• Fri. Mar 1st, 2024

SPAIN NEPAL COM

विदेशमा हुर्कने नेपाली बालबालिकालाई कहिले र कसरी भाषा सिकाउने?

Byspainnepal

Feb 19, 2021
????????????????????????????????????
पंचम अधिकारी

प्रवासमा बस्ने अभिभावकलाई पर्ने एउटा ठूलो द्विविधा हो- कहिले र कसरी नानीबाबुलाई आफ्नो भाषा सिकाउने?

प्रवासी जीवन भएकाले घरमा एउटा भाषा हुन्छ र स्कुलमा अर्कै भाषा बोल्नुपर्छ। सिक्नुपर्छ। स्कुलको भाषामा नानीहरूको शैक्षिक भविष्य अडिएको हुन्छ। घरायसी भाषामा अपनत्व जोडिएको हुन्छ।

घरमा नेपाली र स्कुलमा अर्को भाषा बोल्नुपर्ने नानीबाबुहरूलाई कुन भाषा प्राथमिकतामा राख्ने? अहम् प्रश्न सधैं लट्किरहेको हुन्छ। अनि यी नै प्रश्नहरू वरिपरि अनेकन् मिथक कथाहरू घोलिएका हुन्छन्।

विदेशमा नेपालीहरूको संख्यात्मक रूपमा विस्तार भए पनि त्यो अनुपातमा प्यारेन्टिङको विकास हुन सकेको छैन। विदेशमा बसेर पैसा कमाउनु र प्यारेन्टिङको मूल्यको बोध हुनु एउटै कुरो होइन।

एउटा प्रचलित कथानात्मक सुझाव के हो भने बच्चाले स्कुलमा जुन माध्यममा पढ्छ, त्यही भाषा रटाउनु पर्छ। अनि अर्को प्रचलित मान्यता के पनि देखिन्छ भने आफूले नजाने पनि विदेशी भाषामा टुटेफुटेको पाठ पढाउने।

जस्तो कि, अभिभावकले मझौला स्तरको अंग्रेजी जानेको छ, अनि उसले बच्चालाई उन्नत नेपाली अभिव्यक्ति सिकाउन छोडेर मझौला स्तरको अंग्रेजी सिकाउँछ।

प्रवासी वास्तविकता के हो भने हरेक अभिभावकको आफ्नै विशेष बाध्यात्मक परिस्थिति हुन्छ। यस्तो परिस्थितिमा अर्थशास्त्रीय र वाकशास्त्रीय दृष्टिकोणबाट पर राखेर प्वाक्क दिइने सुझाव टुक्रे हुन्छ।

अंग्रेजी बोल्ने देशमा आफ्नै खालको विशेष वास्तविकता हुन्छ भने युरोप र जापान लगायतका गैरअंग्रेजी भाषी देशहरूको अर्कै खाले विशेष परिस्थिति हुन्छन्। यो पंक्तिकार स्वयं बेल्जियममा बस्ने अभिभावक भएको नाताले नानीबाबुहरूको भाषिक कठिनाइलाई नजिकबाट अवलोकन गरिरहेको हुन्छ। मैले थुप्रै परिवारको समस्यालाई ‘केस स्टडी’ का रूपमा पर्यवेक्षण पनि गरिरहेको छु।

छोटकरीमा भन्दा जुन बच्चा घरमा नेपाली बोल्छन् र अर्कै माध्यमको भाषामा अध्ययन गर्छन्, ती बच्चाहरूको भाषिक प्रगतिमा मिश्रित नतिजा देखिएका छन्। एकथरि बच्चाहरू २/३ भाषा सानै उमेरदेखि फटाफट ग्रहण गर्न सकेका देखिन्छन् भने अर्काथरि बच्चाहरूमा दोस्रो भाषाको प्रगति मन्द गतिमा भइरहेको हुन्छ।

जसले गर्दा स्कुलको भाषा र घरको भाषा दुवैमा टाकनटुकन बोल्न सक्ने तर कुनैमा पनि पारंगत हुन ढिलाइ हुने, र व्यवधान हुने जस्ता समस्याहरू देखिएका पाइन्छन्।

थुप्रै नेपाली अभिभावकका बच्चाहरू भाषाकै कारण कक्षामा कमजोर हुने र नियमित ‘वाक-चिकित्सा’ (लोगोपेदिक्स) को पाहुना हुनुपर्ने अवस्थाहरू देखिएका छन्। सन्तानको उज्यालो भविष्यका लागि विकसित देशमा बस्नुपर्छ भन्ने अभिभावकहरूका निम्ति यस्तो समस्या दुःस्वप्न बन्ने गरेको छ।

तर बच्चाको भाषिक समस्या द्विभाषी हुनुको कारणले मात्र होइन। यसमा आर्थिक, सांस्कृतिक, पारिवारिक र अभिभावकहरूको शिक्षास्तरले पनि ठूलो भूमिका खेलेको हुन्छ। नेपालको एउटा अर्कै वातावरणमा हुर्केको अभिभावकहरूका निम्ति विदेशको नवीन संसार हताशपूर्ण हुनु अस्वाभाविक होइन।

यो किन पनि अस्वाभाविक होइन भने भाषाका अलावा संस्कृति र मनोदृष्टि समेत नितान्त फरक छन् पश्चिमा देशमा। विदेश जति टाढा छ, त्योभन्दा टाढा छ हाम्रा सांस्कृतिक मूल्य र सोचका मान्यताहरू। तर यहाँ चर्चा गर्न खोजिएको कुरा भने भाषाको भंगालो नै हो।

कतिपय सन्दर्भमा प्रविधिको यथोचित प्रयोगले पनि नानीबाबुहरूको शिक्षण क्षमतामा फरक पार्छ। अमेरिकाको मियामी विश्वविद्यालयकी प्राध्यापक डा. लेना लीले एउटा उदाहरण प्रस्तुत गरेकी छन्- कतिपय परिवारमा प्राविधिक उपकरण हुन्छ, तर तिनले फरक-फरक रूपमा त्यसको प्रयोग गर्दा बच्चाको मानसिक विकासमा फरक-फरक असर पारेको हुन्छ।

एउटा परिवारमा ट्याब्लेट वा आइ-प्याड हुँदा बच्चाले त्यो प्राविधिक उपकरण मनोरंजन वा बेबी सिटिङको निम्ति उपभोग गरिरहेको हुनसक्छ। अर्को परिवारमा त्यही उपकरण शिक्षा वा विद्याका निम्ति प्रयोग भइरहेको हुनसक्छ।

उनले अर्को उदाहरण दिएकी छन्- पढेलेखेका अभिभावकहरूले बच्चालाई गणना, शब्दावली, पठन र लेखन जस्ता अवधारणाहरू बेलैमा चिनाएका हुन्छन्। भाषा फरक भए पनि यी पठित अभिभावकहरूले बच्चालाई शिक्षाका आधारभूत धारणाहरू डिनर टेबल र शयन समयका बखत समेत सिकाइरहेका हुन्छन्।

जसले गर्दा स्कुलमा ती बच्चाहरूले छिट्टै टिप्छन्। तर मोबाइल, टिभी र भिडिओ गेमहरूमा भुलेर हुर्केका बच्चाहरू स्कुल जाँदा सहपाठीहरूको तुलनामा पीछडीसकेका हुन्छन्।

अस्ट्रेलियाकी एक शिक्षाविद्ले भनेकी छन्- ‘नानीहरूलाई २/३ भाषामा एकै चोटि सिकाउनु राम्रै हो, तर त्यसका निम्ति जोडबल गर्नु हुँदैन। सबै नानीहरूले एकै रफ्तारमा सिक्छन् भन्ने छैन।

स्कुले भाषा बाहेक अन्य भाषा बोलीचालीमा समावेश गर्दा हुन्छ। तर नानीहरूले दोस्रो भाषा बोल्न असहज गरे करकाप गर्नु हुँदैन। एकै चोटि २/३ भाषा सिकाउने भनेर करकाप गरे पनि भाषिक विकास नहुन सक्छ र पहिलो भाषामा नै अपेक्षित सफलता नपाउन सक्छ।’

उनले आफूले अनुसन्धानमा भेटेको एउटा उदाहरण दिएकी छन्- ‘कुनै बच्चाको एक भाषामा ४००० शब्द ज्ञान छ र उसले धेरै कुरा रफ्तारमा आफ्नै सोचको वेगअनुसार भन्न सक्छ। त्यस्तै अर्को त्यही उमेरको बच्चाले २ भाषा बोल्दा उसका अभिभावकहरूलाई २ भाषा सिकाएको गर्व हुन्छ।

खासमा अनुसन्धान क्रममा त्यस बच्चाले पनि ४ हजार शब्द मात्र जानेको देखियो, र हरेक भाषामा २/२ हजार शब्दभण्डारको आडमा अभिव्यक्त गरेको पाइयो। जसले गर्दा ऊ तुलनात्मक रूपमा सीमित क्षमतामा बोलिरहेको र आफ्नो कुरा विस्तृत क्षितिजमा भन्न असमर्थ देखियो। फलस्वरूप दोस्रो बच्चाको अभिव्यक्ति क्षमता पहिलो बच्चाको तुलनामा कमजोर पाइयो।’

तर एकथरि भाषाविद्हरू नानीहरूसँग धेरै भाषा बोल्दा राम्रै हुने दावी गर्छन्। उनीहरूले एक सय मिटरको दौड र म्याराथन दौडका बीचमा तुलना गरेका छन्। धेरै भाषा सिक्ने बच्चाहरू दीर्घकालमा विजेता हुन्छन् भन्ने उनीहरूको भावार्थ छ।

यी शिक्षाविद्हरू, बच्चाहरूले २/३ भाषा मिसाएमा आत्तिन नहुने बताउँछन्। उनीहरूको तर्क के छ भने स्कुलको भाषामा पारंगत हुन स्कुलको समय उनीहरूका निम्ति पर्याप्त हुन्छ। घरमा आमाबाबुले आफ्नै भाषामा बोल्दा बच्चाको अभिव्यक्ति कला उन्नत हुन्छ।

बेलायतकी भाषा थेरापिस्ट क्याथरिन पाप भन्छिन्- ‘२ वा २ भन्दा बढी भाषा सिकेका बच्चाहरूको मानसिक विकास, आत्मविश्वास, भलाइ र सिक्ने सीपमा थप सहयोग मिल्छ।’ उनको सुझाव के छ भने एउटा भाषामा सोद्धा अर्को भाषामा उत्तर दिने बच्चाका बारेमा धेरै परेशानी दिनु पर्दैन। समयक्रममा उनीहरूले सिक्दै जान्छन्।

उनको तर्क छ- ‘घरायसी भाषाले नानीहरलाई आफ्नो संस्कृति र अपनत्वप्रति नजिक ल्याउँछ।’ तर उनको थप सुझाव छ- खास भाषा सिक्नको निम्ति जोडबल गर्दा त्यसप्रति वितृष्णा पनि हुन सक्छ। त्यसैले बच्चालाई धेरै भाषा त सिकाउनु तर करकाप नगर्नु।’

एकै पटक धेरै भाषा सिकाउने अभिभावकहरूका निम्ति वाक्-चिकित्सकहरूले ‘एक अभिभावक एक भाषा’ को दृष्टिकोण अपनाउन सल्लाह दिएका छन्। उनीहरूका अनुसार साना नानीहरूले मान्छेको फरक अनुहार देखेपिच्छे एक भाषाबाट अर्को भाषामा स्विच गर्न सक्छन्।

तर एउटै मान्छेले बहुभाषा बोल्यो भने झुक्किन्छन्। त्यसैले बहुभाषा सिकाउने घरमा बाबुले सदैव एउटा र आमाले सदैव अर्को भाषा बोली दिने हो भने नानीहरूलाई सजिलो हुन्छ।

धेरैजसो नानीबाबुहरू ७/८ वर्ष भएपछि मिश्रित भाषा बोले पनि भाषा अनुसरण गर्न सक्छन्। त्यसैले बच्चाहरूलाई दोस्रो भाषा सिकाउन ७/८ वर्षसम्म हेर्ने र पर्खने गर्दा राम्रै हुन्छ। त्यसपछि पनि नानीबाबुहरूले क्रमशः भाषिक दक्षता हासिल गर्दै जान्छन्। सायद यसैलाई उनीहरूले भाषिक म्याराथुन भनेका हुन्।

यी भाषाविद् र शिक्षाविद्हरू आफ्नो विरासतको भाषा सिकाउन धक मान्न नहुने र ढिलो गर्न नहुने तर्क गर्छन्। आफ्नो भाषामा जुन आत्मियता र गहन छलफल हुनसक्छ, त्यो अर्को भाषामा हुँदैन। थुप्रै प्याथोलोजिस्टहरूले बच्चासँग आफ्नै मातृभाषामा बोल्न जोड दिएका छन्।

अर्कै भाषामा बोल्ने अभिभावकहरूसँग किशोरकिशोरीहरू ‘भावानात्मक रूपमा टाढा’ र ‘गहिरो छलफलमा नबाँधिने’ गरेको पाइएको निष्कर्ष सन् २००० मा प्रकाशित चेङ र फुलिग्नीको अनुसन्धान-अध्ययनमा उल्लेख छ।

अस्टीन (टेक्सास) को एक बिलिङ्ग्विस्टिक प्याथोलोजी टिमले गरेको अनुसन्धानमा पनि यस्तै खालको नतिजा पाइएको थियो। उनीहरूका अनुसार दुई भाषा बोल्ने बच्चाहरूको कुन भाषा राम्रो भनेर जाँच्न पनि गाह्रो हुन्छ। जस्तो कि स्कुले वातावरणमा हुँदा अंग्रेजी (वा फ्रेन्च) राम्रो होला र घरायसी वातावरणमा हुँदा नेपाली।

जे होस्, आफ्नो हालतस्थिति र वस्तुस्थिति अनुसार उनीहरूको विकास हुने हो। घरमा एक भाषा र स्कुलमा अर्को भाषा बोल्नुपर्ने वास्तविकतालाई परिवर्तन गर्न सकिँदैन।

बस्! कुन परिप्रेक्ष्यमा कुन दृष्टिकोण अपनाउने? कुन कुरालाई प्राधान्यता दिने? कुन प्रविधिलाई कसरी प्रयोगमा ल्याउने? भन्ने कुरामा भने अभिभावकहरू सूचित हुनैपर्छ।

[सेतोपाटीबाट]

Leave a Reply

Your email address will not be published. Required fields are marked *