• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

युरो कप को लागि स्पेनको टोली घोषणा, कप्तान रामोस सहित रियल म्याड्रिडका कोहि परेनन्

Byspainnepal

May 24, 2021

नियमित कप्तान सर्जियो रामोसलाई बाहिर राख्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२० का लागि २४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक लुइस एन्रिकेले घोषणा गरेको टोलीमा रामोससहित रियल म्याड्रिडका कुनै पनि खेलाडी टोलीमा परेका छैनन् । रामोसको फिटनेसलाई लिएर लामो समयदेखि चर्चा चल्दै आएको थियो । अन्त्यमा एन्रिकेले स्पेनका लागि १ सय ८० खेल खेलिसकेका डिफेन्डर रामोसलाई टोलीमा समेटेनन् ।

स्पेनको रहेको समूह ‘ई’ मा स्लोभाकिया, स्विडेन र पोल्याण्ड रहेका छन् । स्पेनको सबै खेल सेभिलस्थित ला कार्तुजा ओलम्पिक रंगशालामा हुनेछ । सन् २००८ र २०१२ को च्याम्पियन स्पेन पछिल्लो समय शीर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा संघर्ष गर्दै आइरहेको छ । एन्रिकेले युरो उपाधि जित्ने लक्ष्यसहित घोषणा गरेको टोलीमा म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेविड डे हेया पर्दा चेल्सीका केपा अर्रिजाबलागाले भने स्थान बनाउन सकेनन् । त्यस्तै गत साता मात्र स्पेनिस नागरिकता हात पारेका फ्रान्सेली डिफेन्डर एमेरिक लापोर्ट भने टोलीमा परेका छन् ।

मिडफिल्डमा बार्सिलोनाका १८ वर्षीय पेड्रीले स्थान बनाउन सफल रहे । बार्सिलोनाका सर्जियो बुस्केट्स र जोर्डी अल्बा पनि टोलीमा रहेका छन् । युभेन्टसका फरवार्ड अल्भारो मोराटा, पिएसजीका पाब्लो सराबिया, वल्भ्सका एडामा ट्राओरे पनि युरोमा रहनेछन् । ला लिगा विजेता एटलेटिकोबाट कोके र मार्कोस लोरेन्टेले टोलीमा स्थान बनाएका छन् ।

पूर्ण टोली :

गोलरक्षक : उनाइ सिमोन, डे हेया, रोबर्ट स्यान्चेज

डिफेन्डर : जोसे गाया, जोर्डी अल्बा, पाउ टोरेस, एमेरिक लापोर्ट, एरिक गार्सिया, डिएगो लोरेन्टे, सेजार एज्पिलिक्वेटा

मिडफिल्डर : मार्कोस लोरेन्टे, सर्जियो बुस्केट्स, रोड्री, पेड्री, थियागो, कोके, फाबियन रुइज

फरवार्ड : ड्यानी ओल्मो, मिकेल ओयाराज्बाल, अल्भारो मोराटा, जेरार्ड मोरेनो, फेरान टोरेस, एडमा ट्राओरे, पाब्लो सराबिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *