• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

बैंकहरुले विदेशमा बस्ने नेपालीलाई दिन थाले अफर ! कसरी खोल्ने एनआरएन बचत खाता ?

Byspainnepal

Dec 18, 2021

नेपाल राष्ट्र बैंकले गरेको निर्देशन अनुसार नेपाली बैंकहरुले विदेशमा बस्ने नेपालीले विदेशी मुद्रामै रकम जम्मा गर्न मिल्ने गरी एनआरएन बचत खाता खोल्न शुरु गरेका छन् । अघिल्लो हप्ता नेपाल राष्ट्र बैकले गरेको परिपत्र अनुसार बैंकहरुले अमेरिकी डलर , युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन र चिनियाँ युआन गरी ७ वटा विदेशी मुद्रामा खाता खोल्न पाउने गरी ब्याजका विभिन्न अफरहरु सार्वजनिक गर्न थालेका छन् । अहिलेसम्म सुचना निकालेका बैंकहरुको अफर हेर्दा बार्षिक ४ देखि ७ प्रतिसतसम्म ब्याजका अफरहरु छन ।

गैर आवासीय नेपालीले मुद्दती निक्षेप र वचत निक्षेप गरी दुई प्रकारले खाता खोल्न सकिन्छ । मुद्दती निक्षेप चाँहि १ वर्षको हुन्छ त्यसमा त्रैमासिक व्याज प्राप्त हुन्छ र त्यो व्याज फिर्ता लग्न चाहेमा त्रैमासिक रुपमा सम्बन्धित देश लान सकिन्छ । त्यो व्याजलाई नेपाली बैंकको अर्को वचत खातामा जम्मा पनि गर्न सकिन्छ । वचत निक्षेप त नेपालको जस्तै नै कुनै पनि बेला लैजान सकिने खालको हो। गैर आवासीय नेपालीले आफ्नो मात्रै नाममा वा नेपालमा रहने आफ्नो ब्यक्ति सहित संयुक्त रुपमा पनि खाता खोल्न पाउनेछन । बैंकहरुले एनआरएन बचत खाताहरु खोल्न थालिसकेको भए पनि कति खाता खोल्यो भनेर यकिन तथ्यांक भने अहिले उपलब्ध भैसकेको छैन ।

राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यो व्यवस्था गरेको थियो । एनआरएनले न्यूनतम ५ हजार अमेरिकी डलर राखेर खाता खोल्न सक्नेछन् । गैरआवासीय नेपालीको नाममा संयुक्त रुपमा समेत यसप्रकारको खाता खोल्न सक्ने राष्ट्र बैंकले जनाएको छ । गैरआवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तो परिचयपत्र विदेशमा दुतावासले जारी गर्दछन् । अहिले तत्कालको लागि एनआरएनए सदस्य कार्डले नै खाता खोल्न सकिने जनाइएको छ ।
त्यस्तै, राष्ट्र बैंकका अनुसार यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्नुपर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ । यस्तो खातामा नगद भने जम्मा नहुने राष्ट्र बैंकले जनाएको छ ।

कसरी खोल्ने खाता
नेपाली बैंकहरुले यसअघि नै अनलाइन आवेदनबाट खाता खोल्ने सुविधा दिई सकेका छन् । अझ एनआरएन बचत खाता खोल्नका लागि बैंकहरुले छट्टै फारम तयार गरी आफ्ना वेबसाइटहरुमा पनि राखेका छन् । आफुले खाता खोल्न चाहेको बैंकको वेवसाइटमा गई उक्त फारम भरेपछि खाता खोल्ने प्रक्रिया शुरु हुन्छ । त्यसपछिको प्रक्रियाबारे बैंकले स्वयम तपाईलाई सम्पर्क गर्ने छ ।
उदाहरणका लागि लक्ष्मी बैंकले आफ्नो वेवसाइटमा राखेको एनआरएन बचत खाता खोल्ने फारम हेर्न यो लिंकमा जानुहोस ।

https://www.laxmibank.com/nrn-term-deposit/


यस्तै नेपाल राष्ट्र बैंकको आग्रह अनुसार परराष्ट्र मन्त्रालयले सूचना जारी गरी विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा खाता खोलेर विदेशी मुद्रामा रकम जम्मा गर्न सकिने ब्यबस्थाबारे सुसुचित गरेको छ । विदेश स्थित सम्बन्धित दुतावासहरुले पनि सूचना निकालेर खाता खोल्ने प्रक्रियाबारे केही जिज्ञाशा भए सहयोग गर्ने जनाएका छन् ।



कुन बैंकको कस्तो अफर

नेपाल राष्ट्र बैंकले नेपालमा रहेका इजाजत प्राप्त बैंकहरुलाई विदेशमा बस्ने गैरआवासीय नेपालीलाई विदेशी मुद्रामै रकम जम्मा गर्न मिल्ने गरी खाता खोल्न दिने परिपत्र गरेपछि बैंकहरुले ब्याजका विभिन्न अफर सहित एनआरएन बचत खाता खोल्न विज्ञापनहरु गर्न थालेका छन् । केही बैंकहरुले जम्मा गर्ने रकम र अबधीका आधारमा ब्याजदर आपसी समझदारीमा तय गर्ने जनाएका छन भने केहीले ४ प्रतिसत देखि ७ प्रतिसत सम्मको ब्याज दिने अफर गरेका छन् । एनआरएन बचत खाताको सुरुवात गरेका केही बैंक यस्ता छन् ।


सनराइज एनआरएन डिपोजिट खाता


सनराइज बैंकले ‘ सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा ल्याएको जनाएको छ । विदेशमा बस्ने गैरआवासीय नेपालीहरूलाई केन्द्रित गरी ल्याइएको यस खातामा गैरआवासीय नेपालीहरूले विदेशमा कमाएको पैसा सनराइज बैंकमा एफसीवाइ फिक्स्ड डिपोजिट खाता खोल्न सक्ने भन्दै बैकले जम्मा भएको सो रकम तोकिएको समय अवधिपछि बिना झन्झट विदेशमा फिर्ता लान सकिने पनि जनाएको छ ।२ देखि ५ वर्ष अवधिका लागि रकम जम्मा गर्न सकिने उक्त खातामा वार्षिक ४ प्रतिशत ब्याज दिने व्यवस्था गरिएको तथा विदेशमा पाइने ब्याजभन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यस ब्याज अन्तरले ग्राहकहरूलाई नेपालमा पैसा राख्न आकर्षित गर्ने बैंकको विश्वास छ । यसका लागि विदेशबाटै अनलाइन खाता खोल्ने व्यवस्थासमेत रहेको बैंकले जनाएको छ । उक्त मुद्दती खाताको आधारमा ग्राहकहरूले ९० प्रतिशतसम्मको कर्जासमेत लिन सक्नेछन् ।

सानिमा एनआरएन मुद्दती खाता संचालनमा


सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि उच्चतम प्रतिफल दिने सानिमा एनआरएन मुद्दती खाता संचालनमा ल्याएको छ । यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्छन् ।
विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५.५, पाउण्ड स्टर्लिङमा ३.५ र यूरोमा २.५ को उच्चतम व्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
सानिमा एनआरएन मुद्दती खाता खोल्दा न्यूनतम रकम १०,००० अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो हुनुपर्ने छ । २ वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्त भए पछि साँवा तथा व्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्ने बैंकको भनाई छ ।


ग्लोबल आईएमई बैंकद्वारा एनआरएन लक्षित ६ वटा नयाँ खाता सञ्चालनमा


ग्लोबल आईएमई बैंकले गैर–आवासीय नेपाली एनआरएन तथा उनीहरूद्वारा प्रबद्र्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाता सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दती निक्षेप खाता रहेका छन् । अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर प्रदान गरिने छ । यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा न्युनतम मौज्दात कायम हुनुपर्नेछ ।उक्त खाता सञ्चालकहरुलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने छ । यसका साथै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदिको शुल्कमा छुट तथा वाखातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने बैंकले जनाएको छ ।

अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खातामा विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा पनि विशेष प्रिमियम प्रदान गरिने छ । साथै उक्त साँवा तथा आर्जन गरेको व्याज रकम सोही मुद्रामा फिर्ता गर्नु परेमा सहज रुपमा निशुल्क गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ । बैंकका देशभर २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५० भन्दा बढी केन्द्रबाट २७ लाख ग्राहकले सेवा लिादै आएको बैंकको दावी छ ।

विदेशमा रहेकाको लागि कामना सेवाको एनआरएन बचत खाता, ७ प्रतिशत ब्याज पाइने


कामना सेवा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपाली र उनीहरुको नेपालमा रहेका परिवारको लागि एनआरएन बचत खाता संचालनमा ल्याएको छ ।७ प्रतिशत ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निस्शुल्क मोबाक्षल तथा इन्टरनेट बैंकिङ्गको सुविधा रहेको छ ।विदेशमा रहेका नेपाली नागरिकाले रेमिट्यान्स तथा बैंकिङ्ग प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । साथै यस खाता मार्फत खोलिने मुद्धती निक्षेपमा ०।५ प्रतिशत थप ब्याज पाउनेछन् । यो खाता अनलाइनबाट पनि खोल्न सकिनेछ ।

गैरआवासीय नेपाली र देश दुवैलाई फाइदा
विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक बनेका बेला गरिएको यो व्यवस्थाले देशको अर्थतन्त्र र गैरआवासीय नेपालीहरु दुवैलाई फाइदा हुने विश्वास सरकारको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनमय सञ्चिति विभागका कार्यकारी निर्देशक रामु पौडेल यो व्यवस्थाले मुलुकमा विदेशी मुद्राको सञ्चिति बढाउन सहयोग पुग्ने बताउँछन् । यसले तत्कालका लागि मात्रै भएर दीर्घकालिन रुपमा सकारात्मक असर पर्ने उनको भनाइ छ । गैरआवासीय नेपालीहरु स्वयम्लाई पनि यसले फाइदा पुग्ने कार्यकारी निर्देशक पौडेलले बताउँछन् । ‘कतिपय देशहरुमा नेगेटिभ ब्याजदर छ, त्यस्ता देशहरुमा भएको रकम नेपालमा राखेर एनआरएनले ब्याज आम्दानी गर्न सक्छन्, यो उहाँहरुको लागि पनि खुसीको कुरा हो’ उनले भने ।
एनआरएन डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले यो व्यवस्था एकदमै राम्रो भएको र यसले नेपालीमा लगानी भित्र्याउन पनि महत्वपूर्ण सहयोग पुग्ने बताउँछन् । यो व्यवस्थाबारे अब संसारभर रहेका गैर आवासीय नेपालीहरुलाई बुझाउनु पर्ने उनले बताए । तर यसका लागि केही समय भने लाग्ने उनको भनाइ छ ।
‘अहिले त प्रचार प्रसार गर्नुपर्ने आवश्यकता छ, विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई यो कुरा बुझाउनु पर्छ,’ उनले भने, ‘नेपालमा खाता खोलेर ब्याज पाइन्छ फाइदा हुन्छ भन्ने कुरा बुझाउन सक्ने हो भने यहाँ लगानी आउँछ ।’
निक्षेप राखेर ब्याज खानमात्रै होइन नेपालमा लगानी गर्न पनि बैंक खाता आवश्यक पर्छ । राष्ट्र बैंकको यो व्यवस्थाले केही सहजता प्रदान गर्नेछ । अहिले विश्वका ८० भन्दा धेरै देशमा ८० लाख गैरआवासीय नेपालीहरु रहेको र अनौपचारिक अध्ययनअनुसार वाषिर्क ८० खर्बको कारोबार गैरआवासीय नेपालीहरुबाट हुने गरेको उनले बताए ।
‘यहाँ एक महिनामा कमाउने त धेरै देशहरुमा हाम्रा गैरआवासीय नेपालीहरुले एक दिनमै पनि कमाउनुहुन्छ जस्तो एउटा विद्यार्थीले घण्टाको १० डलर १२ डलरसम्म कमाउन सक्छ’ उनले भने, ‘यसमध्ये केही रकम नेपाल ल्याउन सकिन्छ भन्ने हाम्रो अनुमान हो, अब खाता खोल्न र लैजान पनि सहज बनाउनुपर्छ ।’
अब आउने क्रम शुरु हुने हो भने छाटो समयका लागि २ अर्ब डलरसम्म र पछि ४ देखि ५ देखि अर्ब डलरसम्म वाषिर्क एनआरएनबाट विदेशी मुद्रा आउन सक्ने भट्टराईको अनुमान छ ।
संसारभरिका गैर आवासीयहरुले सहज रुपमा स्वदेशमा पैसा पठाउन पनि सहज छैन । निक्षेप राख्न होस् या लगानी गर्नका लागि होस् यहाँ खाता आवश्यक पर्छ । यस्तो बेला बचत खातामा पैसा राख्न र चाहिएको बेला सहजै निकाल्न सक्ने व्यवस्था आउनु खुसीको कुरा हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *