• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

साफको फाइनलमा नेपाल र भारतको भेट पक्का

Byspainnepal

Oct 13, 2021

नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोली बीच २८ वर्षपछि फाइनल खेल तय भएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बुधबार नेपाल र भारतले आफू अनुकुल नतिजा निकाल्दै असोज ३० गते हुने फाइनल भिडन्त पक्का गरेका छन् । नेपालले बंगलादेशसँग १–१ बराबरी खेल्दै फाइनल यात्रा तय गरेको थियो । अर्कोतर्फ च्याम्पिनयसिपमा अपराजित भएको भारतले आयोजक माल्दिभ्सलाई ३–१ को नतिजा निकाल्दै अन्तिम दुईको यात्रा तय गरेको थियो । भारत सात पटकको च्याम्पियन टोली हो । साफ च्याम्पियनसिपमा भने नेपाल पहिलो पटक फाइनल पुगेको हो ।

साफ च्याम्पिनसिपमा पहिलो पटक फाइनल पुगेपनि नेपालले यसअघि अर्को फाइनल खेलेको थियो । अहिले दक्षिण एसियाली खेलकुद (साग) का नामले परिचित तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) को छैटौं संस्करणमा नेपाल र भारतले फाइनल खेलेका थिए । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपाल टाइब्रेकरमा ४–३ ले विजयी भएको थियो ।

२–२ को बराबरीपछि टाइब्रेकरमा नेपालले बाजी पारेको थियो । त्यसयता नेपाली राष्ट्रिय सिनियर टोलीले दक्षिण एसियाको क्षेत्रिय स्तरको प्रतियोगिता जितेको छैन । सागमा पहिला सिनियर टोलीले नै खेल्ने गर्थ्यो । नवौं साग देखि भने यू २३ टोलीले साग खेल्दै आएको छ । सागको १२ औं संस्करणमा नेपालले भारतलाई हराएर नै उपाधि जितेको थियो । दक्षिण एसियाको पावर हाउस भारतविरुद्ध नेपालले पछिल्लो झण्डै डेढ महिनामा चौथो पटक खेल्ने तय भएको छ । भदौको १७ र २० गते दशरथ रंगशालामा यी दुई टोलीबीच मैत्रीपूर्ण खेल भएको थियो । जसमा पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलमा भारत २–१ ले विजयी भएको थियो । असोज २४ गते भएको पछिल्लो भेटमा भारत १–० ले विजयी भएको थियो । २ जित र २ बराबरीका साथ भारत ८ अंकसहित शीर्ष र ७ अंकसहित नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेका छन् । छैटौं सागमा टाइब्रेकरमा हराएपछि नेपालले २०१३ मा स्वदेशमा आयोजना भएको साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले हराएको थियो । नेपालले नियमित समयमा भारतलाई हराएको त्यो नै पहिलो खेल हो । त्यसयता नेपालले भारतलाई हराउन सकेको छैन । भारतमाथि जित निकाल्दै पहिलो उपाधि जित्ने मौका यसपटक नेपालसँग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *