• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

संसद बिघठनको बिरोधमा स्पेन स्थित तीन प्रवासी संगठनको संयुक्त बक्तव्य

Byspainnepal

May 27, 2021


संविधान विपरित संसद विघठन भएको भन्दै स्पेनमा रहेको तीन वटा प्रवासी संगठनले संयुक्त रुपमा बक्तव्य निकालेर बिरोध जनाएका छन् । नेपाली जनसम्पर्क समिती स्पेन, नेपाली जनप्रगतिशिल मंच स्पेन र स्पेन नेपाली एकता समाजले बिहिबार संयुक्त बक्तब्य निकालेर २०७८ जेष्ठ ७ गते राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको घटनाले आम प्रवासी नेपालीहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बक्तव्यमा विश्वभरी फैलिरहेको कोरोनाको महामारीबाट हाम्रो देश नेपाल अहिले विक्षिप्त अवस्थामा पुगेको विषम परिस्थितिमा जनताको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सरकार आफै एक पछि अर्को चरणवद्ध रुपमा मुलुकको संविधान र व्यवस्थामाथि नै खलल पुग्ने कार्य गर्न उद्दत रहेको भन्दै विरोध गरिएको छ ।
नेपाली जनसम्पर्क समिती, स्पेनका सभापति इन्द्र प्रसाद शर्मा, नेपाली जनप्रगतिशिल मंच, स्पेनका अध्यक्ष अर्जुन आचार्य र स्पेन नेपाली एकता समाज, स्पेनका अध्यक्ष दुर्गा शर्माले जारी गर्नुभएको संयुक्त बक्तव्यमा प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको पदबाट राजिनामा नदिई आफुसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६/ ५ को प्रकृया आरम्भ गर्न राष्ट्रपति समक्ष अनुरोध पेश गर्नु र राष्ट्रपति विद्यादेवी भण्डारीले सोही धारा अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार प्रस्तुत गर्न केबल २१ घण्टाको मात्र समय दिएर प्रतिनिधिसभा सदस्यलाई आव्हान गर्नु आफैमा दुरशाय र षडयन्त्रपूर्ण रहेको जनाइएको छ । साथै बक्तव्यमा प्रतिनिधि सभाको विघटन गर्ने जस्तो प्रतिगमनकारी कार्यका विरुद्ध आआफ्नो ठाउँबाट प्रतिकार र खबरदारी गर्दै नेपालको सर्वोपरि हितको पक्षमा उभिन र ऐक्यबद्धता जाहेर गर्न देश तथा विदेशमा छरिएर रहनुभएका वैचारिक संगठन संघ संस्था, मिडियाकर्मी, कानुन व्यवसायी, कलाकर्मी, बुद्धिजीवी तथा सम्पूर्ण देशभक्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा एकताबद्ध भएर प्रतिरोधमा उत्रन आव्हान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *