• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

स्पेनका नेपाली संस्थाहरू र दायित्व – एकराज गिरी

Byspainnepal

Jan 1, 2021


स्पेनमा बस्ने नेपालीहरूको ईतिहासको लामो नभएता पनि आजका दिनसम्ममा यहाँ बस्ने नेपालीहरूको संख्या उल्लेख्यरुपमा बढ्दै गैरहेको छ। सन् २००० पछि नेपालीहरूको युरोपको अन्तिम गन्तव्य स्थलका रुपमा परिचित हुँदै आएको युरोपको विकसित देशहरू मध्येको एक स्पेनमा सन २००५ पछि त नेपालीहरूको चाप दिन दुईगुना रात चौगुना हुँदै आएको छ। स्पेनमा बस्ने नेपालीहरूलाई संगठित गर्ने संस्थागत प्रयास सन् २००३ बाट नै भएता पनि २००७ मा आएर यसले औपचारिकता पाएको हो। सन २००७ को मार्चमा स्पेनको बार्सिलोना शहरमा नेपाली जनसम्पर्क समिती, स्पेन र सन २००७ को अप्रिल १३ तारिखमा स्पेनको भालेन्सिया शहरमा नेपाली नयाँवर्ष २०६४ को प्रारम्भको सुखद अवसरसंगै गैरआवासीय नेपाली संघ एनआरएन, स्पेन गठन भए पश्चात नै यहाँका नेपालीहरू माझ सँस्थागत सोच अगाडि आएको अवस्थामा २००७ अगष्टमा तमु समाज बार्सीलोना, २००७ डिसेम्वरमा नेपाली लोकतान्त्रिक मन्च स्पेन, नेपाली जनप्रगतीशिल मन्च स्पेन, चितवन समाज स्पेन, नेपाल मगर संघ स्पेन, नेपाली समाज स्पेन, नेपाली समाज विलवाउ, शेर्पा समाज, म्याग्दी समाज, अन्तराष्ट्रिय कलाकार मन्च, कलाकार संघ स्पेन गठन भैसकेका छन्। यीनै सँस्थाहरूको गठन पस्चात नै स्पेनमा बिभिन्न कार्यक्रमहरू गर्ने, नेपाली कला र संस्कृति प्रचार प्रसार गर्ने, समस्यामा परेका नेपालीहरूलाई सक्दो सहयोग गर्ने प्रक्रियाहरूको थालनी भएको छ। समय समयमा यहाँ बस्ने नेपालीहरुका समस्याहरुमा हातेमालो गर्दै अगाडि बढीरहेका नेपाली संस्थाहरूले आआफ्नो तर्फबाट सक्दो पहल गरेकै छन् तथापी यहाँका वास्तविक समस्याहरूलाई नेपाल सरकारले सुनेर पनि उचित ध्यान नदिएको आभाष स्पेनमा बस्ने तमाम नेपालीहरुमा पाईएको छ।

एनआरएन स्पेनले स्पेनमा नेपाली दुतावास स्थापनाको लागि धेरै पहल गरेको थियो । नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने देखि लिएर मिडियामा यसको बारेमा बहस सञ्चालन गरिएको थियो । २०१५ मा स्पेनमा दुतावास स्थापना गर्नका लागि नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेता, राजनीतिक दलका नेता र मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाइयो । हामी सबैको यहि पहलले नै स्पेनमा दुतावास स्थापना भएको हो । यसबाहेक नेपालको सांस्कृतिक संरक्षणका लागि विभिन्न कार्यक्रम र बार्सिलोनाको टिविटाबुमा नेपाल प्रमोशन डेको आयोजना गरियो । यस्तै स्पेनमा रहेका नेपालीलाई परेको दुखमा हाम्रो आर्थिक र अन्य साथ सहयोग सधै रह्यो । यसबाहेक नेपालमा पनि हामीले आफ्नो सहयोगी हात अघि बढाएका छौ । २०१५ को भुकम्पमा स्पेनबाट १ लाख १४ हजार युरो संकलन गरेर पठाएका थियौ ।

नेपालको आर्थिक, राजनैतिक, सामाजिक परिवेशहरूलाई ध्यानमा राख्दै उच्च स्तरको जीवन यापन भनौं या नयाँ ज्ञान र सिपको खोजिमा अध्ययन, व्यवसाय, रोजगारी लगायतका बिभिन्न बहानाहरुमा बिदेशिने नेपालीहरूको संख्या दिन प्रति दिन बढ्दै गै रहेको कुरा जग जाहेर नै छ। संसारको जुनसुकै कुनामा गए पनि नेपाल र नेपालीपन अनि सगरमाथा र गौतमबुद्ध मनमष्तिस्कमा अटल, अमिट र अडिग भै मुटुको धड्कनसंगै धड्की रहने कुरामा दुईमत नहोला। नेपाल सरकारको ध्यान, समय, सुझबुझ नपुगेर हो या अन्य कुनै कारणले बिदेशको भुमिमा रहंदा हामीहरूले बिभिन्न किसिमका समस्याहरू भोग्न परिरहेको छ। नेपाल सरकारको सानो प्रयासबाट पनि समाधान हुन सक्ने समस्याहरू प्रति समयसमयमा बिभिन्न सरकारी निकायहरू मार्फत ध्यानाकर्षण गराउंदा पनि कुनै सुनुवाई नहुंदा राज्यले नै आफ्ना नागरिकहरूको वेवास्था गरेको हो की भन्ने भान हामीलाई पर्न गएको छ। कुटनैतिक नियोगको उपस्थिती रहेका देशहरूमा केही फरक समस्या रहेता पनि विदेशमा बस्ने सम्पुर्ण नेपालीहरुका समस्याहरु एकै किसिमका रहेका छन्। स्पेन, पोर्तुगल, ईटाली लगाएत कतिपय अरबियन देशहरुमा पनि नेपालीहरूले धेरै किसिमका समस्याहरू भोग्नु पारेको कटु यथार्थता जगजाहेर नै छ। हुन त स्पेनमा रहेका नेपाली सँस्थाहरुले निरन्तर पहल त गरिराखेकै छन् तथापी स्पेनमा बस्ने नेपालीहरूका समस्याहरू र तीनको समाधानका लागि यहाँका नेपाली सँस्थाहरूले चाल्नुपर्ने कदमहरुका बारेमा छोटो चर्चा गर्ने प्रयास मात्रै गरेको छु

संसारको जुनसुकै कुनामा रहेता पनि हरेक राष्ट्रले आफ्ना नागरिकहरूलाई सक्दो सुबिधा पुर्‍याउनु पर्ने कर्तब्य हुन आउँछ। अध्ययन, व्यबसाय, रोजगारी लगायतका बिभिन्न अवसरहरूको खोजिमा युरोपको विकसित देश मध्यको एक स्पेनमा नेपालीहरूको वसोवासको ईतिहांसलाई हेर्ने हो भने त्यति पुरानो नभएता पनि स्पेनमा विदेशीहरू प्रति गरिने ब्यवहार र यहाँको कानुनका कारण नेपालीहरूको संख्या दिन प्रति दिन बढ्दै गैरहेको छ। अहिले सम्मको तथ्यांकलाई मध्यनजर गर्दा करिब दश हजारको हाराहारीमा नेपालीहरूको बसोबास भएको स्पेनमा यो संख्या बढ्दो क्रममा छ। हामी सवैकोे पहलमा स्पेनमा नेपाली दुतावास त स्थापना भएको छ तर स्पेनमा नेपाली दुतावास स्थापना गरेर मात्रै सम्पुर्ण समस्याको समाधान हुन्छ भन्ने तर्फ सोच्नु हाम्रो मुर्खता हुन आउँछ। नेपालबाट स्पेन आउनका लागि गरिने सम्पुर्ण प्रक्रियाहरु, यहाँ बस्ने नेपालीहरुका परिवार लगायत सबैको सुबिधाका खातिर स्पानिस दुतावासको स्थापना नेपालमा गरिनु अझै महत्वपुर्ण हुनेहुँदा यसका लागि जतिसको छिटो कुटनैतिक पहल गरिनु महत्वपुर्ण हुनजान्छ।

परिवार पुनर्मिलन, अध्ययन, भ्रमण लगायतका स्पेन जाने सम्पुर्ण भिसाका प्रक्रियाहरु नेपालको काठमाण्डौ स्थित स्पानिस कन्सुलरबाट गराउन पहल हुनु पर्नेछ ।
नेपाल र स्पेनको कुटनैतिक सम्बन्धमा सुधारका लागि पहल गरि स्पेनमा बस्ने नेपालीहरुका परिवार पुनर्मिलन र बाबुआमाको भ्रमण, अध्ययन, व्यवसाय, पर्यटन लगायतका भिषाहरूको निवेदनका सम्पुर्ण प्रक्रियाहरू नेपालको काठमाण्डौबाट नै गराउनका लागि बढी भन्दा बढी र यथासक्य चांडो पहल गरिनु पर्दछ।

स्पानिस नागरिकहरुका लागि नेपाल आकर्षक र रमणिय पर्यटकिय स्थलका रुपमा परिचित छ। अझै नेपालका हिमालहरूले त यहाँका धेरैलाई मोहित नै बनाएको सर्वेक्षणहरूले देखाउँछ। स्पेन आँफैमा पनि संसारका धेरै पर्यटकहरूले भ्रमण गर्ने देश मध्य पर्दछ। नेपाल सरकारको कुनै योजना विना, प्रचार प्रसार विना पनि यतिका मात्रामा आकर्षणको केन्द्र बनेको नेपालको पर्यटन विकासका लागि बढी भन्दा बढी पर्यटकहरू नेपाल भित्राउने हेतुले नेपाल सरकारद्वारा त्यहांका नेपाली समुदाय बीचका संस्थाहरूलाई परिचालन गरि नेपालको पर्यटन विकासका लागि बिभिन्न कार्यक्रमहरू गर्ने पहल गरिनु पर्दछ।

हाम्रो देश नेपाल प्रति बिशेष योगदान र लगानी भएका ब्यक्तिहरूलाई छुट्टै किसीमको ब्यवस्था गर्र्नु पर्दछ ।
बिदेशि नागरिक भएर पनि नेपालका लागि बिशेष योगदान दिने ब्यक्तिहरू जस्तै कन्सुलर लुईस बेल्भिस, पर्वातारोही ख्वानितो,कार्लो सोरिया र ईन्याकी स्पानिसहरु, जस्ता संसारका बिभिन्न ब्यक्तिहरूलाई नेपाल आउन, बस्न सर्बसुलभ गराउनका लागि भिषा लगायतका झन्झटिला कुराहरू गर्नु नपर्ने गरि कुनै किसीमको बिशेष कार्ड प्रबेषाज्ञा उपलब्ध गराईनु पर्दछ। ता की उनीहरुका कारणले नेपालको पर्यटन लगायत थुप्रै कुराहरुको बिकासमा केही आयाम थपिन सक्ने सम्भावना प्रष्टै देखिन्छ।

स्पेन लगायतका बिभिन्न देशहरुमा धर्म पुत्रपुत्रीका रुपमा लगिने बालबच्चाहरूलाई अनिवार्य रुपमा नेपाली भाषा र संस्कृति सिकाउनु पर्ने व्यवस्था गर्नु पर्दछ ।
नेपालको कुनै पनि अनाथलयबाट नेपाल सरकारको अनुमति प्राप्त गरी सम्पुर्ण कानुनी प्रक्रियाहरू पूरा गरेर धर्म पुत्रपुत्रीका रुपमा लगिने नेपाली बालबच्चाहरूलाई अनिवार्य रुपमा नेपाली भाषा र सस्ंकृति सिकाउनु पर्ने ब्यवस्था गरिनु पर्दछ। जसले गर्दा नेपाली भाषा, कला र संस्कृतिको जगेर्नाका लागि मद्दत पुग्ने र धर्म पुत्रपुत्री बनाईने बालबच्चाहरूले पनि आफ्नो भाषा, कला र संस्क्रिती सिक्न पाउने हुन्छ। बाध्यता र विवशताले बिदेशी हुन वाध्य भएता पनि उनिहरुलाई नेपाल र नेपालित्व बिर्सन नसक्ने बनाउनका लागि सम्बन्धित देशमा रहेका संस्थाहरूसँग समन्वय गर्न सकिने कुरा तर्फ नेपाल सरकारलाई सचेत र सजक बनाइनु पर्ने देखिन्छ।

नेपाल युरोप बीचमा जतिसको चांडो हवाई सेवा संचालन गर्नु पर्दछ ।
नेपाल एउटा आकर्षक पर्यटकिय गन्तव्य हुंदाहुंदै पनि युरोप र नेपाल बीचमा सिधा हवाई सेवा संचालनमा नहुंदा नेपाल आउने पर्यटकहरू अरु देशहरू हुंदै आउनु पर्ने बाध्यताले गर्दा नेपालको पर्यटन विकासमा सोचे जति विकास हुन नसकेको, युरोपमा बस्ने नेपालीहरूले पनि यो समस्याका कारण बिबिध समस्याहरू झेल्नु परेको तितो यथार्थतालाई अध्ययन गरी बिजुली, पानी, सडक, फोहोरको व्यवस्थापन, संचार जस्ता पुर्वाधारहरूलाई व्यवस्थित गर्दै अविलम्व नेपालयुरोपको भरपर्दो हवाई सेवा सुचारु रुपले संचालन गरिनु पर्दछ।

नेपालको काठमाण्डौं स्थित स्पानिस कन्सुलरबाट नियमित सेवा उपलब्ध गराउन दिर्घकालिन रुपमा पहल गर्नु पर्दछ । काठमाण्डौं स्थित नेपालका लागि स्पानिस कन्सुलरबाट स्पेनमा बस्ने नेपालीहरू हुन या स्पेन आउन चाहने अन्य नेपालीहरू हुन तिनिहरुका कागजातहरुमा छाप लगाउने लगायतका सम्पुर्ण जानकारी गराईनु पर्ने विषयहरुमा सहयोग हुँदाहुँदै पनि कन्सुलरको व्यस्तता र समयाभावका कारण हामीहरूले लामो समयसम्म प्रतिक्षा गर्नु पर्ने, स्पेनको सरकारले तोकेको समय भित्र हामीहरूले कागजातहरू उपलब्ध गराउन नसकेर यहाँका कानुनी प्रक्रियाहरुमा धेरै पछाडी पर्नुपर्ने र हाम्रो जीवनमै अती महत्व राख्ने रेसिडेन्ट कार्ड, परिवार पुनर्मिलन जस्ता कुराहरुमा समस्या झेल्नु परेकाले यसको दिर्घकालिन रुपमा समस्याको समाधानका उपाय तर्फ समयमानै ध्यान दिएर नेपाल सरकार र दुतावास मार्फत स्पेन सरकारको ध्यानाकर्षण गराउन विशेष पहल गर्नु पर्दछ।

  • एकराज गिरी
    म्याड्रिड, स्पेन।
  • नेपाल पटर्यटन बोर्डको मानार्थ सद्भावना दुत एचपिआरआर
  • एनआरएन निर्वनमान युरोप उपसंयोजक
  • एनआरएन स्पेन र जन सम्पर्क समिती स्पेन पुर्व अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *