• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

नेपाली दूतावास म्याड्रिडले घोडा दौड गर्दै, नेपाली हिमशिखरबाट घोडाहरुको नामाकरण

Byspainnepal

May 5, 2023

नेपाली राजदूतावास म्याड्रिडले स्पेन र नेपालको कूटनीतिक सम्बन्धको ५५औं वार्षिकोत्सवको अवसरमा म्याड्रिडमा घोडा दौड कार्यक्रमको आयोजना गर्ने भएको छ । मे १३ तारिकमा म्याड्रिडमा विविध सांस्कृतिक कार्यक्रम सहित घोडा दौड आयोजना हुने नेपाली राजदूतावास म्याड्रिडले जानकारी दिएको छ । ।

उक्त दौडमा सहभागी हुने घोडाहरुको नामाकरण नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमशिखरहरुबाट राखिएको दुतावासले जनाएको छ । त्यसमा सर्वोच्च शिखर सगरमाथासहित मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण नाम गरेका ८ वटा घोडाहरुले प्रतिस्पर्धामा सहभागी हुनेछन् ।

स्पेन सरकारका उच्च पदस्थ अधिकारीहरु, विभिन्न देशका कुटनीतिक नियोग प्रमुखहरुको सहभागिता रहने उक्त कार्यक्रममा पाँच हजारभन्दा बढीको उपस्थिति गराउने तयारी गरिएको राजदूतावासले जनाएको छ । म्याड्रिडको हिपोद्रोमो दे ला सास्र्वेलामा मे १३ वेलुकी ५ वजेदेखि शुरु हुने उक्त कार्यक्रममा उपस्थित भै नेपाल प्रर्बद्धन अभियानमा सहभागी हुन नेपाली राजदूतावासले सवैमा अनुरोध गरेको छ ।

कार्यक्रममा निशुल्क सहभागी हुनका लागि यो लिंक मार्फत नाम दर्ता गर्न सकिन्छ ।

https://www.eventbrite.com/e/616424290647

स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले यो कार्यक्रम स्पेनको इतिहासमा नै कुनै पनि दूतावासले गरेको ठूलो कार्यक्रम हुने र यसले नेपाल स्पेन सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा आफुले गरेको बताउनुभयो । प्रतिस्पर्धामा सहभागी हुने घोडाहरुको नाम हिमशिखरहरुबाट राखिनुले पनि उक्त कार्यक्रमलाई थप आकर्षक बनाएको उहाँले बताउनुभयो । यसले विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल मध्ये ८ वटा नेपालमा पर्छन भन्ने कुरालाई चिनाउनुका साथै यसको महत्वको प्रचार गर्नु आफुहरुको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

यसले जलवायु परिवर्तनका कारण हिमालहरुमा परेको असर र त्यसले समग्र पर्यावरण तथा मानव जीवनमा पारेको प्रभावबारे सचेतना बढाउन पनि सहयोग गर्ने उहाँले बताउनुभयो ।
उक्त अवसरमा नेपालको पर्यटन प्रबर्धनका लागि नेपाल र स्पेनको संस्कृति, रहनसहन, खाना, भेषभूसा समेत प्रस्तुत गरिने उहाँले बताउनुभयो ।

नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्ष पुगेको अबसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो । नेपाल र स्पेनबीच मे १३, १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । स्व.राजा वीरेन्द्र र स्वर्गीय रानी ऐश्वर्याले सन् १९८३ मा स्पेनको राजकीय भ्रमण गरेका थिए । स्पेन भ्रमणको क्रममा दुई देशबीच सांस्कृतिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि स्पेनका राजा खुआन कार्लोस र रानी सोफियाले सन् १९८७ मा नेपालको राजकीय भ्रमण गरेका थिए । त्यसयता नेपाल र स्पेनबीच उच्च स्तरको भ्रमण हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *