• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

राष्ट्रिय सभाका अध्यक्षको स्पेन भ्रमणबारे प्रेस ब्रिफिङ– भ्रमणले दूरगामी महत्व राख्ने भनाइ

Byspainnepal

Apr 18, 2021


राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले आफ्नो स्पेन भ्रमण पुर्ण सफल भएको बताउनुभएको छ । हालै एकहप्ता लामो स्पेन भ्रमण सकेर स्वदेश फर्कनुभएका अध्यक्ष तिमिल्सेनाले पत्रकार सम्मेलन गरी आफ्नो स्पेन भ्रमणका अबसरमा भएका गतिबिधी र भेटघाटको बारेमा जानकारी गराउनु भएको छ । उहाँले साताव्यापी भ्रमण अत्यन्त फलदायी तथा दूरगामी महत्व राख्ने रहेको र दुई देश बिचको सम्बन्धलाई जनस्तरबाट समेत प्रगाढ बनाउन सफल रहेको बताउनुभयो । उच्चस्तरीय स्पेन भ्रमणको उद्देश्य र उपलब्धि सम्बन्धि आज संघीय संसद सचिवालयमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । उक्त पत्रकार सम्मेलनमा लुम्बिनी गार्डेन फाउन्डेशनका अध्यक्ष खोसे म्यानुयल भिलानोभा आलेमान र महासचिव एकराज गिरीले भिडियो कन्फेरेसन मार्फत सहभागिता जनाउनु भयो ।

प्रेस नोट

स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्य मन्त्री गुईलेरम्मो फर्नान्डेज भारको निमन्त्रणा तथा लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा यहि April 6 देखि 12 मा सम्पन्न Peace Conference मा प्रमुख अतिथिको रुपमा भाग लिन राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सांस्कृतिक नगरपालिका नगर प्रमुख मनमोहन चौधरी, रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र प्रसाद गुप्ता, देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्री, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह, देवदह नगरपालिकाका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रेग्मी, शाखा अधिकृत सपना सापकोटा, लुम्बिनी गार्डेन फाउन्डेसनका बरिष्ठ आर्किटेक इन्जिनियर उज्ज्वल मान शाक्य सहितको प्रतिनिधिमण्डल अप्रिल ६ तारिखमा स्पेनको राजधानी म्याड्रिड हुँदै एक्त्रेमादुरा प्रान्तको क्याथेरेस शहर पुगेको थियो । उक्त अवसरमा लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा आलेमन सहितको टोलीले स्वागत गरेको थियो ।

त्यसैगरी अप्रिल ७ मा प्रतिनिधिमण्डललाई एक्त्रेमादुराको राजधानी मेरिदामा स्पेनका उपप्रधानमन्त्री कारमेन काल्भो र एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारले स्वागत गर्नुभएको थियो । उक्त अवसरमा आयोजित बैठकमा मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारसँग सम्माननीय अध्यक्ष, स्पेनका लागि नेपालका राजदुत लगायत लुम्बिनी, देवदह, कपिलबस्तु र रामग्रामका प्रमुख, लुम्बिनी गार्डेन फाउन्डेसनका संस्थापकहरु बीच फोहोरमैला व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो।

सोहि दिन सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले एक्स्त्रेमादुरा प्रदेशको संसद भवनमा Peace Conference को औपचारिक उद्घाटन गर्नुभएको थियो।उद्घाटन मन्तव्य दिंदै उहाँलेगौतम बुद्धको शान्तिको सन्देश संसारभर फैल्याउन सबैलाई अनुरोध गर्नुभयो । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमी नेपालको तर्फबाट विश्व शान्ति र भाइचाराका लागि अनुरोध गर्नुहुँदै बुद्धदर्शनको अद्धितीय गुण भनेकै जीवन र प्रकृति प्रतिको नविनतम् सोच भएको र खुसी प्राप्तिका लागि कसैले अर्को जन्म वा भिन्नै विश्वको प्रतिक्षा गर्नु नपर्ने कुरा बताउनुभयो । यहि समय र संसारमा यसै जिवनकालमा सुख, शान्ति र समृद्दि प्राप्त गर्न सकिन्छ जसका लागि हामीले मात्र घृणा र स्वार्थ त्याग्नुपर्छ। दया, भातृत्व र परोपकारको भावनाको विजारोपण गर्नुपर्ने भएकोले बुद्धदर्शनलाई मानव सशक्तिकरणको दर्शन भन्न सकिने र बुद्धदर्शन मानवताको पुनर्खोज हुनुका साथै व्यक्तिको अनुशासन, रुपान्तरण र उदाहरणीय व्यवहारद्वारा समाजको रुपान्तरण गर्न सकिने हुँदा यसबाट सामाजिक सद्भाव सुनिश्चित गर्न र न्याय, विश्ववन्धुत्व, शान्तिपूर्ण सहअस्तित्व र मानवीय मर्यादामा आधारित विश्वव्यवस्था कायम गर्न सकिने कुरा बताउनुभयो ।

उहांले विश्वशान्ति र सद्भाव कायम गर्नमा बुद्धदर्शनको योगदानको कदर गर्दै सन् १९९९ मा संयुक्त राष्ट्रसंघले बुद्धको जन्मदिनलाई बिशेष दिवसको मान्यता दिनु र सहअस्तित्व जस्ता बुद्धदर्शनका मान्यताहरुमा आधारित वडापत्र भएको संयुक्त राष्ट्रसंघ जस्तो विश्व संस्थाले अपनत्व लिएकोमा गर्वको विषय भएको बताउनुभयो ।

यस अवसरमा नेपालको लुम्बिनीमा जन्मिएर संसारलाई शान्तिको सन्देश दिएका बुद्धको सन्देशलाई आत्मसाथ गर्दै लुम्बिनी गार्डेन फाउन्डेसनले क्याथेरेस शहरमा शुरु गरेको प्रोजेक्ट मार्फत विश्व मानचित्रमा एक्स्त्रेमादुरा र क्याथेरेस केन्द्रमा रहने र यो नमुना प्रोजेक्ट स्पेनको क्याथेरेस शहरमा गराउन लुम्बिनी गार्डेन फाउन्डेसनसँग सहकार्य गर्नु भएकोमा एक्स्त्रेमादुराका मुख्यमन्त्री, क्याथेरेसका मेयर लगायत सबैमा धन्यवाद दिनुभयो । नेपाल अर्थात् गौतम बुद्धको देशको सरकारका तर्फबाट प्रोजेक्टकालागि सदैब हातेमालो र सहयोग रहिरहने प्रतिबद्धता जनाउनुभयो ।

एक्स्त्रेमादुरा प्रदेशका सभामुखले सम्माननीय अध्यक्षको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्नुहुँदै नेपालबाट शान्तिको संदेश क्याथेरेस शहरमा ल्याउन पाउँदा खुशी भएको बताउनुभयो । यसले नेपाल र स्पेनको सम्बन्ध अझै प्रगाढ हुने भन्दै नेपाली टोलीको स्वागत गर्न पाउनु गौरव भएको बताउनुभयो ।त्यसैगरी एक्स्त्रेमादुरा प्रदेशका मुख्य मन्त्रीले सम्माननीय अध्यक्षको आगमन प्रदेशको सौभाग्य भएको बताउनुभयो । मानव सभ्यता बिर्सिंदै गएको यस अवस्थामा शान्ति भित्र्याउन गरेको पहलमा नेपाल सरकारको सहयोग पाउनु अपूर्व अवसर भएको बताउनुभयो । नेपाललाई स्पेनले प्रविधिको क्षेत्रमा सहयोग गर्ने पनि बताउनुभयो ।

कन्फ्रेन्समा स्पेन सरकारका उपप्रधानमन्त्री, एक्स्त्रेमादुराका मुख्य मन्त्री, एक्स्त्रेमादुराका सभामुख, स्पेनका लागि नेपाली राजदुत, सांसदहरु, प्रदेशका मन्त्रीहरु, मेयरहरु, फाउन्डेसनका पदाधिकारीहरु तथा पत्रकारहरु सहभागी हुनुहन्थ्यो । सोहि दिन प्रतिनिधिमण्डलले एक्त्रेमादुरा प्रदेशको राजधानी मेरिदाको म्यूजियम लगायत ऐतिहासिक ठाउँहरु अवलोकन गरेको थियो।

यसैगरी अप्रिल ८ मा प्रतिनिधिमण्डलले क्याथेरेस नगरपालिकाको भ्रमण गरेको थियो। त्यहाँ सम्माननीय अध्यक्षको उपस्थितिमा नेपालको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र स्पेनको क्याथेरेस नगरपालिकाका कार्यवाहक प्रमुख मारिया जोशे पुलिदोले भगिनी सम्बन्धमा हस्ताक्षर गर्नुभएको थियो।सोही कार्यक्रममा नेपालको लुम्बिनी सांस्कृतिक नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका र देवदह नगरपालिका र स्पेनको क्याथेरेस नगरपालिकाबिच झण्डा आदान-प्रदान भएको थियो।

त्यसपश्चात् क्याथेरेसको पेद्रिया म्युजियममा सम्माननीय अध्यक्षको उपस्थितिमा लामा पुजा गरी नेपालको लुम्बिनी, रामग्राम, कपिलवस्तु, देवदह र स्पेनको क्याथेरेस समेत पाँचवटा शहरहरुको माटो मिश्रण कार्य सम्पन्न गरिएको थियो। सोहि ठाउँमा सम्माननीय अध्यक्षको स्वागतमा नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। सोहि दिन दिउँसो सम्माननीय अध्यक्षले क्याथेरेस नगरपालिकाको सभामा आयोजित शान्ती र लोकतन्त्र सम्बन्धि कन्फ्रेन्स्मा आफ्ना अनुभवहरु राख्नुभएको थियो।उहाँले नेपालको राजनीतिक इतिहास, लोकतन्त्र प्राप्तिका लागि विभिन्न समयका गरिएका संघर्षहरु, नेपालको शान्ति प्रक्रिया देखि गणतन्त्र र अहिलेको नेपाली परिवेशको बारेमा आफ्ना अनुभवहरु प्रस्तुत गर्नुभएको थियो।

कन्फ्रेन्समा एक्स्त्रेमादुरा प्रदेशका मुख्य मन्त्री गुईलेरम्मो फर्नान्डेज भारले लुम्बिनी र क्याथेरेसको सम्वन्धबारे चर्चा गर्दै आफ्ना भनाइ राख्नुभएको थियो। म्याड्रिडका पूर्व मेयर म्यानुअल कार्मेनले मानव जातिवारे बोल्नुभएको थियो भने पूर्व राजदुत स्लोमो बेम अमीले धार्मिक सहिष्णुता तथा इजरायल-प्यालेस्टाइन शान्ति प्रक्रियाका वारेमा बोल्नुभएको थियो। लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा आलेमन लगायतले नेपाल भूमिको पवित्रताको कुरा गर्दै पूर्व र पश्चिमको सम्बन्ध तथा आध्यात्म र शान्तिका सम्बन्धमा आफ्ना भनाईहरु प्रस्तुत गर्नुभएको थियो।

यसै गरी अप्रिल ९ मा प्रतिनिधिमण्डलले क्याथेरेसमा रहेको Centro de Cirugia de Minima Invasion Jesus Uson अस्पतालको निरीक्षण भ्रमण गरेको थियो। भ्रमणमा अस्पतालमा प्रयोग गरिएका नवीन प्रविधिहरुको बारेमा जानकारी गराइएको थियो।सोहि दिन ११ बजे क्याथेरेस शहरमा रहेका महत्वपूर्ण र ऐतिहासिक ठाउँहरुको अवलोकन भ्रमण गरिएको थियो।

अप्रिल १० मा बिहान १० बजे एन. आर. एन. एसोसिएसनद्वारा आयोजित नेपालको समसामयीक परिस्थिति र प्रवासी नेपालीहरुको चासोको विषयक कार्यक्रममा सम्माननीय अध्यक्षले जुम मार्फत सम्बोधन गर्नुभएको थियो। त्यस पश्चात् प्रतिनिधिमण्डलले लुम्बिनी गार्डेन फाउन्डेसनका निर्माण स्थल Arrope Hill को अवलोकन गरेको थियो। सो ठाउँमा सम्माननीय अध्यक्षको उपस्थितिमा बौद्ध परम्परा अनुसार पूजा कार्यक्रम सम्पन्न गरिएको थियो।सो ठाउँमा सम्माननीय अध्यक्षले नेपालबाट लगेको पिपलको विरुवा रोप्नुभएको थियो।

यसैगरी अप्रिल ११ मा एन. आर. एन. ए. स्पेनले सम्माननीय अध्यक्षको स्वागतमा वार्शिलोना स्थित नेपाली सममुदायसँग र सम्माननीय अध्यक्ष बीच अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो। सम्माननीय अध्यक्षले स्पेनको नेपाली समुदायमा रहेको एकता तथा विदेशमा रहेर देश प्रतिको मायाले आफू खुसी भएको बताउनुभयो। वार्शिलोनामा रहेर विभिन्न पेशा, व्यवसाय, संघ र संगठनहरुमा आवद्ध नेपाली दिदिबहिनी तथा दाजुभाईहरु उल्लेखनीय रुपमा उपस्थित हुनुभएको सो कार्यक्रममा गैरआवासीय नेपाली संघ आइसीसी सल्लाहाकार पुष्पराज तिमिल्सिना, युरोप उपसंयोजक मुक्त गुरुङ लगायत एनआरएनए स्पेनका पदाधिकारी तथा स्पेन स्थित विभिन्न संघसस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । 

अप्रिल १२ मा बिहान १० बजे सम्माननीय अध्यक्ष र स्पेनको उपल्लो सदन (सिनेट) का अध्यक्ष पिलर लप क्विनकाबिच उहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको थियो।भेटमा सम्माननीय अध्यक्षले नेपाल र स्पेनबीचको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य हुँदै आएको बताउनुभयो।दुवै तर्फबाट कोभिड-१९ बाट नेपाल र स्पेनमा जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो र भविष्यमा हुने यस्तै संकटबाट बच्न सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभएको थियो। सम्माननीय अध्यक्षले COVAX system मा सहयोग गरेकोमा स्पेनिस सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो। नेपालको कोभिडको अवस्था र भ्याक्सिन बारे जानकारी गराउनुहुँदै उहाँले स्पेनमा रहेका नेपाली समुदायलाई स्पेनीस सरकारले कोभिड-१९ को समयमा गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो। यसका साथै स्पेनमा बसोबास गर्ने नेपाली समुदाय र नेपाल भ्रमणमा आउने स्पेनी पर्यटकहरुबाट नेपाल-स्पेन सम्बन्ध थप प्रगाढ बन्ने बताउनुभयो। साथै लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउने नेपाल सरकारको गुरुयोजनाका बारेमा जानकारी गराउनुभयो।सिनेटका अध्यक्ष पिलर लप क्विनले नेपाल र स्पेनबीच संसदीय आदान-प्रदान बढाउनुपर्ने बताउनुभयो। यसका साथै विषम् परिस्थितिमा प्रविधिको प्रयोग गर्न सकिने बताउनुभयो।

साताव्यापी भ्रमण अत्यन्त फलदायी तथा दूरगामी महत्व राख्ने रहेको र दुई देश बिचको सम्बन्धलाई जनस्तरबाट समेत प्रगाढ बनाउन सफल रहेको छ।

संघीय संसद सचिवालय

सिंहदरबार

मितिः २०७८/०१/०५

https://youtube.com/watch?v=iQe4SQ7-JAQ
https://youtube.com/watch?v=KegIMZRMIws

Leave a Reply

Your email address will not be published. Required fields are marked *