• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

कोभिड-१९ को उत्पत्तिबारे पारदर्शी छानबिन गर्न अमेरिकाको आह्वान

Byspainnepal

May 26, 2021

विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ । अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन् ।
अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएका विवरणहरू आएका छन् । कोभिड-१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो ।
त्यसयता उक्त भाइरसबाट विश्वभरि १६ करोड ७० लाख मानिस प्रभावित भइसकेका छन् भने ३४ लाखको ज्यान गइसकेको छ । यसै वर्षको मार्चमा डब्ल्यूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर जारी गरिएको संयुक्त विवरणमा उक्त भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै थोरै भएको जनाएको थियो ।
उसले त्यसबारे थप अध्ययन जरुरी भएको पनि बताएको थियो। तर कैयौँ प्रश्न अझै अनुत्तरित रहेको बताइन्छ । अमेरिकी जासुसी सूत्रहरूको हवाला दिइएका विवरणहरूमा सन् २०१९ को नोभेम्बर महिनामा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्यहरू बिरामी भएर अस्पताल भर्ना भएको उल्लेख छ । त्यो घटना चीनले नयाँ रोग समुदायमा देखा परेको स्वीकार्नुभन्दा कैयौँ साता पहिले भएको विवरणमा बताइएको छ ।
कस्तो अनुसन्धान आवश्यक ?
यसै सन्दर्भमा डब्ल्यूएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताएका छन् ।
बेइजिङले भने ती विवरणहरूलाई क्रुद्धतापूर्ण रूपमा खारेज गरिदिएको छ । उसले भाइरस बरू अमेरिकी प्रयोगशालाबाट आएको हुनसक्ने बताएको छ । मङ्गलवार डब्ल्यूएचओको बैठकमा बोल्दै बेसेराले चीनको नाम नलिकनै अमेरिकाले अर्को चरणको छानबिन थप सघन हुने आशा गरेको बताए ।
मङ्गलवार ह्वाइट हाउसले पनि उसले डब्ल्यूएचओबाट विज्ञहरूद्वारा सञ्चालित अनि राजनीतिकरणबाट मुक्त ढङ्गले महामारीको उत्पत्ति छानबिन गर्ने आशा गरेको जनाएको छ । –बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *