• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

म्यानमारमा प्रहरीको गोली लागेर ३८ जनाको मृत्यु

Byspainnepal

Mar 4, 2021

म्यानमारमा सैन्य कू विरुद्ध भइरहेको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघले यस घटनाको निन्दा गर्दै सैन्य कू पछिकै ‘रक्तापातपूर्ण दिन’ भएको जनाएको छ । म्यानमारका लागि राष्ट्रसंघीय प्रतिनिधि क्रिश्‍चटिन चार्नर बुर्जेनरले विभिन्‍न सञ्‍चारमाध्यममा आएका फुटजहरु हेर्दा निकै भयानक भएको बताएकी छन् । प्रत्यक्षदर्शीहरुका अनुसार सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि रबर र लाइभ बुलेट प्रहार गरेका छन् ।
बुधवारको घटनापछि बेलायतले शुक्रबार राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ । सुरक्षा फौजले विभिन्‍न सहरहरूमा ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ ।
गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन् । म्यान्मारका छिमेकीहरूले संयम अपनाउन आग्रह गरेको एक दिनपछि त्यस्तो घटना भएको छ ।
राष्ट्रसंघीय दूत बुर्जेनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते तुल्याइएको बताएकी छन् । उनका अनुसार एउटा भिडिओ क्लिपमा प्रहरीले निसशस्त्र स्वास्थ्य स्वयमसेवकको टोलीलाई पिटिरहेको देखिन्छ ।
त्यस्तै अर्कोमा सडकमा प्रदर्शनकारीमाथि गोली चलाइएको र सम्भवत: मारिएको देखिन्छ । “म केही हतियारविज्ञहरूलाई आग्रह गर्छु र उनीहरूले पुष्टि गर्नसक्छन्, स्पष्ट छैन तर प्रहरीको हतियार नौ एमएमको सबमेशिनगन जस्तो देखिन्छ,” उनले भनिन् ।
सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर छन्। एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ ।
कूपछि नेत्री आङ सान सू ची सहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ । प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन् ।
सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ। उक्त चुनावमा सू चीको दल न्याश्नल डेमोक्र्याटिक पार्टीले ठूलो जित हासिल गरेको थियो ।
सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन। उसले निर्वाचन आयोगमा हेरफेर गरेको छ र यही वर्ष ताजा चुनाव गराउने वाचा गरेको छ । अन्तर्राष्ट्रिय रूपमा बढ्दो निन्दाकाबीच सेनाले सडक प्रदर्शनविरुद्धको कदम बढाएको छ र बुधवार थुप्रै ठाउँहरूमा हिंसात्मक झडपहरू भएका छन् । – बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *