• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर, बिप्लवको सेफ ल्यान्डिङ भयो – प्रधानमन्त्री

Byspainnepal

Mar 5, 2021

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति पत्रमा औपचारिक हस्ताक्षर भएको छ ।

सरकारी वार्ता टोलीका प्रमुख गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोलीका प्रमुख प्रकाण्डले हस्ताक्षर गर्दै सहमति पत्र आदानप्रदान गरेका छन् ।


यस्ता छन् सहमतिका बुँदा

१ दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं।

२ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ।

३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित ढंगले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगर्ने बताउनुभएको छ । सरकार र नेकपा (विप्लब समूह) बीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, –‘हामीले अनुचित ढंगले प्रधानमन्त्रीको प्रस्ताव कसैलाई राखेका छैनौं र राख्न पनि राख्दैनौं । ’प्रचण्ड–माधव पक्षप्रति टिप्पणी गर्नुहुँदै उहाँले थप्नुभयो, “उहाँहरुको कार्यशैली देखेर अचम्म लाग्छ, आफ्नो दलको बहुमतको सरकार हटाएर प्रधानमन्त्रीलाई किस्तीमा राखेर अरु दललाई दिन हिड्नुभएको छ ।”

प्रधानमन्त्री ओलीले थप्नुभयो, “असल मनसायकासाथ अगाडि बढ्दा सफलता प्राप्त हुन्छ भन्ने हामी दृष्टान्त बन्न सफल भएका छौं ।” कोही मान्छेहरु देशलाई बर्बाद गर्न खोजेको उहाँले टिप्पणी गर्नुभयो । माक्र्सवाद के हो म बुझ्दिनँ उहाँले भन्नुभयो,‘ कुन हाइडोलोजिभित्र पर्छ मलाई थाहा छैन, मैले पढेको माक्सबादभित्र यो पर्देन् ।’

विप्लव समूह राजनीतिक मुलुधारमा आउनु फोर्स ल्यान्डिङ, क्र्यास ल्यान्डिङ नभइ सेफ ल्यान्डिङ भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो फोर्स ल्यान्डिङ होइन, क्रास ल्यान्डिङ पनि होइन । यो सेफ ल्यान्डिङ हो ।’ प्रधानमन्त्री ओलीले रातारात नभइ लामो समयदेखिको वार्ताको परिणाम स्वरुप विप्लव समूहसँग अहिले सहमति हुन सफल भएको बताउनुभयो ।‘ यो रातारात भएको सहमति होइन, यसका लागि विगत एक वर्षभन्दा बढी समयदेखि हामी गम्भीर वार्तामा बस्दै आएका थियौँ ।’ उहाँले भन्नुभयो ।

फागुन १८ गते मंगलबार सरकारको तर्फबाट र नेकपा विप्लव समूह ले अलग अलग वार्ता टोली गठन गर्नुभएको थियो । दुवै समूहबीचको वार्तापछि २० गते विहिबार तीनबुँदे सहमति भएको थियो । नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रियतामाथि धावा बोलिए चुप लागेर नबसिने बताउनुभएको छ । उहाँले राष्ट्रियता रक्षाका लागि बरु मर्न तयार हुने तर नझुक्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘कुनै विदेशीले हामीलाई हेम्न खोज्यो भने बरु यो जीवन धर्तिमा गाडिन्छ तर विदेशीसँग झुकिन्न
।’

सरकार र नेकपाबीच भएको सहमतिपत्रमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै विप्लवले कम्युनिष्टहरु विद्रोहीमात्र नभई शान्तिका दूतपनि भएको बताउनुभयो । ‘हामी कम्युनिष्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पुरा गरेको अवस्थामा कम्युनिष्टहरु शान्तिका दूत पनि हुन् ।’ उहाँले तीन बुँदेमा नेकपा प्रतिबद्ध रहेकोपनि बताउनुभयो ।‘‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन । हामी तीन बुँदेमा प्रतिवद्ध छौं,’ उहाँले भन्नुभयो ।

जुन र घामबीच कहिल्यै मिलन नहुने भनिए पनि राज्य र आफूहरुबीचको सहमतिले जुन र घामबीच मिलन सम्भव भएको बताउँदै उहाँले सहिदहरुले देखेको सपना मर्न नदिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *