• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

मुस्कान खातुनलाई अमेरिकाले दियो साहसी महिला अवार्ड

Byspainnepal

Mar 5, 2021

काठमाडौं । एसिड आक्रमणमा परेर एसिड पीडितकै पक्षमा संघर्ष गर्दै आएकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्राप्त गरेकी छन् । हरेक वर्ष विश्‍वभरका साहसी महिलाहरुलाई प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड पाउने मुस्कान पहिलो नेपाली बनेकी छन् । सन् २००७ बाट सुरु गरिएको यो अवार्डका लागि विश्‍वभर विभिन्‍न मुलुकमा रहेका अमेरिकी दूतावासहरुले उम्मेदवार सिफारिस गर्ने गर्दछन् । यस वर्ष नेपालस्थित अमेरिकी दूतावासको सिफारिसमा परेकी मुस्कानले यो अवार्ड प्राप्त गर्न सफल भएकी हुन् ।
अमेरिकी दूतावासले ट्विटरमार्फत मुस्कानले एसिड आक्रमण अन्त्यका लागि उनले गरेको पहल र संघर्षका लागि यो अवार्ड प्रदान गर्न लागिएको जनाएको छ ।
दूतावासले भनेको छ, “धेरै धेरै बधाई । मुस्कानले अमेरिकी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्राप्त गर्न लागेको घोषणा गर्दा निकै खुसी लागेको छ । यो अवार्ड एसिड आक्रमण अन्त्यका गर्न उनले गरेको संघर्षका लागि यो अवार्ड प्राप्त गर्न लागेकी हुन् । उनी यो अवार्ड प्राप्त गर्ने महिलो नेपाली र एक कम उमेरको महिला हुन् ।”

मुस्कानलाई २०७६, भदौ २० गते बिहान स्कुल जानेक्रममा दुई किशोरले एसिड आक्रमण गरेका थिए । वीरगञ्ज महानगरपालिकाका-३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कानले एसिड आक्रमण अन्त्य गर्नुपर्छ भन्‍दै अभियान नै सुरु गरेकी थिइन् ।
मुस्कानकै पहलमा एसिड आक्रमण गर्नेविरुद्ध कडा कानुन
उनको अभियानकै कारण सरकारले एसिड आक्रमण गर्नेलाई कडा दण्डको व्यवस्था गरिएको छ । नयाँ कानुनमा एसिड आक्रमण गर्नेलाई अधिकतम २० वर्ष जेल सजाय र १० लाख जरिवाना हुने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका प्रावधानहरू राखिएको छ ।
सरकारले एसिडको खुला विक्री वितरणमा प्रतिबन्ध लगाउने, एसिड आक्रमण गर्नेलाई कडा सजाय दिने र पीडितलाई निशुल्क शिक्षा र रोजगारी उपलब्ध गराउने गरी नयाँ कानुन ल्याएपछि त्यसले पीडामा मलमको काम गर्ने अपेक्षा गरिएको छ ।
नयाँ व्यवस्था अनुसार एसिड आक्रमणसम्बन्धी मुद्दा जहिले दर्ता भएको भए पनि पहिलो प्राथमिकता दिनुपर्ने भएको छ । यो कानुनले पीडितहरूको निःशुल्क उपचार सुनिश्चित गरेको छ भने पीडितका नाममा कुनै पनि माध्यमबाट चन्दा सहयोग उठाउन पाइने छैन । त्यसरी चन्दा उठाउने व्यक्तिलाई पनि तीन महिनासम्म कैद वा पाँचहजारसम्म जरीवाना हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *