• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

यस्तो छ स्पेनको नयाँ भ्याक्सिन क्यालेन्डर, ३० बर्षमाथिलाई पनि जुनमै खोप

Byspainnepal

May 30, 2021

स्पेनका विभिन्न पाँच वटा राज्य सरकारले सार्वजनिक गरेको नयाँ भ्याक्सिन क्यालेन्डर अनुसार ३० बर्ष देखि ४० बर्ष उमेर समुहलाई पनि जुनमै भ्याक्सिन शुरु हुने भएको छ । कातालोनिया, भ्यालेन्सिया, आन्डुलुसिया, कास्तिया ला मान्चा र एक्स्त्रेमादुराले ३० देखि ४० बर्ष उमेर समुहलाई पनि जुनमै भ्याक्सिन लगाउने गरी क्यालेन्डर सार्वजनिक गरेका छन भने अन्य ४ राज्यले पनि उक्त उमेर समुहलाई समेत समेटेर छिटै नयाँ क्यालेन्डर सार्वजनिक गर्ने स्पानिस संचारमाध्यमहरुले जनाएका छन् । स्पेनका प्राय सवै राज्यहरुमा जुनको पहिलो हप्ताबाट ४० बर्षमाथिलाई भ्याक्सिन लगाउन शुरु हुँदैछ भने कतिपयमा शुरु भैसकेको छ । ३० बर्षमाथिलाई भ्याक्सिन शुरु गर्ने सवैभन्दा पहिला सुचना निकाल्ने राज्य कास्तिया ला मान्चा हो । उक्त राज्यमा जुनको अन्तिम हप्ताबाट ३० देखि ४० बर्ष उमेर समुहका लाई पनि खोप दिइने छ । यस्तै भ्यालेन्सिया राज्यमा पनि जुनको १७ तारिकबाट उक्त उमेर समुहकालाई समेत भ्याक्सिन शुरु हुने जनाइएको छ । भ्यालेन्सिया सरकारले भ्याक्सिनका लागि सवैजनालाई स्थानीय स्वास्थ्य केन्द्रमा दर्ता भएर हेल्थ कार्ड लिन अनुरोध गरेको छ ।

कातालोनिया सरकारले ३ देखि ४ हप्तामा ३० देखि ४० बर्षमाथिका लागि खोप शुरु हुने जनाएको छ । त्यहाँ अहिले ४० देखि ५० बर्ष उमेर समुहकालाई भ्याक्सिन दिइरहेको छ । त्यसपछि १८ बर्षमाथिलाई समेत भ्याक्सिनको लागि फोन आउन सक्ने कातालोनियाका स्वास्थ्य अधिकारीले जनाएका छन् । यस्तै एक्स्त्रेमादुरा सरकारले पनि ३० देखि ४० बर्ष उमेर समुहकालाई पनि जुनमै भ्याक्सिन शुरु हुने बताएको छ । आन्डुलुसियिाले जुलाइको पहिलो हप्ताबाट उक्त समुहको भ्याक्सिन कार्य शुरु गर्ने जनाएको छ ।
स्पेनमा अहिलेसम्म २ करोड ६१ लाखले भ्याक्सिन लिइसकेका छन त्यसमा ८८ लाखले भ्याक्सिनको दुवै डोज लिइसकेका छन् । ६० बर्ष माथिका करिब ९५ प्रतिसत नागरिकले भ्याक्सिनको दुवै डोज लिइसकेको स्पेन सरकारले जनाएको छ । स्पेनले यो समरको अन्त्यसम्ममा ७५ प्रतिसत नागरिकलाई भ्याक्सिन लगाइसक्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *