• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

Byspainnepal

Feb 17, 2021


काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भनिएका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रकरणमा संलग्नता पुष्टि भएको भन्दै भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनि भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्थे । घटनामा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए ।

दिनेशले प्रहरीसँग दिएको साविती बयानमा यस्तो भनेका छन्–
म मध्यान्तरमा स्कुलमा (सनातन धर्म मावि) भलिबल खेलेर घर आएँ । त्यसपछि खोचलेकमा मेरो भागरथीसहितका अरु तीनजना आफ्नै गाउँका युवाहरुसँग भेट भयो । उनीहरु कपाल काट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटें र म फटाफट ती भन्दा अगाडि घरतिर लागें ।

घटनास्थल भएको स्थानमा म भागरथीभन्दा अगाडि नै पुगिसकेको थिएँ । केही बेरमा भागरथी आइन्। उनले पुग्नेवित्तिकै मैले सडकबाट धक्का दिएर सानो खोल्सोमा (जहाँ शव भेटिएको थियो) लडाएँ । उ लडी र घाइते भइ । अनि मैले घाँटी थिचेर मारिदिएँ । त्यसपछि म घर हिँडे ।

भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएको प्रहरीले जनाएको छ ।

घटनापछि उनी भागरथीको न्याय माग्दै भएको प्रदर्शनमा सहभागी भएका थिए । तर, उनको उनको व्यवहार भने परिवर्तन भएको नजिकबाट चिन्नेहरुले बताएको प्रहरीले जनाएको छ ।

घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको सुवेदीले बताए । उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए । भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरीसमेत दिएको उनले जनाए ।

प्रकरणको सफल अनुसन्धान गरेको भन्दै स्थानीयवासीले डीआईजी सुवेदी लगायतका अधिकृतहरुलाई फूलमाला लगाइदिएर सम्मानसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *