• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

४० वर्षपछि भारतीय जेलबाट छुटे दुर्गाप्रसाद

Byspainnepal

Mar 20, 2021


४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार छुटेका छन् । छुटेलगत्तै भारतीय सञ्चारमाध्यमहरुसँग मिम्सिनाले ‘म निर्दोष थिएँ’ भनेर प्रतिक्रिया दिएका छन् ।

शारीरिक र मानसिक रुपमा कमजोर उनी भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) रहँदै आएका थिए । उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम छुटेका हुन् । दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र मिम्सिनालगायत परिवार तथा आफन्तजनहरु भारत पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपराह्न अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो ।

चिकित्सकले अदालतमा पेश गरेका स्वास्थ्य परिक्षण प्रतिवेदनमा ६१ बर्षीय तिम्सिनाको स्वास्थ्य अवस्था ९ वर्षको बालकको जस्तो रहेको उल्लेख गरिएको छ । अदालतले फैसलामा तिम्सिनाको स्वास्थ्य अवस्थाबारे ६/६ महिनामा नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउन उनका भाइ प्रकाश तिम्सिनालाई भनेको छ ।

तिम्सिना २०३७ सालतिर तोरी बेच्न भनेर घरबाट इलामको मंगलबारे गएका बेला दार्जिलिङतिर लगएको परिवारले जनाएको छ । त्यहाँ रहँदा सन् १९८० मे ११ मा हत्या आरोपमा उनी जेल परेका हुन् । दार्जिलिङकी जनु गुरुङको हत्या अभियोगमा उनका श्रीमान् नैने घलले किटानी जाहेरी दिएपछि तिम्सिना पक्राउ परेको तर जाहेरीपछि उजुरीकर्ता प्रहरी र अदालतको सम्पर्कमा नगएकाले उनी ४० बर्षदेखि जेलमै रहन बाध्य भएका थिए ।

गोर्खाल्यान्ड आन्दोलनका क्रममा उनलाई राखिएको जेलमा आन्दोलनकारीले आगो लगाइदिएपछि उनी सम्बन्धित सबै कागजात पनि जलेका छन् । कागजात नभएपछि उनको सुनुवाई अझ लम्बिएको परिवारले जनाएको छ ।

कारगारमा तिम्सिनासँगै १० वर्ष बिताएका भारतीय नागरिक राधेश्याम दास गत असोजमा रिहा भएपछि उनलाई रिहा गर्न विभिन्न संघसँस्था र कोलकातास्थित नेपाली वाणिज्य दुतावासले पहल शुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *