• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

स्पेनको बेनिडर्ममा नेपाली पाठशाला शुरु

Byspainnepal

Dec 23, 2020


कमल पराजुली, बेनिर्डम,२३ डिसेम्वर ÷ स्पेनको आलिकान्ते स्थित कोष्टाबलाङकामा बस्ने नेपाली समुदायले आफ्ना बालबालिकालाई नेपाल र नेपाली भाषा तथा संस्कृतिबारे परिचित बनाउन नेपाली पाठशाला शुरु गरेका छन् । आलिाकान्तेको बेनिर्डममा बुधबारबाट शुरु भएको नेपाली पाठशालामा यस वरिपरि बस्ने नेपाली समुदायका बालबालिकालाई सातामा एक दिन भेला गरी सामान्य नेपाली भाषाको पठनपाठन तथा अन्य नेपाली सांस्कतिक गतिबिधी गराउन लागिएको हो । कोष्टाबलाङका निवासी नेपालीहरुको संस्था नेपाल स्पेन समाज कोष्टाबलाङकाको आयोजनामा शुरु भएको नेपाली पाठशालामा नीतु शाक्यले बालबालिकाहरुलाई सहजीकरण गर्नुहुनेछ ।

पाठशालाको पहिलो दिन बुधबार यस क्षेत्रका २ दर्जन भन्दा धेरै बालबालिकाको सहभागिता रहेको थियो । समाजको तर्फबाट पाठशाला सन्चालनको लागि संयोजन गरीरहनुभएकी समाजकी उपाध्यक्ष झरना कार्कीले पाठशालाको प्रचारप्रसार अझै बढाएर यस क्षेत्रमा बस्ने सबै नेपालीका छोराछोरीलाई समेट्न आफुहरु लागी रहेको बताउनुभयो । समाजका सल्लाहाकार रितेश श्रेष्ठले आफुहरुले यसअघि पनि पाठशाला सन्चालन गर्ने प्रयास गरेको र सुरुवात पनि गरेको तर विभिन्न कारणले सुचारु गर्न नसकिएको भन्दै अहिले सुरुवात भएकोमा खुसी लागेको बताउनुभयो । उहाँले यस क्षेत्रमा बस्ने नेपालीको संख्या बढ्दै गएको र लामो समयदेखि नेपाल बाहिर रहेका बालबालिकालाई नेपाली भाषा र संस्कृति तथा नेपाली संस्कार सिकाउन समस्या परिरहेको अबस्थामा शुरु भएको पाठशालाले धेरै राम्रो भुमिका खेल्ने बताउनुभयो ।

यसक्षेत्रका पुराना बासिन्दा तथा समाजका सल्लाहाकार विरेन्द्र श्रेष्ठले यस क्षेत्रमा बस्ने सबै नेपालीहरुलाई एकजुट बनाउन पाठशालाले अझै सहयोग बनाउने बताउनुभयो । समाजका अर्का सल्लाहाकार सुरेन्द्र भुजेलले आफुहरु पठशालामा कसरी सवैलाई समेट्ने र यसलाई कसरी दिगो बनाउने भन्नेबारे लागिरहेको बताउनुभयो । समाजका अध्यक्ष केशबराज कंडेलले पाठशाला सन्चालनको लागि आफुहरुले सवैको सहयोग लिने बताउनुभयो । अहिले सवैले स्वयसेवकको रुपमा काम गरेको भन्दै उहाँले पाठशालामा सहजिकरण गर्ने ब्यक्तिलाई पारिश्रमिक र बालबालिकाको खाजा खर्चको लागि पनि सहयोग संकलन गरी समाजले नै ब्यवस्थापन गर्ने बताउनुभयो ।


स्पेनको आलिकान्ते स्थित कोष्टाबलाङका क्षेत्रमा नेपालीहरुको संख्या बढ्दै गएको छ । यस क्षेत्रमा धेरै नेपालीहरुले आफ्नै ब्यवसाय गरेर बसेका छन् । आफ्नै ब्यवसाय गर्ने र अन्य रोजगार गर्नेहरु गरी एक हजार भन्दा धेरै नेपाली रहेको अनुमान छ । यस क्षेत्रमा नेपालीको संख्या बढ्दै गएकोले आपसमा घुलमिलको बाताबरण बनाउन समाजको तर्फबाट विभिन्न नयाँ कामहरुको योजना ल्याइएको अध्यक्ष कंडेलले बताउनु भयो । युवाहरुको बीचमा खेलकुदको कार्यक्रम र सांस्कृतिक पर्वहरुमा विशेष कार्यक्रम गर्ने आफुहरुको योजना रहेको उहाँले बताउनुभयो । समाजले धार्मिक गतिविधिका लागि यस क्षेत्रमा मन्दिर निर्माणको योजना अघि सारेको उहाँले बताउनुभयो

पाठशाला सुरुवातको सानो भिडियो फुटेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *