• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

एनआरएनएले ओमानबाट विमान चार्टर गरेर अक्सिजन सिलिण्डर नेपाल पठाउने

Byspainnepal

May 11, 2021

कोभिडको दोश्रो चरणको लहरले नेपालमा अक्सिजनको चरम अभाव हुन थालेपछि गैरआवासीय नेपाली संघको सकृयतामा अक्सिजन सिलिण्डर नेपाल पठाउने तयारी गरेको छ ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा रहेका सबै राष्ट्रिय समितिसंगको सहकार्यमा संघले विमान चार्टर गरेर ६ सय अक्सिजन सिलिण्डर नेपाल पठाउने भएको हो । यसअघि संघले २ करोड रुपैयाको अक्सिजन कन्सरट्रेसन नेपालमा पठाउने निर्णय गरेको थियो ।

नेपाली दूतावास ओमानको सहकार्यमा ओमानबाट ४० लिटर क्षमताका ६ सय वटा सिलिण्डर नेपाल पठाउन प्रकृया अगाडि बढिसकेको संघका सचिव आरके शर्माले जानकारी दिए ।

‘कोभिडको विषम परिस्थितिमा सिंगो मध्यपूर्वका नेपालीको अभियान, ६ सय अक्सिजन सिलिन्डर मार्फत दैनिक १२ सय नेपालीलाई जीवनदान’ भन्ने नाराका साथ एनआरएन मध्यपूर्वले अभियान थालेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

‘अहिले नेपालमा कोरोना संक्रमितले हस्पिटलमा बेंड नपाएर छटपटाई छटपटाई ज्यान गुमाउनु परेका हृदयविदारक अवस्था छ भने अक्सिजनका सिलिंडरको अभावले गर्दा बचाउन सकिनेको पनि ज्यान गइरहेको छ, आजको यो स्थितीमा हामी मध्यपूर्वबासी नेपालीले एक हप्ताभित्र अक्सिजनका सिलिंडर नेपाल पठाउन अभियान सुरु गरेका छौ’ संयोजक शर्माले बताए ।

मध्यपूर्वमा रहेका एनआरएन एनसीसी, संघसंस्था तथा सहयोगी हातहरुबाट रकम उठाएर पहिलो चरणमा नेपालमा अक्सिजन सिलिण्डर पठाउन लागिएको एनआरएन मध्यपूर्वका संयोजक प्रविन गुरुङले जानकारी दिए । ‘हामीले एनआरएन आइसीसीको कार्यक्रम अन्तर्गत मध्यपूर्वबाट छुट्टै अभियान थालेका छौं, यो सहयोगले केही हदसम्म टेवा पुग्ने आशा राखेका छौं’ गुरुङले बताए ।

अहिले नेपालमा अक्सिजन उत्पादन भएता पनि सिलिण्डर अभाव हुँदा विरामीले अक्सिजन पाउन सकेका छैनन् । ओमानमा सिलिण्डर खरिदका लागि प्रकृया अगाडि बढिसकेको र नेपाली दूतावास ओमानले सहजीकरण गरिदिएको जानकारी एनआरएन प्रवत्ता तथा एनआरएन ओमानका संस्थापक अध्यक्ष डिबी क्षेत्रीले जानकारी दिए ।

एनआरएनएले कोरोना महामारीमा विभिन्न सहयोग कार्यक्रम ल्याइरहँदा एनआरएन मध्यपूर्वले तत्काल सिलिण्डर पठाउने अभियान थाल्दा अन्य क्षेत्रबाट पनि सहयोग गर्नुपर्ने आवश्यकता छ ।

एनआरएन सल्लाहकार टिवी कार्की, मध्यपूर्व उपसंयोजकद्वय मनोज गोर्खाली, राजेन्द्र अर्याल, एनआरएन ओमानका अध्यक्ष बिकल झाले मध्यपूर्वमा रहेका आम नेपालीलाई नेपालमा अक्सिजन सिलिण्डर पठाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *