बाल्य -सखी सम्झना रहेछिन् । 

“सम्झना ! तिमी !! कता बाट ?”म अस्चार्य हुँदै भने । 

म यहि क्याम्पस गेट  सम्म हो भन्दै ड्राईभर सिटमा बसिरहेको पुरुषलाई देखाउदै भनिन् “वहाँ मेरो श्रीमान “। 

मैले नमस्ते गर्न पाउदा  नपाउदै उसले आफ्नो हातहरु मतिर बढायो । 

यहि बेला सम्झना बसेको कारको पछिल्लो ढोका खोलेर एकजना हिउँ जस्तै सेती युवती भित्र पसिन् ।सम्झनाले  आफ्नो श्रीमान र ती सेती युवतीलाई  मेरो परिचय दिइन् । 

“वहाँ मेरो बच्चा देखिको साथी ठागु !” 

कारमा बसेकी सेती युवतीले नमस्कार गरिन् र मैले फर्काए । 

“वहाँ मेरो नन्द -हेमा ,यहि क्याम्पसमा बि:एड. पढ्छिन ।”सम्झनाले उनको परिचय दियो । 

लामो समय पछिको भेट -घाट भएकोले केही समय सम्झना र म गफमा गफिन थाल्यै । 

सम्झनाले मलाई पनि आफुहरु संगै आफ्नो घरमा जान आग्रह गरिन् ।उनको श्रीमानले सम्झनालाई साथ दिदै जाउँ भनेर जोड गर्न थाले ।मैले स्कुलको क्लास लिन ढिलो हुने बहाना बनाएर   बिदा मागे ।पछि समय मिलेर आउला भनि टारे । सम्झना मार्फत चिनजान भएको हेमा म सँग क्याम्पसमा पटक -पटक भेट घाट हुन थाल्यो ।भेटघाट हुदै जाने क्रममा  एकदिन हेमा र मेरो सम्बध प्रेम पछिको मागी  बिबाह बन्धनमा टुंगियो ।पोखराको रामघाटको बौद्ध 

अर्घौ सदनमा गएर भगवान बुद्धलाई साँची राखी बौद्ध परम्परा अनुसार हाम्रो बिबाह भयो ।मेरो सम्पूर्ण परिवार गाउँमा नै थियो ।बिबाह पछि मैले हेमालाई भाडाको कोठामा ल्याएर राखे ।हेमाले पनि  बि:एड.पास गरेर बोर्डिंग स्कुलमा शिक्षिका भएर पढाउन शुरु गरिन् । 

                                                                         २           हेमा र मेरो बीचमा धेरै कुराहरुमा बिचार र ब्यबहारमा समानताहरु कायम रहयो ।उनी सानो कुरामा पछि बिशेष ध्यान दिएर हाम्रो सम्बन्धलाई प्रगाढ बनाउने कोशिश गर्थिन् ।म उनको यो ब्यबहारले अति प्रसन्न थिएँ ।हाम्रो बीचमा असमानता भन्नु नै आर्थिक हैसियतको थियो ।हेमा सम्पन्न परिवारमा हुर्केकी सहरिया महिला थिइन् ।म गाउको मध्यम बर्गको किसानको छोरो ।हेमाका बुबा -आमा ,नातेदार र इष्टमित्रहरु प्राय सबै सम्पन्न परिवारका  थिए ।उनीहरु लाखौ -करोडौ  पर्ने कारमा हिडडुल गर्थे ।महंगा -महंगा कार,गाडी ,सुनका गर-गहाना देखि बजारका बहुमुल्य जग्गा जमिनहरु खरिद गर्ने योजनाहरु  सुनाउथे ।उनीहरुको यो कुराहरुले मलाई मनमा कता -कता च्वास च्वास बिझाई रहन थाल्यो ।त्यसैले मैले एकदिन हेमासँग  बिदेश जाने प्रस्ताब राखे ।यो होड बाजीको संसारमा किन आफु पछि पर्ने ?मैले आफुलाई मनमनै सोधी रहेको थिएँ “जीवन कसरी उत्कृस्ट  बनाउन सकिन्छ ?”बिज्ञानको विधार्थी भएकोले नाताले अस्तित्वमा रहन आफ्नो वरीपरीको बाताबरण सँग संघर्ष गर्नु पर्छ भन्ने जीब बिकासको सिद्धन्तलाई स्वीकार्दै म पनि बिदेशमा गएर संघर्ष गर्ने प्रण गरे ।मेरो प्रस्ताबलाई हेमाले पनि सहर्ष स्विकारिन् र  एकदिन म  जर्मनीमा पाइला टेक्न आइपुगे ।   “आफु नमरेसम्म स्वर्ग देख्न पाइदैन “भन्ने  नेपाली उखान बिदेश लागेपछि मात्र थाह पाएँ । आफु जन्मेको देश स्वर्ग भन्दा प्यारो हुन्छ अर्थात  (जननी जन्म भूमिश्च स्वर्गदपि गरीयसी )भन्ने  कुरा साँचो अर्थमा अनुभब गर्न पाएँ ।     यहाँ  आए पछि   कामको खोजी शुरु गरे ।कतै कामको खोजीमा गयो कि सबैभन्दा पहिला भाषाको समस्या ।भाषा जानेको छैन ,के -कसरी कुरा गर्ने ?यहाँका मानिसहरुले अंग्रेजी बोल्न त्यति  नजन्दो  रहेछ । जानी हाले पनि बोल्न मन नपराउने रहेछ ।बल्ल तल्ल  जानी नजानी बीच -बीचमा अंग्रेजी मिसाएर  यहाको भाषामा कुरा गरे । के  काम जानेको छ ?कामको परमिट छ कि छैन ?प्रश्न माथि प्रश्न बर्साउन थाल्छन ।कामको लागि बिदेश हिड्नु भन्दा पहिला हामीले आफुलाई कुनै काममा निपुण र पोख्त बनाउनु आवश्यक रहेछ ।बिदेशमा कुनै काममा दक्ष -अर्धदक्ष कामदारहरुले राम्रै काम पाउने सम्भावना धेरै 

हुँदो रहेछ ।सीप र भाषा नभएकोले काम पाउन मुस्किल हुँदो रहेछ ।यदि पाई हालेमा पनि कम तलब ,लामो समय ड्युटी ,खतरापुर्ण काम पाइदोरहेछ । 

 मेरो बर्षौको  मेहनतले प्राप्त डिग्री सर्टिफिकेटको यहाँ कुनै मान्यता थिएन ।बल्ल तल्ल एउटा इण्डियनको रेस्टुरेन्टमा भाँडा धुने काम पाएँ र खुशीले गर्न तम्सिएँ ।अदक्ष्य कामदार र कामको  परमिट थिएन ।कम तलबमा  पनि काम गर्न हारेश खाईन ।मेहनत र संघर्षका दिनहरु क्रमश बित्दै गए । गुरु अर्थात ओस्ताद एकदमै आदरणीय र सम्मानीय शब्द । हजारौ दिनहरु आफु एक्लै ले गरेको प्रयास भन्दा असल गुरुको साथमा एकदिन शिक्षा लिएर गरेको काम गुणस्तरिय र भरपर्दो हुँदो रहेछ भन्ने अनुभब मैले गरे ।मैले यहाँ गडवाली ओस्ताद सँग काम गर्ने अवसर प्राप्त गरे ।अनि कुकिङ्ग सम्बन्धी कला सिक्दै गए । 

चक ,डस्टर र कलम समात्ने हातहरु अब क्रमस डाडु ,पनियो ,फ्राईपेन ,छुरी र चक्कु समात्न अभ्यास्त हुन थाल्यो ।तलब राम्रो र काम सजिलो हुन थाल्यो ।शुरुका दिनहरुमा गरेका दु:खहरु क्रमस बिर्सिदै जान थाल्यो ।तर पनि काम गर्ने परमिट नभएकोले बेला -बखत श्रम -बिभागबाट चेकिङ्ग आउँदा लुक्नु पर्ने वा भाग्नु पर्ने बाध्यता रही नै रह्यो ।”रात रहे अग्राख पलाउ छ” भन्ने नेपाली उखान सम्झेर कुर्दा -कुर्दा निक्कै लामो प्रतीक्षा र संघर्ष पछि बल्ल मैले यहाँको बैधानिक कागज ,हाम्रो नेपाली जनजिब्रोमा प्रचलित ग्रीनकार्ड प्राप्त गरे । 

झन्डै दश बर्षहरु पछि ग्रीनकार्ड पाएर म मातृभूमि नेपाल फर्किएँ ।नेपालमा भरखरै शान्ती प्रक्रियाबाट  नेपाल कमनिष्ट पार्टी  माओबादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको थियो ।गृह युद्धको चपेटाबाट मेरो देश टी बी  लागेको मानिस झैँ अस्थीपन्जर शरीर लिएर  लर्खरौदै भरखरै टाउको उठाउन खोजि रहेको झैँ लाग्यो ।मानिसहरु बल्ल शान्तिको स्वास -प्रस्वास महशुस गरि रहेका थिए ।शहरहरुमा भौतिक परिबर्तनहरु धेरै भै सकेको रहेछ।बाटोहरुमा  बिदेशको झैँ लामो  गाडीका लाइन लाग्ने भै सकेको रहेछ । टेम्पो ,बस र अन्य बाहनहरुमा महिला चालकहरुलाई देखेर महिला जागरण बढेको जस्तो लाग्यो ।तर टुरिष्ट एरियामा  पहिला जस्तो पर्यटकहरुको भीड भाड थिएन  ।ठमेल जस्तो टुरिस्ट एरियामा पनि सुनसान बाताबरण देख्दा नेपालको अर्थत्रन्त्र्मा प्रतिकुल असर परिरहेको सजिलै अनुमान लगाएँ । 

                                                         ३ 

              धेरै बर्षहरु पछि सुन्दर शरद ऋतुको बिहानी पख माछापुछ्रे र अन्नपुर्णमा रंगिन प्रभात देख्न पाउँदा म हर्षले गद -गद भएँ ।म मेरो देशको प्रकृति माथि गर्ब गरिरहेको थिए  ।फेवातालको आँगनमा बसेर निश्चल पानीका तरंगहरु खेलाई रहँदा मेरो मन पुन एक पटक भाव -विव्हल भयो ।अनि गहिरिएर अबिरल सुसाईमा लुकी हिड्ने सेती नदीको सुसाईसंगै सुसल्दै म कल्पनाको महासागरमा पुगे ।यो मेरो देश धर्तीको एउटा अनुपम स्वर्ग हो ।यो मेरो देश संसारकै सुन्दर बगैचा हो। अनि आफुलाई नै प्रश्न गर्न मन लाग्यो ।यति बिध्न रमणीय स्थल मेरो देशका हामी नेपाली जनता किन गरिब ,भोकमरी र अभावमा पिल्सिरहेका छौ ।तर उतर पाउन सजिलो छैन ।म केहि समय सेती नदीको गहिराईलाई नियाल्दै टोलाई रहे । 

     नेपालीहरुको महान चाड  बिजय दशमी नेपालीहरुको घर घरमा भित्रियो ।टुडीखेलमा खसी ,बोका र भेडाका बथानहरु  झुण्ड-झुण्डमा बेच्न राखेका छन् ।हाम्रो गुरुङ्ग समुदायमा बिजय दशमी पहिलेको झैँ आजभोली धुमधाम सँग मनाउदैनन् ।बिजय दशमी मान्ने र नमान्ने बिषयमा गुरुङ समुदायमा अझै बिबाद छ ।पुराना पिढीका बुढा पाकाहरु परम्परा देखि मान्दै आएको संस्कारलाई हतपत छोडन मान्दैनन् ।हेमाको घरमा पनि यस पटकको दशैँ मान्ने र नमान्ने बिषयमा बहस चल्यो ।हेमाको बुबा असी नाघी सकेको र आफ्नो सास छउन्जेल दशैँ मान्ने बिचार ब्यक्त गरेपछि दशैको दिन हामी सबैले हेमाको बुबाको हातको टीका थाप्न शुरु गर्यौ । 

हामी यहाँ धेरै परिवारका सदस्यहरु छौ ।सम्झना  र उनको छोरा प्रदिप पनि ।प्रदिप झन्डै  सात -आठ  बर्षको किशोर अवस्थाको उमेरमा हुर्कदै छ ।दशैमा पहिला सानो मानिसबाट क्रमश ठुलो मानिसमा टिका ग्रहण गर्ने परम्परा छ ।यहि नियम मुताबिक प्रदीपको टिका थाप्ने पालो पहिला आयो । 

“ल !नाति (निधारमा अक्षेता लगाई दिदै )ठुलो भएर लेप्टीन -क्यप्टिन भएस ।”हेमाको बुबाले आशिर्बाद दिनुहुन्छ । 

“नाई मलाई त यस्तो आशिर्बाद मन परेन ।अर्कै अशिबार्द दिनोस् न बाजे ।”प्रदीपले विनम्रताको भावले भन्यो । 

“के भनिस ?मैले त बुझिन ।”हेमाको बुबाले भन्यो । 

“यो आशिर्बाद भएन क्या बाजे ।अर्कै दिनुस् “हेमाको बुबाले कान अलि कम सुन्ने भएकोले प्रदिप बाजेको कानको नजिक गएर चर्को अवाजले बोल्छ । 

“ए !ल !! ल !!!पढेर डाक्टर भएस ।इन्जिनियेर भएस ।म त राम्रो आशिर्बाद दिन जान्दैनन क्या “बुढौली उमेरको मन्द हाँसो हाँस्दै हेमाको बुबाले भन्छ । 

“नाइँ त्यो पनि होइन ।यो बजे त कस्तो रहेछ ।आसिर्बाद दिन पनि नजान्ने ।”प्रदीप रीसले पहिला भन्दा अझ चर्को स्वरले कराउछ । 

प्रदीपको इच्छा बिपरितको आशिर्बाद भएकोले हेमाको आमाले श्रीमानको कानमा गएर चर्को स्वरमा कराइन्  

“नातिलाई यो आशिर्बाद पनि भएन रे !अरु नै दिनु पर्यो  !” 

“कस्तो -के भनेर दिने त ?लौ तिमी आँफै भन् ।”हेमाको बुबाले प्रदिपलाई सोध्यो । 

“पुसाइको (मलाई देखाउदै )जस्तै ग्रीन कार्ड पाएस भनेर दिनुहोसन् “प्रदिप चर्को स्वरमा कराउछ । 

“ए !ल ल !!मेरो नाती ठुलो भएर अमेरिका  ! युरोप !! को  ग्रीन कार्ड पाओस ।”हेमाको बुबा खुशी हुदै आशिर्बाद दिन्छन । 

प्रदिप खुशीले फ़ुरुङ्ग हुँदै बाजेलाई ढोग गर्छ ।अनि चलन अनुसार क्रमश अरुलाई ढोग गर्न लाग्छन । 

मेरो टिका थाप्ने पालो आउन अझै थुप्रै समय थियो ।म आफ्ना अतितका बाल्यकालका दिनहरुमा घोत्लिन थाल्छु ।मैले बचपनमा काइला बुबासँग मागेको आशिर्बाद झलझली आँखा सामुन्ने नाच्न थाल्छ ।अनि भर्खरै प्रदीपले बाजेसँग मागेको आशिर्बादसँग तुलना गर्न थाले ।लगभग उही मेरो बचपनको उमेरसँग मिल्ने र उही तरिकाले मागेको अर्को खाले अशिर्बादले म झस्किए ।समयले कोल्टो फेरिसकेको रहेछ ।ज्ञान -बिज्ञान र प्रबिधिले मानब जीवनमा परिबर्तन ल्याई रहेको छ ।त्यहिँ परिबर्तन सँगसंगै मानिसका इच्छा ,चाहना र आवश्यकतामा परिबर्तन भैरहेको छ ।मैले मन मन मा अड्कल बाजी लगाएँ सायद यहि नै होला जेनेरेशन ग्याप भनेको । 

                                               ४ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *