![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/03/EE931DB5-B904-4B4A-82F9-56FBAE14014E-1024x683.jpeg)
प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउनु भएको छ । नेपाल सरकारले आजदेखि ३५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उहाँकी धर्मपत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी खोप लगाउनु भएको हो । उहाँहरुलाई अस्पतालमा कार्यरत नर्स सिर्जना भूमीले खोप लगाइदिनुभएको थियो ।
खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूलाई सँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सरिक हुन आग्रह गर्नुभयो । ‘ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रह छ’, प्रधानमन्त्रीको भनाई थियो ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/03/C115536B-F66D-424E-993F-95BBAA09E65F-1024x683.jpeg)
खोप लगाएपछि केही बेर शरीरमा एलर्जी वा अन्य कैफियत देखिन सक्ने भएकोले प्रधानमन्त्रीले केही बेर अस्पतालमा बस्नुभएको थियो । त्यसपछि संचारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्रीले कोभिड १९ विरुद्धको लडाँई अब खोपको चरणमा पुगेको बताउनु भयो । आफूलाई खोप लगाएपछिका कुनै साइडइफेक्ट नदेखिएको बताउँदै ओलीले सबैलाई ढुक्क भएर खोप लगाएर कोभिड पराजित गर्ने अभियानमा सामेल हुन आह्वान समेत गर्नुभयो । ’आत्तिनु पर्दैन, यसबाट अहिलेसम्म कुनै त्यस्तो ठूलो नोक्सान भएको छैन’, प्रधानमन्त्रीको भनाई थियो ।
शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीले खोप लगाउनुभए लगत्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा लेखराज भट्ट तथा प्रधानमन्त्रीका सल्लाहकारहरु र स्वकीय सचिवालयमा कार्यरतहरुले पनि खोप लगाउनुभएको थियो ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/03/C6F982D9-4731-43B2-9AD3-6DF4823FF46A-edited-scaled.jpeg)