• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

स्पेनका लागि प्रस्तावित नेपाली राजदुत पराजुली संसदीय समितीबाट अनुमोदित

Byspainnepal

May 22, 2022


स्पेनका लागि प्रस्तावित नेपाली राजदुत शर्मिला पराजुली ढकाल सहित अन्य विभिन्न देशहरुका लागि प्रस्थावित राजदुतहरु संसदीय सुनुवायी समितीबाट अनुमोदित भएका छन् । संसदीय समितीबाट अनुमोदित भएपछि अब करिब ७ महिनादेखि खाली रहेको स्पेनको राजदुतको पद सम्हाल्ने गरी स्पेन आउन राजदुत पराजुलीलाई बाटो खुलेको छ ।
जापान र इजिप्टसहित विभिन्न ५ मुलुकका प्रस्तावित राजदूतहरुको शनिबार संसदीय सुनुवाइपछि अनुमोदन भएको थियो भने समितिले यसअघि बुधबार प्रस्तावित चार राजदूतलाई अनुमोदन गरेको थियो । सरकारले सिफारिस गरेका जापानका लागि दुर्गाबहादुर सुवेदी, इजिप्टका लागि सुशीलकुमार लम्साल, ब्राजिलका लागि निर्मलराज काफ्ले, अस्ट्रेलियाका लागि भरतकुमार रेग्मी र बहराइनका लागि तीर्थराज वाग्ले, मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल (स्पेन), डिल्लीराज पौडेल (मलेसिया) र कान्ता रिजाल इजरायल, चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङलाई संसदीय सुनुवाइ समितिले छुट्टाछुट्टै सुनुवाइ गरे लगत्तै अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कणर्ले जानकारी दिनुभयो । प्रस्तावित राजदूतहरुले सम्बन्धित मुलुकहरुसँगै द्विपक्षीय सम्बन्ध मजबुद बनाउने, विदेशी लगानी भित्र्याउने, पर्यटनहरुलाई भित्र्याउन पहल गर्ने तथा उच्चस्तरीय भ्रमण गराउन पहल गर्ने लगायत विषयमा आफूहरुले प्राथमिकता दिने प्रतिबद्धता सुनुवाइका दौरान गरेका थिए ।
समितिले बिहीबार प्रस्तावित राजदूतहरु साउदी अरेबियाका लागि नवराज सुवेदी, अस्ट्रेलियाका लागि कैलाशराज पोखरेल, कतारका लागि नरेशविक्रम ढकाल र दक्षिण कोरियाको लागि ज्योति प्याकुरेल (भण्डारी) लाई सुनुवाइ गर्दै अनुमोदन गरेको थियो । शुक्रबारको सुनुवाइमा भने श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्राध्यापक रामस्वार्थ रायविरुद्ध उजुरी परेको र सुनुवाइको क्रममा चित्तबुझ्दो जवाफ नआएपछि परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जेठ ९ भित्र जवाफ पठाउने गरी पत्राचार गरेको छ ।

सरकारले २० जना राजदूतलाई सिफारिस गरेको थियो । जसमा १२ जना राजनीतिक कोटाबाट र ८ जना कूटनीतिक कोटाबाट थिए । अब तीन कोटा मुलुकमा प्रस्तावित राजदूतको सुनुवाइ आइतबार हुने समितिका सभापति कणर्ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *