• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

कोरोनाका कारण स्वास्थ्य सेवा अवरुद्ध हुँदा दक्षिण एसियामा दुई लाख २८ हजार बालबालिकाको मृत्यु

Byspainnepal

Mar 17, 2021

दक्षिण एसियामा कोरोना महामारीका कारण स्वास्थ्य सेवाहरु अवरुद्ध हुँदा करिब दुई लाख २८ हजार बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको रिपोर्टले जनाएको छ ।

अफगानिस्तान, नेपाल, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकामा अध्ययन गरिएको थियो । उक्त अध्ययनले गरेको रिपोर्टमा महिला, बालबालिका र किशोरहरु धेरै प्रभावित भएको देखाएको छ ।

दक्षिण एसियामा एक करोड ३० लाख जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने एक लाख ८६ हजारको मृत्यु भएको छ । दक्षिण एसियाका अधिकांश मुलुकमा कोरोना महामारीलाई नियन्त्रणमा गर्न अस्पताल, फार्मेसी, ग्रोसेरीबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएका थिए ।

‘दक्षिण एसियामा कोरोना महामारीको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव’सम्बन्धी गरिएको अध्ययन अनुसार पाँच वर्षमुनिका दुई लाख २८ हजार बालबालिकाको मृत्यु भएको देखिएको छ । छवटा मुलुकमा महत्वपूर्ण स्वास्थ्य सेवाहरु अवरुद्ध हुनु, कुपोषणलगायतका कारण यी बालबालिकाको मृत्यु भएको पाइएको छ ।

बंगलादेश र नेपालमा करिब ८० प्रतिशत बालबालिका कुपोषणको उपचार नपाएको देखिएको छ भने खोप लगाउनबाट भारतमा ३५ प्रतिशत र पाकिस्तानमा ६५ प्रतिशत बालबालिकाहरु वञ्‍चित भएको पाइएको छ ।

दक्षिण एसियामा सन् २०२० मा सबैभन्दा बढी बालमृत्युदर भारतमा रहेको पाइएको छ । भारतमा १५ दशमलव ४ प्रतिशत र बंगलादेशमा १३ प्रतिशत बालमृत्युदर रहेको पाइएको छ । मातृ शिशुमृत्युदर श्रीलंकामा २१ दशमलव ५ प्रतिशत र पाकिस्तानमा २१ दशमलव ३ प्रतिशत रहेको छ ।

सन् २०२० मा ३५ लाख अनिच्छित गर्भ रहेको पाइएको छ । जसमा चार लाख किशोरीहरु गर्भवती भएकी छन् । – बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *