• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

१७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर्न माग

Byspainnepal

Feb 6, 2021

काठमाडौँ । बैतडीको चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर्न सबै पक्षले माग गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घटनाका सम्बन्धमा तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सभापति देउवाले सरकारसँग माग गरेका छन।

अघिल्लो दिन विद्यालय हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी भागरथी बिहीबार साँझ जंगलमा मृत भेटिएकी थिइन् । सभापति देउवाले घटनाबाट आफू मर्माहत भएको उल्लेख गर्दै घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन् ।

‘बैतडीको दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खबरले निकै मर्माहत भएको छु,’ देउवाले बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु । भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बैतडीको दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा गैरजिम्मेवार नबन्‍न सरकारलाई सचेत गराएको छ ।

प्रचण्ड–नेपाल पक्षीयले नेकपाले शनिबार शोक वक्तव्य जारी गरेर सरकारलाई भागरथी हतया प्रकरणमा गैरजिम्मेवार नबन्‍न सचेत गराएको हो ।

“विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौं,” अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालद्वारा जारी विज्ञपितमा भनिएको छ ।

प्रचण्ड–नेपाल पक्षीय नेकपाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाले न्याय नपाएपछि आमजनतामा देखिएको आक्रोश लेखाउन नपाउँदै बैतडीमा भएको समान प्रकृतिको घटनाले राजय संयन्त्र सर्वसाधारणलाई सुरक्षा दिन असफल भएको तथ्यलाई प्रमाणित गरेको पनि दाबी गरेको छ ।

घटना विवरण (सेतोपाटी बाट साभार)

  • सविता बुढा

भागरथीको शव उत्तानो परेको अवस्थामा फेला परेको थियो।
एक हात छातीमा थियो, टाउको र हातमा चोट लागेको थियो।
उनको तल्लो शरीरका सबै लुगा घुडासम्म खोलिएको अवस्थामा शव भेटिएको आफन्तले बताए।
मृतकका काका मनोरथ भट्टले समूहले आक्रमण गरी हत्या गरेजस्तो अवस्थामा शव फेला परेको बताए।
बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट ‘भूमिका’को सोही ठाउँकै लवलेक सामुदायिक वनमा शव फेला परेको थियो।
हत्या गरी शव फालिएको आशंका गरिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बुधबार बिहान ८ बजेतिर अरुदिन जस्तैगरी उनी पनि स्कुल गएकी थिइन्। कक्षा १२ मा पढ्ने उनी आफ्नो गाउँबाट एकाउन्ट विषय पढ्ने एक मात्र विद्यार्थी थिइन्।
उनका अंकल शिवराज भट्टले विषय फरक हुनाले उनको गाउँका अरु साथीहरूभन्दा एक घण्टा अगाडि बिदा हुने गरेको बताए।
त्यसदिन बिदा भएपछि उनी स्कुलबाट घर हिँडेकी थिइन्। ‘गाउँपालिकाको केन्द्र खोचलेक बजारमा दिउँसो २ बजेतिर गाउँका केही भाइहरूलाई घर जाने हो कि भनेर सोधेकी रहेछ,’ उनले भने।
गाउँका भाइहरूले कपाल काट्ने कामले ढिला हुने भनेपछि भागरथी त्यहाँबाट एक्लै जान्छु भनेर हिँडेकी थिइन्।
उनी त्यसपछि हराएकी थिइन्।
घरमा नियमित समयमा आउने छोरी अबेरसम्म पनि आइनन्। उनका बुबा बितेको ४६ दिन मात्र भएको छ। उनका बुबा सुगरका बिमारी थिए। औषधी खान्थे। किड्नीमा समस्या आएपछि पुस ७ गते उनको मृत्यु भएको थियो।
घरमा आमा मात्रै छिन्।
साँझ ४ बजेसम्म पनि छोरी नपुगेपछि बुबाको शोकमा सेतो लुगामा बसेकी आमाले कहाँ गई भनेर साथीहरूसँग सोध्न सुरू गरेकी थिइन्।
बेलुका ७ बजेसम्म पनि खबर नआएपछि गाउँलेहरूले प्रहरीलाई खबर गरेका थिए।
मनोरथले प्रहरी चौकी खोचलेकमा बेलुका ७ बजेतिर खबर गरेको बताए। सुरूमा त बिहे गरेर कसैले भगाएर लग्यो कि भनेर गाडीहरूमा पनि खोज्न, हेर्न अनुरोध गरेको उनले बताए।
उनीहरूले अर्को दिन हुलियासहित प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि त्यहाँको प्रहरी टोलीले विद्यार्थीहरूलाई पनि तलमाथि हेरेर जान आग्रह गरेको थियो।
‘भागरथीले कसैसँग बिहे गरेकी होली सोचेका थियौं, आमा रुन थालिन्, आजभोलिको केटीहरू मन पराएको केटासँग जान्छन्, फोन गरिहाल्ली नरुनू भनेर सम्झायौं,’ उनले भने।
भागरथीले मोबाइल साथमा बोकेकी थिइन्। खोजी गर्न सुरू भएदेखि नै मोबाइलमा फोन लागेको थिएन, स्वीच अफ भइसकेको थियो।
बिहीबारको कुरा हो, विद्यार्थीहरू फर्केर आए। ११ मा पढ्ने केही गाउँकै विद्यार्थीले जंगलको बाटोमा घिसारेर लगेजस्तो ठाउँ देखेपछि के रहेछ भनेर हेरेका थिए।
‘तिनीहरूले कसैले मृगलाई पासो हालेको हो कि भनेर हेर्दा मान्छेजस्तो देखेर डराएर आए, घर आएर यस्तो देखियो भनेपछि हामी गयौं,’ मनोरथले भने।
सुरूमा कोही दारु खाएर लडेको होला उनीहरूले ठानेका थिए।
‘बच्चाहरू आत्तिएको देखेर गाउँले ४-५ जनालाई लिएर पुग्दा त्यहाँ शव देखें,’ उनले भने।
उनले टाढाबाटै भागरथीलाई चिनेको बताए।
‘मैले शव चिनेपछि त्यहीँबाट खोचलेक प्रहरी चौकीमा फोन गरें,’ उनले भने।
प्रहरी पुगेपछि वरिपरि फिता लगायो। फोटो खिचे। अरुलाई नजिक जान दिइएन।
चौकीबाट, जिल्लाबाट प्रहरी आए। गाउँले पुगे। त्यो रात घटनास्थलमै काटेको उनले बताए।
शव विक्षिप्त अवस्थामा छ। सडकबाट करिब ६० मिटर तल शव भेटिएको थियो।
‘वनमाराको झाडी भाँचिएको छ, युद्ध चलेजस्तो देखिन्छ। सडकबाट दुई सय मिटर तल उसको चप्पल भेटिएको छ,’ उनले भने।
मृतकको तल्लो शरीरको कपडा घुँडासम पुगेको, ज्याकेट फुकालेर छेउमा फालेको, सर्टको बटन च्यातेको, टाउको र हातमा चोट पनि देखिएकाले बलात्कार भएको आशंका गरिएको छ।
टाउकोको एक साइडमा कपाल नै लुछेर चोक्टो निकालेजस्तो देखिएको उनले बताए। उनका अनुसार घाँटीमा निलडाम पनि छन्।
‘मुख बन्द गरेर होला दाँतमा जिब्रो च्यापिएको छ, योनी आसपास शरीरबाट ब्लड बगेको छ, बलात्कार भएको देखिन्छ,’ उनले भने।
खुट्टाको तीन औंला पनि काटिएकोले घिसारेर लगेको हुनसक्ने उनको अनुमान छ।
‘घटनास्थलबाट पाँच सय मिटर मात्र भाग्न सफल भएको भए ऊ बच्न सक्थी होला,’ उनले भने।
घटनास्थलबाट आधा किलोमिटर पर पहिलो घर छ। घटनास्थल केही खोल्सोजस्तो गहिरो भागमा छ। प्रहरी चौकी त्यो ठाउँबाट करिब अढाइ किलोमिटर टाढा पर्छ।
शुक्रबार बिहान अनुसन्धानको टोली कुकुरसहित पुगेको थिको। निर्मला हत्याकाण्डमा प्रमाणहरू हराए जस्तो हुन नदिन विज्ञहरू पुगुञ्जेल घटनास्थल र लाश सुरक्षित राखिएको बताइएको छ।
‘हामीले लाश लैजान दिदैनौं, दोषी पत्ता लाउनपर्छ भनेका थियौं, पोष्टमार्टम हुनुपर्छ, यहाँका प्रमाण सुरक्षित छन् भनेपछि मान्यौं,’ उनले भने।
अनुसन्धानको टोलीले पनि सबै जाँच गरेपछि शुक्रबार बेलुका ४ बजेतिर शव उठाइएको उनले बताए। बेलुका ५ बजेतिर जिल्ला अस्पतालमा शव पुर्‍याइएको छ।
पोष्टमार्टम भएको छैन। अहिलेसम्म घटना रहस्यमै छ।
प्रहरीले घटनास्थल सुरक्षित राखेको बताएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले घटनास्थलको काम सकेर लाश जाँचका लागि अस्पताल पठाएको बताए।
‘अभियुक्तको खोजीमा लागेका छौं, सम्पूर्ण जनशक्ति परिचालित छ, यसलाई कानुनी प्रक्रियागत रुपमा अनुसन्धान अगाडि बढ्छ,’ उनले भने।
मृतकका अंकल शिराजले प्रहरीमा जाहरी दिएको बताए।
‘अहिले तत्कालका लागि अनुसन्धान गरिपाऊँ भनेर जाहेरी दिएका छौं,’ उनले भने।
मृतककी आमा घरमै छिन्। कहिले घरको भित्तामा टाउको ठोक्ने त कहिले मुर्छा पर्ने गरिकी छन्।
‘अरु महिलाहरूले सम्झाउँदै छन्,’ शिवराजले भने।
उनका अनुसार भागरथीको गाउँघरमा सिधासादा राम्रो व्यवहार थियो। आमा पढेलेखेकी छैनन्। दाइ र बुवाले मजदुरी गर्ने भए पनि आफू पढेर सरकारी जागिरे बन्ने उनी बताउँथिन्।
‘मलाई पढाउनुस्, सहयोग गर्नुस् भनेर भन्थी,’ उनले भने।
मृतकका दाजु घटना थाहा पाएपछि दिल्लीबाट शनिबार घर फर्किँदैछन्।
भागरथीको बलात्कारपछि हत्या गरिएको भन्दै सुदूरपश्चिमका विभिन्न ठाउँमा प्रर्दशन पनि भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *