• Thu. Oct 10th, 2024

SPAIN NEPAL COM

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न

Byspainnepal

Mar 3, 2021

काठमाडौं । सरकार र विप्लव समूहबीचको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार बिहानै पहिलो चरणको वार्ता सकिएको थियो । तत्पश्चात् दोस्रो चरणको वार्ता पनि बुधबारै साँझ सम्पन्न भएको हो ।

सरकारका तर्फबाट गठित वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दिएको जानकारीअनुसार दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको हो । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो,’ भट्टराईले भनेका छन्, ‘वार्ता बिषय केन्द्रित रह्यो । दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’

वार्तामा सरकारका तर्फबाट पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ र राजन भट्टराई सहभागी थिए भने विप्लव समूहका तर्फबाट समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

वार्ताका क्रममा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुनुपर्ने, नियन्त्रित आफ्नो नेता कार्यकर्ताहरु रिहा हुनुपर्नेलगायतका माग अघि सारेको बताइएको छ ।

विध्वंसात्मक गतिविधिलाई बढावा दिएपछि समूहले सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । सरकारले यसअघि नै तराई मधेशलाई अलग्गै राज्य बनाउनुपर्ने भन्दै पृथकतावादी आन्दोलन गर्दै आएका सीके राउतलाई मूलधारको राजनीतिमा समावेश गराएको थियो ।

मंगलबार सरकारका प्रवक्ता पार्वत गुरुङले विप्लव समूहसँग चाँडै वार्ता हुने जनाउ दिएका थिए । तत् विषयमा सरकारले आजै वार्ता शुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *