• Tue. Apr 16th, 2024

SPAIN NEPAL COM

तेक्वान्दो खेलाडी श्रीधरको स्पेन बसाई

Byspainnepal

Jan 11, 2021

काठमाण्डौं नैकापका श्रीधर भुजेल स्पेन बस्न थालेको दश बर्ष पुरा भयो । तर उनलाई यो बसाई बिरानो लाग्छ, जतिवेला पनि उनको दिमागमा त्यहि कुरा खेलिरहन्छ जुन उनी पहिले नेपालमा खेल्थे । नेपालमा लामो समय तेक्वान्दो खेलमा आफ्नो समय दिएका श्रीधर अहिले ति सवै कुरालाई विगत सम्झदै बाध्यात्मक रुपमा अंगालेको पेशा रेष्टुरेन्ट ब्यबसायमा भ्याइनभ्याइ गरेर लागिरहेका छन् । हाम्रो छोटो भेटमा पनि उनी स्पेनको खाविया स्थित आफ्नो रेष्टुरेन्टमा ग्राहकलाई सेवा दिन दौडिरहेका देखिन्थ्ये ।

उनको त्यही ब्यस्त समयमा पनि हामीले थोरै समय लियौं र सोध्यौं तपाई किन विदेश आउनुभयो ? उनले भने – कहानी लामो छ । हामी त उनको कहानी लामै भएपनि सुन्ने मुडमा थियौ । र उनले शुरु गरे आफ्नो बाध्यताको कहानी ।
बालापनदेखि नै खेलकुदमा रुचि भएपनि त्यती बेलाको समयमा खेल्न र त्यस अनुसारको अवसर तथा तालिमको उपलब्धता थिएन । र पनि गाँउ टोलमा हुने अनेकथरीका खेलकुदमा उनको रुचि र सहभागिता त भयो नै । तर उनको जीवनले नयाँ मोड तब लियो जव उनी बिक्रम सम्बत २०५१ सालमा नेपाल आर्मीमा भर्ना भए । उनको रुचि खेलकुद र त्यसमा पनि तेक्वान्दोमै थियो । र आर्मीमा जानुको उनको उद्देश्य पनि आफ्नो मनमा भएको खेलकुद भुतलाई सान्त बनाउनु नै थियो यानिकी अबसरको खोजीमा । त्यहाँ जाने बित्तिकै उनले आफ्नो रुची र क्षमताको बारेमा बताए र त्यतिबेलाका आर्मीका खेलकुद प्रशिक्षकहरुले उनको कुरा सुने र आर्मीको खेलकुद विभाग त्रिभुवन आर्मी क्लबमा भर्ना गरे । अनि श्रीधरको आधा सपना पुरा भयो । उनले त्यहाँ नेपालको तेक्वान्दोका प्रख्यात प्रशिक्षकहरु शेरबहादुर मगर, मानबहादुर शाही लगायतसंग तेक्वान्दोको प्रशिक्षण लिए ।

त्यसक्रममा उनी देशका विभिन्न स्थानमा हुने प्रतियोगितामा सहभागी भए र कतै प्रथम, कतै दोश्रो र कतै तेश्रो भए । त्यति बेलाको स्मरण गर्दै उनी भन्छन् “हामीलाई देशका अनेक ठाँउमा हुने प्रतियोगिता भ्याउन हम्मे हम्मे पथ्र्यो ।” यसक्रममा उनी राष्ट्रिय अन्तराष्ट्रिय रुपमा आयोजना भएका विभिन्न प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट सहभागी भए । यही सिलसिलामा उनले २०५४ सालको नेशनल गेममा नेपाल आर्मीको तर्फबाट गोल्ड मेडल जिते जुन उनको जीवनकै सवै भन्दा मिठो अनुभव हो । त्यो समयलाई सम्झदै उनले कुराकानीका क्रममा आखाँबाट आँशु नै निकाले । त्यो आँशु केही खुसीको थियो त केही बिछोडिएको बिगतको सम्झनामा झरेको थियो ।
यहि क्रममा उनी काठमाण्डौंमै भएको आठौं दक्षिण एसियाली गेममा सहभागी हुने अबसर पाए । यसमा पहिलो पटक तेक्वान्दो र कराते समाबेश गरिएको थियो । र नेपालले पाएको ३१ वटा स्वर्ण पदक मध्ये २८ वटा तेक्वान्दो र करातेबाटै थियो । तर त्यो समय श्रीधरले आफ्नो दुर्भाग्य मान्छन् छनोटमै कास्य पदकमै चित्त बुझाउनु पर्यो । यही क्रममा उनले तेक्वान्दोमा ब्ल्याक बेल्ट सहित फस्ट डन र सेकेन्ड डनको प्रमाणपत्र पाइसकेका थिए ।

आर्मी क्लबमा रहेर विभिन्न प्रतियोगितामा सहभागिता हुनु र त्यहाँ पाउने सफलता र असफलता त खेलकुदको एउटा नियम थियो र जुन कुरामा उनी रमाउथे पनि । तर नेपालमा खेलकुदलाई हेर्ने दृष्टि र खेलकुदमा लागेर हुने आर्थिक प्रगती दयनिय नै थियो । उनी भन्छन् “अहिले त धेरै राम्रो भएको छ नेपालमा, हाम्रो पालामा त चनाको भरमा खेल्नुपथ्र्यो , अझ त्यो पनि हामी आर्मीमा भएर हो अरु खेलाडि त भोकै पनि खेले की ?” नेपालमा खेल र खेलकुदको क्षेत्रमा लागेका ब्यक्तिहरुलाई अझै पनि पुर्ण रुपमा त्यसैमा निर्भर भएर जीवनयापन गर्न गा¥हो छ । आर्मी, पुलिस, सशत्र को विभागीय टिममा रहने खेलाडीहरुलाई केही सहज भएपनि त्यो जीवन यापनको लागि मात्र हो । थप आर्थिक प्रगतिका लागि उनीहरुले पनि बैकल्पिक बाटो नै रोज्नुपर्छ । यिनै मध्येका एक हुन श्रीधर पनि । यसै क्रममा अरु अबसरको खोजी गर्दै जादाँ उनले राम्रो तलब र सुबिधाको अबसर सहित मकाउ जाने मौका पाए । खेलकुदलाई अगाडि बढाउने उनको चाहना हुदाँहुदै पनि आर्थिक समस्याका कारण उनी मकाउ जाने निधोमा पुगे र आर्मीबाट राजिनामा दिएर पैसा कमाउन भन्दै मकाउ हानिए । त्यहाँ ७/८ बर्ष रहँदा पैसा त कमाए तर मन भरिएन किनभने उनको नसानसामा तेक्वान्दो नै थियो । मकाउमा रहँदा पनि उनले विभिन्न प्रतियोगितामा भाग लिए तर काम र खेलकुद संगसंगै अगाडी बढाउन धेरै गार्हो थियो । त्येसैले उनले त्यसमा धेरै समय दिन पाएनन् । नेपालमा उनी खेल्दै गर्दा त्यतिबेला दीपक बिष्ट , संगिना बैद्य लगायतका खेलाडी चर्चित थिए । श्रीधरलाई पनि त्यस्तै हुने मन थियो तर समय र बाध्यताले उनलाई बिदेश डोर्यायो । केहि समय मकाउ बसेपछि उनी फेरी नेपाल फर्के र फेरी खेलकुदलाई नै अगाडी बढाउनले सोंच बनाए । तर समय ढिलो भैसकेको थियो । उनी भन्दा जुनियरहरु धेरै अगाडि बढिसकेका थिए । त्यसैले उनको मन भएपनि समयले साथ दिएन र फेरी विदेश नै जाने सोँचे र सन् २०१०मा स्पेन आए । स्पेनमा उनका दाई सुरेन्द्र भुजेल र परिवार पहिलेदेखि नै स्थापित भैसकेकोले केही सहज भयो । शुरुमा स्पेनको बेनीडर्ममा केएफसीमा काम गरेको बताउने श्रीधर अहिले खावियामा आफ्नै रेष्टुरेन्ट चलाएर बसेका छन् । श्रीमती, एक छोरा र एक छोरी सहित अहिले उनी विगतको खेलकुदको अनुभवलाई मनमा सङगालेर आफ्नो ब्यवसायमा लागिरहेका छन् ।
“आर्थिक रुपमा त सन्तुष्ट नै छु, तर कताकता केही नपुँगेको जस्तो लाग्दो रहेछ” उनी भन्छन “सायद नेपाल देखिको खेलकुदमा भिजेको मनले नमानेर होकी ?”

अहिले पनि नेपाल आर्मीमा हुँदाका क्षण उनको दिमागमा आइरहन्छ । कुनै प्रतियोगिता जितेपछि हुने सामुहिक क्यापफायरको सम्झनाले अहिले पनि मन नेपाल तिरै तानिरहन्छ । “तर बाध्यता नै भयो भनौ अब चाहेर पनि ति दिन फर्कन सक्दैनन्” उनी अलि भावुक हुन्छन् ।
आफ्नो यो अबस्था आएपनि नेपालमा खेलकुदको क्षेत्रमा लागेका भाईबहिनीहरुले यो नियती भोग्न नपरोस भन्ने उनको चाहना छ । “नेपालमा खेलकुदमै लागेर परिवार पाल्न पनि गा¥हो छ” खेलकुदमा लाग्दालाग्दै उमेर बित्छ, अनि आफ्नोबारेमा कहिले सोच्ने ? त्यसैले अहिले पनि धेरै खेलाडीहरु बिदेश पलायन भएको सुन्छु । कोही अमेरिका गएर बसेका छन । कोही युरोपमा छन कोहि कता कोही कता ? उनी भन्छन– यो देशको माया नभएर या खेलकुदको सपना नभएर होइन की आफ्नो बाध्यताले हो । र अन्त्यमा उनी भन्छन “खेलाडीले त देशलाई माया गरेका छन र देशलाई दिएका पनि छन तर तिनै खेलाडी आफ्नो लागी भौतारिरहन परेको छ । देश चलाउनेहरुले यसबारे पनि केही सोचिदिए हुन्थ्यो । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *