• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले ल्याएको बुद्ध मूर्ति भैरहवामा अनावरण

Byspainnepal

Oct 31, 2021

रुपन्देही । निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्ब लगानीको बुद्ध मूर्ति अनावरण भएको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्तिको राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार अनावरण गर्नु भएको हो । स्पेनमा मुख्यालय रहेको लुम्बिनी गार्डेन फाउण्डेसनको समन्वयमा ल्याइएको मूर्ति एक हजार ८ सय किलोग्राम छ । शान्तिका प्रतीक सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विश्वभर प्रचारप्रसार होस् भन्ने उद्देश्यले चार वर्ष पहिले स्पेनमा स्थापना गरिएको लुम्बिनी गार्डेन फाउन्डेसनको सहयोगमा मूर्ति विमानस्थलमा राखिएको हो ।

मूर्तिको मूल्य दुई करोड १६ लाख अमेरिकी डलर पर्छ । हङकङमै पनि १ ग्राम ‘ह्वाइट जेड स्टोन’ को मूल्य १२ अमेरिकी डलर पर्छ । उक्त मूर्ति म्यानमारका खानी उद्योगीले उपलब्ध गराएको फाउण्डेसनका महासचिव एकराज गिरीले बताउनुुभयो । उहाँले फाउण्डेसन र नेपाल सरकार कसैको नगद लगानी भने नभएको बताउनुभयो । म्यान्मारबाट नेपाल ल्याउँदा लाग्ने ढुवानी खर्चवापत १२ हजार अमेरिकी डलर भने फाउण्डेसनले व्यहोरेको हो ।

मूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेश सभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडोसहितका विशेष प्रतिनिधिको उपस्थिति रहेको थियो । त्यस्तै कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाण, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतको पनि उपस्थिति रहेको थियो ।
बुद्ध मूर्ति अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई मानवले दैनिक जीवनमा आत्मसाथ गर्दै अगाडि बढ्न सक्दा विश्वमा दिगो शान्ति हुने बताउनुुभयो ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रूपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उहाँले बताउनुभयो । विमानस्थलमा बुद्धमूर्ति स्थापनाले लुम्बिनीमा नयाँ आयम थपिएको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *