मानव सभ्यताको विकास अचम्मको हुँदो रहेछ । जीवन कहाँबाट शुरु भएर कहाँ समाप्त हुन्छ कसैलाई थाहा हुदैन् । यसैक्रममा आफ्नो जन्मभुमि परिवार साथीभाई छोडेर परदेशी हुन कसैलाई रहर हुन्छ ? तर बाध्यताले गर्दा नै हो र यसको मुलकारण राजनैतिक अस्थिरता र बेरोजगारी समस्या नै हो । परदेशी जीवन संघर्षशिल मात्र होइन, कहिलेकाँही पानी बिनाको माछा झै छटपटाउनु पर्दो रहेछ । जुन स्पेन आएर ६ महिनासम्म कोही नेपाली पनि नभेट्दा एक्लोपनको छटपटी, आफ्नो भाषा नमिल्ने, मनका ब्यथा भन्न नपाईने, चाडपर्व, साथीभाई सवै सपना मात्रै हँुदो रहेछ । चाडपर्व आउदा अझ खल्लो लाग्ने रहेछ । यि सवै भोगाई पछि अवका पिडीले यस्तो भोग्न नपरोस भन्ने सोचाई राखेर नेपालीको खोजी गर्न लागे, जसको फलस्वरुप आमिक्स देल नेपाल भन्ने संस्था पत्ता लगाए, जहाँ पहिलो नेपाली भेट्दा मेरा आँखा रसाएका थिए । मलाई आफ्नै परीवार भेटेको जस्तो लाग्यो । उहाँको नाम अभि हो । उहाँले साथीहरु निर्मल, जगत, टासी भन्ने अरु साथीहरु प्नि चिन्नुहुँदो रहेछ । सवै मिलेर टासीजीको घरमा सामान्य नेपाली परिकारको साथमा दशै मनायौ । जुन दशैंको आनन्द फरक र स्पेशल थियो मेरो लागि, हामी केहि साथीहरु भेट भएपछि अब आउने चाडपर्व राम्रोसंग मनाउने र हाम्रो कला संस्कृतिलाई यहाँ देखाएर नेपाल चिनाउने सोच आयो र आमिक्स देल नेपालसंग ठाँउ मागियो । ठाँउ त दियो तर नेपाली साथीभाई कोही छैन् । तै पनि स्पेनिशहरुलाई जसोतसो नाँच्न र गाँउन त सिकाए तर तर नेपाली भाषाको गीत बुझ्ने दर्शक नभए पनि उनीहरुलाई नै दशै तिहारको महत्व बुझाए, गीतले भन्न खोजेको भावको अर्थ लगाउँदै कार्यक्रम गरियो ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2020/12/dik-3.jpg)
नेपाललाई माया गर्ने र नेपाली टुहुरा बच्चाहरुलाई ल्याउने परिवार धेरै भएकोले राम्ररी नै साथ दिएका थिए । त्यस अवस्थामा साथ दिने नेपाली हरु सवैको नाम नसम्झौला तर पनि राजु शाक्य, अनिल गुरुङ, अभि श्रेष्ठ, जगत कठायत, निर्मल श्रेष्ठ, पुण्य भण्डारी, छिरिङ दाई, पन्चन लामा, गोमा, प्रेम, सागर, विभुषण,पेम्वा, सुमन बहिनी आदि र स्पेनिश नागरिकमा मार्ता, मोनतसे, लाइया आदि हुनुहुन्थ्यो । यसरी थोरै र जटिल अबस्थामा सन् २००१ बाट नेपाली सांकृतिक कार्यक्रम शुरु गरियो । कहिले एक दिन नेपाली मात्र र नेपाली दर्शक मात्र भएको ठाँउमा कार्यक्रम गर्न पाइएला र सकिएला भन्ने कल्पना गर्दथे म त्यो समयमा । हामी जति थियौ सवैको मन मिल्थ्यो । आमिक्स देल नेपालको अरु कार्यक्रममा पनि हामी सहभागी हुन्थ्यौ ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2020/12/dik-2-1-1024x576.jpg)
यसैक्रममा बर्षेनी नेपालीहरुको संख्या स्पेनमा बढ्दै गयो । नेपालीको संख्या बढ्दै गएसंगै पेपर, भाषा र कामको समस्या पनि बढ्दै गयो । यसैक्रममा हामीले आमिक्स देल नेपाल संस्थासंग सम्झौता गरेर एक स्पानिश भाषा सिकाउने शिक्षकको ब्यवस्था गरियो । जसको नाम फिना थियो । उनले नेपालीलाई नाम लेख्न लगाए त्यतिबेला जम्मा १५ जनाको समुह भयो र कक्षा शुरु भयो । मलाई त्यतिबेलाको रोचक कुरा याद आउँछ १५ दिनपछि कोहि पनि कक्षामा उपस्थित भएनछन् अनि मलाई ति शिक्षिकाले खोई तिम्रा नेपाली त कोहि आएनन् कहाँ गए भनेर गाली गरिन् । मलाई लाज लाग्यो र मैले म सोध्छु भने, पछि बुझ्दा त सवैजना काममा लागेका रहेछन् । अब मलाई फसाद पर्यो उता ति शिक्षिकालाई के भन्ने भनेर । प्छि मैले फोन गरेर तिमी त धेरै सिपालु शिक्षिका रहिछौ सवै जना १५ दिनमा भाषामा फरफेट भएछन् त्यसैले नआएका रे भनेर भनिदिए अनि उनी हाँसिन् । त्यसैगरी नेपालीहरुलाई कानुनी परार्मश, वकिल वा तालिम निशुल्क प्रदान गर्ने ब्यवस्था गर्न प्रवेन्श भन्ने संस्था, जुन बार्सिलोनाको राभालमा छ, यसैमा ब्यवस्था गरियो । जुन संस्थाले अझै नेपालीको सेवा गर्दै आएको छ ।
यसरी नै समय बित्दै जाँदा २००३ को दशै भब्य हुन पुग्यो । त्यो दिन हल भरिएर बाटो सम्म उभिएर कार्यक्रम सफल भएको थियो । यो कार्यक्रममा अरु थप नेपाली साथीहरुको साथ र सहयोग रहेको थियो । जसमध्ये दीपक खरेल, विक्रम थापा, स्वर्गीय रामलाल कडेल, राजकुमार, सुब्बा, देवी सुवेदी, विमल गुरुङ, हर्क गुरुङ, किसान श्रेष्ठ, नेत्र कार्की, नारायण प्रसाई आदि । यसरी नेपालीको संख्या बढ्दै जाँदा एउटा नेपाली संस्थाको आवश्यक्ताको महशुस भयो । र २००४ मा यसको लागि प्रयास गरियो तर सफल हुन सकेन् । २००५ मा नेपालमा एनआरएनको ग्लोवल कन्फ्रेन्समा भाग लिएर आइसिसि बनेर फर्केपछि विरेन्द्र श्रेष्ठले एनआरएनको ब्याख्या गर्नुभयो र मेरो अध्यक्षतामा एनआरएन गठन भयो । त्यो बेला थोरै नेपालीहरुको बीचमा शुरु भएको एनआरएन स्पेन अहिले ब्यापक भएको छ र धेरै राम्रा काम गरेको छ । यो प्रशंगमा एनआरएनको संस्थापकको नामावली अन्जानको रुपमा लोप हुन लागेको अवस्थामा २०१६ मा एनआरएन स्पेनको इतिहासलाई जिवित राख्न भुमिका खेल्नुहुने त्यतिबेलाका अध्यक्ष मुक्त गुरुङ प्रति आभारी छु । यसरी हामीले दुुुखले शुरु गरेको एनआरएन स्पेन स्पेनबासी सवै नेपालीको दुखको साथी बन्न सकोस, सवैको साझा र छाता संस्थाको रुपमा अगाडि बढ्न सकोस, यसमा लागि पर्ने सवै एनआरएनकर्मी साथीहरुमा नमन ।
मैले सधै नेपाल र नेपालको पहिचानको लागि इज्जतको लागि, हाम्रो भविश्यको लागि र सन्ततिको लागि केहि गर्न पर्छ भन्ने सोचाई राख्दछु । स्पेनमा म नै होला पहिलो ब्यवसायी, मैले नेपाली रेष्टुरेन्ट हिमाली शुरु गरेको थिए । ब्यवसायसंगै मैले यसक्रममा स्पानिश टेलिभिजन, रेडियो, पत्रपत्रिका, सेमिनार, गोष्ठी र विभिन्न सांस्कृतिक क्रियाकलापमा भाग लिई नेपाल चिनाउँने अभियानमा लागेरहँे र अहिले पनि त्यो क्रम जारी । हाल म बार्सिलोनाको एअरपोर्टमा कार्यरत छु । एअरपोर्टमा काम गर्दा मलाई धेरैले सोध्छन त कहाँको हो ? भनेर मैले नेपाली भनेर गर्वका साथ भन्न पाउँदा खुसि लाग्छ । यसक्रममा धेरै पटक नेपालीहरुलाई पनि सेवा गर्ने मौका मिल्यो, त्यसक्रममा उहाँहरुले भन्नुहुन्थ्यो, युरोपमै पहिलो पटक भेटियो एअरपोर्टमा नेपाली त भनेर, अनि म फुरुङग हुन्थ्ये । हामी दम्पती (सरला सापकोटा) आफ्ुनो कामको साथमा दोभाषेको पनि काम गर्दछौ । नेपालीलाई समस्या परेको वखत कहिले अदालत, कहिले प्रहरी कार्यलय त कहिले विभिन्न संस्थामा हामी पुग्नुपर्छ । यो क्रममा यहाँको प्रहरीले हामीलाई इलिगल भएपनि नेपाली पासपोर्ट देखेकोले कतिलाई त छाडिदिएको बताउँथे । यो भनेको हामी नेपालीको इमान्दारिता र हामीले यहाँ छोडेको सकारात्मक छापको कारणले नै भएको हो । नेपालीले देखाएको विश्वास, काममा इमान्दार, सवैलाई आदर र माया गर्ने बानी नै हामी नेपालीलाई सवैले माया गर्ने मुख्य कारण हो । यसैको कारण नै नयाँ आउने पिडिलाई पनि हरेक कुरामा सहयोग र सुचना सहजै मिलेको छ । यहाँ पहिलो पटक आउने नेपालीलाई नेपालीबाट नै एअरपोर्टबाट घरमा ल्याएर चाहिने सहयोग गर्ने हाम्रो आफ्नो सहयोगीपन हो । सवै नेपालीले २÷४ पैसा कमाएर पनि नेपाल पठाएका छन् । यसले सवैको परिवार त पालिएको छ नै देशको अर्थतन्त्रलाई पनि टेवा पुगेको छ ।
अब हामी सवैको एउटा सपना र चुनौति छ । खासगरी नयाँ पिडि र विशेष गरी यहाँ जन्मेका बच्चाहरुलाई नेपाली भाषा र संस्कृतिबारे जानकारी दिने र त्यसको लागि सहि स्थानको ब्यबस्था गरिदिने । यसबारेमा हामी सवैले सोच्नुपर्ने बेला आएको छ । किनभने थोरै बच्चाहरुको साथमा बार्सिलोनामा नेपाली पाठशालाको स्थापना भयो । जसको संयोजक सरला सापकोटा हुनुहुन्छ र यसको लागि एनआएरएन स्पेनले सहकार्य गरेको छ । उक्त नेपाली पाठशालामा नेपाली बोल्न र लेख्न नजान्ने बच्चाहरुलाई नेपाली राष्ट्रियगान पहिलो पटक सिकाउन मलाई धेरै गा¥हो परेको थियो । यस्तै नेपाली गीतमा नाच्न सिकाउन गुरु अजय लोप्चनलाई समस्या परेको थियो । विनोद कटुवाल सरको बासुरीमा बच्चाहरु रमाएपनि शुरुमा उनीहरुले धुनले बोलेको नेपाली गीत बुझेनन् । तर अहिले यो पाठशाला धेरै बालबालिकाको संस्था भैसकेको छ । उनीहरुले धेरै कुरा सिकिसकेका छन् ।
यसरी नै कला र संस्कृतिको जगेर्ना र विकासको लागि सोच्नेक्रममा हामीले पहिले देखि नै कार्यक्रम गर्दै आएपनि संस्थागत रुपमा लाग्ने विचारले २०११ मा रेडियो नेपालका वरिष्ठ लोक गायक राजेन्द्र लम्साल ज्युको नेतृत्वमा अन्तराष्ट्रिय कलाकार मञ्च स्पेनको स्थापना गर्यौ । जुन अमेरिकामा शुरु भएको संस्था हो । पछि अमेरिका वा केन्द्रको कमिकमजोरीका कारण अघि बढेन सकेन र उक्त संस्था विश्व कलाकार संघ नेपाल, स्पेनको नाममा रुपान्तरण(१४ मे २०१७) भै निम्न लिखित कार्यसमिती गठन भयो । जसमा सल्लाहाकार मुक्त गुरुङ अध्यक्ष डिक कार्की, उपाध्यक्ष अजय लोप्चन, उपाध्यक्ष पेम्वा छोरी घोले शेर्पा, महासचिव सरोज केसी, सचिव विनोद कटुवाल, सहसचिव समि गुरुङ, कोषाध्यक्ष गोविन्द न्यौपाने, सहकोषाध्यक्ष अन्जु काफ्ले, सदस्यहरुमा भुवन अछामी, समिक्षा तामाङ, सुनिता रन्जित तन्डुकार, साङ्गे थिलेन शेर्पा, सुरेश भण्डारी र टीका सुवेदी हुनुहुन्छ । यस विश्व कलाकार संघ स्पेनले अरु विभिन्न संस्थाहरुसंग मिलेर मनोरञ्जन तथा अन्य सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।
अन्त्यमा हामीले गरेको र गर्दै आएका यि सवै काम स्पेनबासी सवै नेपालीको साथ र सहयोगबाट नै सम्भव भएका हुन् । जुन सहयोग आगामि दिनमा पनि रहनेछ भन्ने विश्वास गरेको छु । सवैलाई नयाँ बर्ष २०२१ को शुभकामना ब्यक्त गर्दछु धन्यवाद ।
डिक कार्की अध्यक्ष विश्व कलाकार संघ नेपाल, स्पेन