• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

स्पेनमा नेपाली हिमशिखरको नाममा घोडा दौड सम्पन्न

Byspainnepal

May 16, 2023

नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्ष पुगेको अवसरमा स्पेनस्थित नेपाली राजदूतावासले गत १३ मे शनिवार म्याड्रिडको हिपोड्रोमो डी ला जज्र्वेलामा घोडा दौड सहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल र स्पेनबीचको सम्बन्धलाई जनस्तर सम्म लैजाने तथा नेपालको पर्यटन प्रबर्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली राजदूतावास म्याड्रिडले जनाएको छ ।
नेपालको संस्कृति र पर्यटन प्रवद्र्धन गरी सन् २०२६ सम्ममा स्पेनबाट प्रतिवर्ष कम्तिमा एक लाख पर्यटक नेपाल पठाउने आफुहरुले लक्ष्य रहेको राजदूतावासले जनाएको छ । साथै हिमाल तथा हिमनदीहरूमा परेको जलवायु परिवर्तनको असरबारे चेतना जगाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको राजदूतावासले जनाएको छ ।

कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथासहित मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण गरी नेपालका आठ अग्ला हिमालको नाम राखिएका आठ वटा घोडाको प्रदर्शनी गरिएको थियो जसमा प्रत्येक पर्वतको संक्षिप्त विवरण राखिएको थियो । पदर्शनीपछि सुरु भएको घोडा दौडमा अन्नपूर्ण नामको घोडा प्रथम भयो । स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले विजेता घोडसवारलाई भगवान बुद्धको मूर्ति तथा सहभागी सबैलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । त्यस अवसरमा उहाँले नेपाल र स्पेनबीच रही आएको सम्बन्धलाई साझा मूल मान्यता र सांस्कृतिक आदानप्रदान मार्फत अझै बलियो बनाउनु पर्ने बताउनुभयो । उहाँले विभिन्न क्षेत्रमा भएका सहयोगात्मक प्रयासहरू नै दुई देशबीच रहेको दिगो साझेदारीको प्रमाण भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा उत्तर अमेरिका, पूर्वी यूरोप, एसिया र प्रशान्त क्षेत्रका महानिर्देशक तथा स्पेनको परराष्ट्र मन्त्रालयका प्रतिनिधी जेभियर सालिडोले नेपाल स्पेन सम्बन्धको बलियो पक्षबारे प्रकाश पार्नुभयो । उहाँले पर्यटन, संस्कृति, खानपान, हरित ऊर्जालगायतका क्षेत्रमा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा प्रसिद्ध पर्वतारोही एड्रियाना ब्राउनलीले हिमाल र स्थानीयहरूमा परेको जलवायु परिवर्तनको प्रभाव विरुद्ध तुरुन्त कदम चाल्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली र स्पेनिस गीतमा ‘अर्केस्ट्रा’ प्रस्तुति गरिएको थियो । साथै नेपाल र स्पेनका विविध जातजाति र परम्पराको प्रर्दशन गरिएको थियो । कार्यक्रममा स्पेनिस समूहले नेपाली गीत ‘कुटुमा कुटु’, ‘मै छोरी सुन्दरी’ र फ्लामेन्कोमा नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा कलाकार अजय लोप्चनले प्रस्तुत गरेको मञ्जुश्री नृत्यपछि सबै वर्ग र क्षेत्रलाई प्रतिनिधित्व गर्दै विभिन्न नेपाली भेषमा आएका प्रवासी नेपालीहरुले सामूहिक तथा व्यक्तिगत प्रस्तुती दिएका थिए ।
कार्यक्रममा फेसन शो पनि राखिएको थियो जसमा मोडलहरुले विभिन्न नेपाली हस्तकला तथा कपडाहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा नेपाली गायक रुपक डोटेल र स्पेनिस गायिका एन्ड्रियाको पनि प्रस्तुति रहेको थियो । गायनपछि कार्यक्रममा डीजेले विभिन्न नेपाली र स्पेनिस गीतहरू बजाएका थिए । कार्यक्रममा ‘सेलरोटी’ र ‘पकौडा’ लगायतका विभिन्न नेपाली परिकारहरु खुवाइएको थियो ।
कार्यक्रममा स्पेनका लागि विभिन्न देशका राजदूत, कूटनीतिक निकाय, स्पेनको परराष्ट्र मन्त्रालयका अधिकारी, भ्लगर्स, व्यवसायिक क्षेत्र लगायतका नेपाली डायस्पोरा, कलाकार, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र स्पेनमा रहेका नेपाली डायस्पोराको सहयोग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *