• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

स्पेनमा बसेर नेपाली बाँसुरीको धुनलाई अन्तराष्ट्रियकरण गर्दैछन् -बिनोद कटुवाल

Byspainnepal

Mar 17, 2021

नेपाली संगीतको एउटा अभिन्न अंग हो बाँसुरी । नेपाली लोकवाजा बाँसुरीले नेपाली माटोको स्वाद बोकेको हुन्छ । बाँसुरीको धुनमा मोहित नहुने हामी को नै नेपाली हौला र ? अब यो बाँसुरीको धुन नेपाली पाखावारी र नेपाली संगीतमा मात्रै होइन विदेशमा पनि गुन्जन थालेको छ । नेपालीहरुको विदेश बसाइका क्रममा नेपाली संगीतकर्मीहरु पनि विदेशमा छन् । उनीहरुले विभिन्न किसिमबाट नेपाली संगीतलाई विदेशमा चिनाउने र आफ्नो नेपालदेखिको संगीतकर्मलाई जारी राख्ने गरेका छन् । यिनै मध्येका एक हुन बाँसुरी बादक काठमाण्डुका बिनोद कटुवाल । बिगत ११ बर्ष देखि स्पेनको बार्सिलोनामा बस्दै आएका कटुवालले गरिरहेको संगीतकर्म र उनले नेपाली बाँसुरीलाई विदेशमा चिनाउन गरिरहेको योगदानको बारेमा यहाँ चर्चा गरिएको छ ।


चोभारमा जन्मेका कटुवाल सानै देखि संगीत र त्यसमा पनि बाँसुरी प्रति मोहित थिए । उनले किर्तिपुरको पांगा स्कुलमा पढ्दा पढ्दै बासुरी सिक्न थालिसकेका थिए । त्यसक्रममा उनले नेपाली बाँसुरी बादक रमन महर्जनसँग बाँसुरी सिके । नेपालमा रहँदा उनले धेरै सांगितिक कार्यक्रमहरुमा सहभागी भए । त्यसक्रममा उनले चर्चित गायक हेमन्त रानाको सुफि ब्यान्ड र अनिल शाहीसँग पनि काम गर्ने मौका पाए । त्यसक्रममा आफुले धेरै कुराहरु सिक्न पाएको उनले बताए । त्यतिबेलादेखि नै उनीमा विशेषगरी स्पीरिच्युल म्युजिकमा मन गयो । त्यसैले उनलाई तान्यो ।


यसैक्रममा उनी २०१० मा हंगेरीमा भएको एक सांगितिक महोत्सवमा सहभागि हुने अबसर पाए । र त्यसपछि स्पेनमा बस्न थालेका कटुवालले यतै आफ्नो सांगितिक यात्रा अघि बढाइरहेका छन । यहाँ नेपाली समुदाय र संघसस्थाले गर्ने विभिन्न सांगितिक कार्यक्रममा देखिइरहने विनोदले त्यतिमा मात्रै आफुलाई सिमित राखेका छैनन् । उनले स्पेनकै विभिन्न ब्याडहरुसँग मिलेर काम गरिरहेका छन् । अहिले पनि आफु स्पेनका १०/१२ वटा ब्यान्डसँग मिलेर काम गरीरहेको स्पेननेपाल डटकमसँग बताए । उनीहरुसँग मिलेर कटुवालले यहाँ हुने ठुल्ठुला फेस्टिवल र कन्र्सटहरुमा आफ्नो बाँसुरीको धुनले सवैलाई मोहित पारेका छन् । उनले फियस्ता दे ग्रासिया र सेन्ट्रो सिभिकले गर्ने विभिन्न फेस्टिवलहरुमा भाग लिईसकेका छन् । यस्तै सांगितिक कार्यक्रममा भाग लिन यो क्रममा उनी युरोपका धेरै देशहरुमा पुगिसकेका छन् । भने स्पानिश विभिन्न एल्बमहरुमा पनि उनका बाँसुरीका धुन भरिएका छन् ।

शुरुमा आफुले बाँसुरी बजाउछु भन्दा यहाँका मानिसहरुले त्यति चासो नदिएको बताउने कटुवालले विस्तारै आफुले यसको दायरा फराकिलो बनाउँदै गएको बताए ।
“बाँसुरी नेपाली लोकबाजा हो, यसको धुन पनि नेपाली मौलिक नै छ , तर यसलाई पनि अलि विदेशी पाराले बजाउन सकिदो रहेछ, मैले त्यही गरेँ र अहिले यहाँका विदेशीले पनि बाँसुरीलाई आत्मसाथ गर्न थालेका छन् ।” उनले भने ।

स्पेनमा आइसकेपछि उनले बाँसुरी मात्रै होइन अन्य बाजाहरु पनि बजाँउन सिके । विशेषगरी स्पानिसबाजा काखोन अहिले उनले यहाँका कन्र्सटहरुमा बजाउने अर्को बाजा हो । उनले यहाँको म्युजिक र नेपाली म्युजिकलाई फ्युजन गरेर त्यसमै आफुनो भुमिका बनाउने योजनामा छन् । उनका यस्ता फ्युजन म्युजिक र म्युजिक थेरापी प्रस्तुती युट्युवमा पनि सुन्न सकिन्छ ।

अहिले आफुले म्युजिक थेरापीको प्रोडक्सन गर्ने काममै धेरै समय दिइरहेको बताए । त्यसबाहेक उनले बाँसुरी सिक्न चाहने नेपाली र विदेशीहरुलाई अनलाइनबाट सिकाउने पनि गर्छन् । आफुलाई सम्पर्क गरेर अनलाइनबाट बाँसुरी सिक्न धेरैले चाहना राखिरहेको उनले बताए । यसरी बाँसुरी सिक्न चाहनेहरुमा नेपाली र विदेशीहरु रहेको उनले बताए ।
अहिलेसम्म बाँसुरीलाई यहाँ स्थापित गर्न मेहनत गर्न लागिपरेका कटुवालले आर्थिक रुपमा भने त्यति राम्रो प्रगति गर्न नसकेको बताउँछन् । नेपालबाट धेरै जना काम मात्रै गर्न बिदेश आउँछन तर मेरो त्यति मात्रै उद्देश्य थिएन, उनी भन्छन मैले संगीतमै केहि गर्न चाहान्छु र जे गरिरहेको छु यसैमा खुसि र सन्तुष्ट छु । यहाँ बसेर अरु पैसा कमाउने काम मात्रै गरको भए मैले मेरो मनलाई र इच्छालाई मार्नु पर्ने हुन्थ्यो उनले भने म मनलाई खुसी बनाउने तिर धेरै ध्यान दिइरहेको छु ।

युट्युवमा रहेका उनका केही प्रस्तुतीहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *