![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/09/B390CA15-3090-4D21-B285-0A8606CE883F-1024x555.jpeg)
स्पेनका विशेषज्ञ डाक्टरहरु सहितको स्वास्थ्य टोली निशुल्क स्वास्थ्य शिविर संचालन गर्न नेपाल प्रस्थान गरेको छ । लुम्बिनीमा शिविर संचालन गर्न लागेको डाक्टरहरु टोलीमा ४ जना विशेषज्ञ डाक्टरहरु रहेका छन ।
स्पेनको म्याड्रिडमा मुख्यालय रहेको लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विशेषज्ञ डाक्टरहरु सहितको स्वास्थ्य टोलीले नेपाल भ्रमण गर्न लागेको हो। निशुल्क स्वास्थ्य शिबिरका लागि लुम्बिनीमा सम्पूर्ण तयारी पुरा भएको कुरा नगर प्रमुख मनमोहन चौधरीले बताउनु भयो।फाउन्डेसनका उपाध्यक्ष गोबिन्द सुबेदीका अनुसार नेपालको स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिलसंग समन्वय गर्दै काम अगाडि बढेको र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/09/D71E0957-2791-4143-8B52-F1CCFEDF9DE6.jpeg)
सुबेदीका अनुसार स्पेनबाट स्त्री रोग विशेषज्ञ डा. जुआन मार्कोस ओर्डेनेस गोन्जालेज, डा. खोसे रामोन फुएन्तेस मोरान, डा. येनिफर तातियाना मोरेनो सलजार र नर्स सेसीलिया राकेस रिभास भ्रमण टोलीमा सहभागी छन् भने नेपालबाट पनि अन्य 3/4 जना डाक्टरहरु स्वास्थ्य शिबिरमा सहभागी हुने छन्!
लुम्बिनी साँस्कृतिक नगरपालिकाभित्र गरिब, उत्पीडित, बिपन्न र पिछडिएका बर्गहरुलाई सेवा पुर्याउने उद्देश्यले शिविर संचालन गर्न लागिएको हो। लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक ठानेका ठाउँहरुमा शिविर संचालन गरिने छ। लुम्बिनी साँस्कृतिक नगरपालिकाको अनुरोधमा लुम्बिनीमा एक अत्याधुनिक अस्पताल बनाउन पहल भईरहेको फाउन्डेसनका महासचिब एकराज गिरीले बताउनुभयो ।
अन्तर्राष्ट्रिय स्तरबाट आर्थिक, प्राविधिक सहयोगका लागि पहल भई रहेको र त्यसको प्रारम्भिक चरणको रुपमा अहिले स्वास्थ्य शिविर संचालन हुँदैछ। सबै प्रक्रियाका लागि नेपाल सरकारले पूर्ण सहयोग गर्ने अपेक्षा रहेको गिरीले बताउनुभयो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन स्पेन बीच विगत ४ बर्ष देखि सहकार्य हुँदै आएको छ। बुद्धको शान्तिको सन्देश विश्वभर फैलाउने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार एवम् अनुभवको आदानप्रदान तथा लुम्बिनीको विकासको लागि अन्तर्राष्ट्रिय सहयोग भित्राउन पहल भैरहेको उहाँले बताउनु भयो। फाउन्डेसनकै पहलमा लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्पेनको म्याड्रिड तथा क्याथेरस नगरसँग छुट्टाछुट्टै रुपमा भगिनीसम्बन्ध जोडेको छ। नेपाल सरकार र लुम्बिनी सांस्कृतिक नगरपालिकाले जग्गा उपलब्ध गराउने प्रकृया सुरु गरेको र त्यो निर्णय हुने बित्तिकै हस्पिटल निर्माण प्रकृया अगाडि बढ्ने गिरीले बताउनु भयो। स्पेनबाट डाक्टरहरु संगै लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका अध्यक्ष जोसे मानुयल भिलानोभा र महासचिब एकराज गिरी पनि लुम्बिनीमा स्वास्थ्य शिबिर संचालनका लागि संगै नेपाल जानु भएको छ ।