• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

आईपीयूको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा स्पेनमा

Byspainnepal

Nov 25, 2021

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा सहितको नेपाली प्रतिनिधिमण्डल स्पेन आइपुगेको छ ।सभामुख सापकोटा नेतृत्वको नेपाली टोलीमा प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी, राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी र अगमप्रसाद वान्तवा राई रहेका छन् ।

यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखज्युको प्रमुख स्वकीय सचिव अर्जुन खत्री के.सी. कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ रहेका छन। नेपाली प्रतिनिधिमण्डललाई स्पेन स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अर्जुन अधिकारी लगायतले म्याड्रिड स्थित बाराखास बिमानस्थलमा स्वागत गर्नु भयो।

आईपीयू र स्पेनको संसदको आयोजनामा यही मंसिर १० देखि १४ सम्म स्पेनको म्याड्रिडमा १४३औं आईपीयू सम्मेलन हुँदै छ । सम्मेलनमा सभामुख सापकोटाले २८ नोभेम्बरका दिन बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामुखको टोली सम्मेलन सकेर यही मंसिर १६ गते स्वदेश फर्कने सभामुखको सचिवालयले जनाएको छ ।

यसैबिच मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरुले स्पेनको मड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को सभामा नेपालका सभामुख अग्निप्रसाद सापकोटालाई सहभागी नगराउन आयोजकलाई आग्रह गरेका छन् ।

नोभेम्बर २६ देखि ३० (मंसिर १० देखि १४) सम्म स्पेनको मड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सभाका लागि सभामुख सापकोटालाई पनि निमन्त्रणा छ । तर जवाफदेही निगरानी समूहसहितका संस्थाले सापकोटालाई दिएको निमन्त्रण फिर्ता लिन आयोजकसँग माग गरेको छ । सशस्त्र द्वन्द्वको समयमा भएको एक हत्याको घटनामा सभामुख सापकोटाविरुद्ध प्रहरीले गरेको अनुसन्धान तामेलीमा रहेको भन्दै जवाफदेही निगरानी समूहले स्पेन सरकारलाई सापकोटालाई देश प्रवेशमा प्रतिबन्ध लगाउन र अन्तर्राष्ट्रिय अपराधको विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत अनुसन्धान सुरु गर्न आग्रह गरेको छ ।

सभामुख सापकोटामाथि सन् २००५ अप्रिलमा काभ्रेका अर्जुनबहादुर लामाको हत्या आरोप छ । जवाफदेही निगरानी समितिका संयोजक चरण प्रसाईले अन्तर व्यवस्थापिका संघका अध्यक्ष, स्पेनका विदेशमन्त्री र नेपालसमेत हेर्ने दिल्लीस्थित स्पेनको दूतावासलाई पनि पत्र लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *