• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

अस्ट्रेलिया पठाउन लागेको भ्याक्सिन इटालीले रोक्यो

Byspainnepal

Mar 5, 2021

रोम । अस्ट्रेलिया पठाउन लागिएको कोरोनाभाइरसविरुद्धको अक्सफोर्ड आस्ट्राजेनेका खोपमा इटाली सरकारले रोक लगाइदिएको छ । इटाली सरकारको यस निर्णयले इटालीस्थित एस्ट्राजेनेकाको कम्पनीमा उत्पादन गरिएको २ लाख ५० हजार खोप पठाउने योजना प्रभावित भएको छ । युरोपेली संघ (ईयू) को नयाँ नियम प्रयोग गर्दै कदम चाल्ने इटली पहिलो युरोपेली देश बनेको छ । उक्त नियममा यदि कम्पनीले ईयूलाई दिने वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ ।
अस्ट्रेलियाले आफूले तीन लाख खोप प्राप्त गरिसकेको र आउँदो महिनादेखि स्थानीय रूपमै खोप उत्पादन गरिने जनाएको छ । अस्ट्रेलियाको स्वास्थ्य मन्त्रालयले इटालीमा खोप रोकिएका कारण आउँदो साताको खोप वितरण योजना प्रभावित नहुने बताएका छन् ।
अस्ट्रेलियाले एउटा खेप आफूले पाउन नसक्दैमा खोप अभियान प्रभावित नहुने बताएको छ । अस्ट्रेलियाले गत सातादेखि फाइजर/बायोएनटेक प्रयोग गर्दै खोप अभियान सुरु गरेको छ ।
इटलीको कदममा युरोपेली आयोगको साथ रहेको जनाइएको छ ।
एस्ट्राजेनेका यो वर्षको पहिलो तीन महिनामा दिने भनि सम्झौता भएको ४० प्रतिशत खोप सदस्य राष्ट्रहरूलाई उपलब्ध गराउने चरणमा छ । उसले उत्पादनमा आएको समस्यालाई ढिलाइको कारण बताएको छ । जनवरीमा इटालीका तत्कालीन प्रधानमन्त्रीले एस्ट्राजेनेका र फाइजर दुवैले खोप आपूर्तिमा गरेको ढिलाइ अस्वीकार्य भएको बताउँदै कम्पनीहरूमाथि करार उल्लंघन गरेको आरोप लगाएका थिए ।
खोप अभियानको सुस्त गतिलाई लिएर ईयूको व्यापक आलोचना भइरहेको छ । गत वर्षको जुनमा स्थापित ईयू खोप योजनाअन्तर्गत उसले सदस्य राष्ट्रहरूको तर्फबाट खोप खरिद गर्ने सम्झौता गरेको थियो ।
इटालीको कदमबारे ईयू र एस्ट्राजेनेकाको तर्फबाट औपचारिक प्रतिक्रिया भने आएको छैन । – बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *