• Tue. Apr 16th, 2024

SPAIN NEPAL COM

विदेशी भुमीमा पनि टेनिस भुलेका छैनन गोपाल महर्जनले

Byspainnepal

Jan 22, 2021

कमल पराजुली/


टेबुल टेनिस खेलमा लागेर नेपालमा राम्रो नाम कमाएका गोपाल महर्जन करिव १५ वर्ष देखि स्पेनमा छन् । खेलकुदमा लागेर मात्रै सहज जीवन नचलेपछि आफ्ना आवश्यक्ता पुरा गर्न उनी अहिले भिन्न परिबेश र भिन्न काममा छन् । तर उनले आफ्नो जीवनको लामो र महत्वपुर्ण समय नेपालमा टीटि मा बिताएको क्षणलाई भुल्न नकेका छैनन् । बाध्यतामा बाँधिएर अलग बाटोमा अघि बढेको उनको जीवन कथा अलिकति रोचक र धेरै भावुक छ । यहाँ यिनै नेपाली टिटिका खेलाडी तथा गुरु गोपाल महर्जनको कथा लेखेका छौ ।

सन् १९७७ मा ठमेलको गल्कोपाखामा जन्मेका महर्जनको सानै उमेरदेखि खेलकुदमा रुची थियो । र उनले पढ्ने लैनचौरको शान्ति विद्या गृहमा खेलकुदको लागि राम्रो बाताबरण पनि थियो । त्यहीबाट पढाईको साथसाथै उनको खेलकुदको कर्म पनि अघि बढ्यो । स्कुल भित्र र बाहिर हुने विभिन्न प्रतियोगिताहरुमा उनको सहभागिता र सफलता रह्यो । सन् १९९६ को धनगडीमा भएको २७ औं नेशनल गेममा जुनियर टेबुलटेनिस तर्फ उनी प्रथम भए । यहाँबाट शुरु भएको उनको सफलताको बाटो एकपछि अर्को गर्दै अगाडि बढ्न थाल्यो । त्यसपछिको नेपालगञ्जमा भएको २९ औं नेशनल गेममा टिम इभेन्ट र मिक्स डवलमा प्रथम तथा सिङगलमा तेस्रो भए । यस्तै काठमाण्डौंमा भएको ३० औं नेशनल गेममा मिक्स तर्फ प्रथम र सिङगल तर्फ तेस्रो भए भने पोखरामा भएको ३१ औं नेशनल गेममा पनि मिक्स डवल तर्फ प्रथम र सिङगलमा तेस्रो भए ।
उनको सफलता र सहभागिता नेशनल गेमहरुमा मात्रै सिमित रहेन । १९८९ मा भारतमा भएको जुनियर च्याम्पियनसिपमा सहभागिता जनाएका महर्जन त्यसपछि धेरै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा छाए ।

यसैक्रममा १९९९ मा काठमाण्डौंमा भएको आठौं साफ गेममा उनी पहिलो पटक सहभागि भए र २००४ मा पाकिस्तानमा भएको ९ औं साफमा देशका लागि कास्य पदक जित्न सफल भए । र श्रीलंकामा भएको १० औं साफमा पनि उनको सहभाागिता भयो र त्यहाँ पनि कास्य पदक नै ल्याए । यही क्रममा उनी सन् २००० मा मलेसियामा भएको टेबुलटेनिसको विश्व च्याम्पियनसिप र चीनका भएको वल्र्ड कजेल च्याम्पियनसिपमा सहभागी भए । देश भित्र र बाहिर हुने प्रतियोगिताहरुमा सहभागिता जनाउनु मात्रै नभै उनले टिटि सिकाउने काम पनि गर्थे । काठमाण्डौको न्यु समिट स्कुल, डिएभी, गोल्छा अर्गनाइजेशन, सांघाइ ग्रुप लगायतका टिटि सिकाउने काम पनि उनले गरे । यसबाट धेरथोर कमाई पनि हुन्थ्यो ।

नेपालमा टीटिमा लागेर पाएको यो सफलताले उनलाई राम्रो नाम दिएको थियो । उनलाई चिन्ने मान्छेहरु बढ्दै थिए । र त्यही अनुसारको सम्मान पनि पाएका थिए । २००५ मा राज्यको तर्फबाट खेलकुदमा गरेको योगदानको कदर स्वरुप गोर्खा दक्षिण बाहु पाए । खेल जीवन त सवै राम्रै चलेको थियो तर यसले मात्रै जीवन चलाएन । भोको पेटले कहिलेसम्म खेल्न सकिन्थ्यो र ? उनी भन्छन “खानै नपुग्ने अबस्था त थिएन तर, यो खेलकुदमा मात्रै लागेर जीवन उकास्ने अरु बाटाहरु देखिनन ।”

उनी खेल जीवनको विकल्प होइन कि आफ्नो आर्थिक पक्ष बलियो बनाउने बिकल्पको खोजीमा थिए । अर्को तिर आफ्नो पठाई पनि अगाडि बढाउनु पर्ने थियो । यसैक्रममा उनी पढाइ र कमाइ गर्ने उद्देश्यले २००७ मा डेनमार्क हानिए । तर त्यहाँ उनले सोचेअनुसार सहज भएन । त्यहाँको कमाइले कलेजको फि तिर्न पनि गार्हो भएपछि उनी अलि सहज हुने ठानेर स्पेनमा आए । अहिलेसम्म उनी एक छोरा र श्रीमतीका साथ स्पेनको बेनिडर्ममा बसिरहेका छन् ।

उनकी श्रीमती नितु शाक्य महर्जन पनि टेनिस खेलाडि नै हुन नेपालमा खेलकुदकै क्रममा उनीहरुको भेट, प्रेम र विवाह भएको थियो । “उनलाई त म जनकपुरमा खेल्न जाँदा बसमा पहिलोपल्ट भेटेको थिए ।” उनले केही लजाँउदै भने र फेरी नेपाली खेल जीवन नै सम्झन पुगे । “नेपालमा त आफ्नो सोख पुरा गर्न खेल्ने जस्तो मात्रै हो त्यहाँ न परिवारबाट सहयोग हुन्छ नत र सरकारबाट ।” उनी भन्छन “खेल्यो आफ्नो मन खुसी बनायो त्यति हो ।”

यता स्पेन आएपछि उनले राम्रै काम र दाम पाए । यसले आर्थिक स्तर राम्रो हुँदै गयो । तर उनको मनमा रहेको टिटीको हुटहुटीले भने कहिल्यै छाडेन । त्यसैले यता पनि खेललाई अगाडी बढाउन सकिन्छ कि भनेर खोजी गर्न थाले । यसैक्रममा यहाँका स्थानीय टिटी क्लबहरुसंगको सम्पर्कमा पुगे र खेललाई अगाडी बढाउन थाले । नेपालमा धेरै उपाधीहरु जितेर आइसकेका महर्जनलाई यहाँ पनि केहि गरेर देखाउँछु भन्ने लागेको थियो । यसैक्रममा उनी २०१५ मा यहाँकोृ स्थानीय क्लव आल्तिया टिटी क्लबको तर्फबाट अटोनोमिका लिगमा विजेता बने । २०१७ मा यहाँको दोस्रो स्तरको लिगमा सहभागी भए भने चौथो अन्तराष्ट्रिय च्याम्पियनसिमा पनि सहभागी भए । अहिले पनि काम, परिवार खेलकुदलाई संगसगै अगाडी बढाई रहेका छन् उनी ।


नेपालमा सिमित स्रोत साधन र सुविधाको बाबजुद पनि खेलमा राम्रो प्रभाव छोडेका महर्जनले यहाँ खेल्न थालेपछि यहाँको स्रोत साधन देखेर मोहित भएका छन् । “खेलकुदमा लाग्नेहरुलाई यहाँको सरकारबाट हुने सहयोग नेपालको अबस्थासंग तुलना गर्नै मिल्दैन ।” उनी भन्छन “यहाँको जस्तो अबस्था नेपालमा भैदिएको भए त यहाँ आउनै पर्दैनथियो होला नि”

तर पनि उनी खुसी नै देखिन्छन । “आफ्नो देशमै बसेर खेल्न नपाएकोमा दुख त लाग्छ नै तर पनि यहाँ आएर कामसंगै खेललाई पनि अघि बढाउन पाएको छु यसैमा खुसी छु ।” उनलाई आफु खेल्नेसंगै यहाँ बस्ने अरु नेपालीहरु र यहिका बच्चाहरुलाई पनि टिटी सिकाउने इच्छा छ । यसको लागि यहाँको स्थानीय निकाय र नेपाली समुदायका अगुवाहरुसंग आफुले कुरा गरिरहेको र उपयुक्त स्थान खोजेर सिकाउने कामलाई पनि अघि बढाउने उनको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *