• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

प्रवासी नेपालीको “अरुचिकर” एनआरएन र चुनावी हर्कतले गिरेको साख

Byspainnepal

Aug 17, 2021
  • कमल पराजुली, स्पेन

१ – गैरआवासीय नेपाली संघ बेल्जियमको गत जुलाई २५ तारिकमा भएको चुनावका क्रममा एउटा क्षेत्रमा ठुलै विवाद भयो । मतपेटिकामा पानी खन्याउने, मतपत्र च्यात्ने देखि लिएर नेपालीहरु एकअर्कामा आक्रमणमै उत्रीए । केही ब्यक्ति घाइते समेत हुने गरी भएको उक्त घटनास्थलमा त्यहाँको प्रहरी आयो र सोध्यो यो के भैरहेको छ ? त्यहाँका नेपालीले भने समाजसेवा गर्न चुनाव भैरहेको छ । त्यसपछि प्रहरीले अचम्म मान्दै भन्यो समाजसेवाका लागि कुटपिट ?
२- स्पेनको एउटा क्षेत्रको चुनावको पुर्व सन्ध्यामा हात हालाहाल भयो । एउटा रेष्टुरेन्टमा भएको होहल्ला र कुटपिटपछि स्थानीय प्रहरी आयो तर प्रहरीलाई नेपालमा कोभिड पिडितलाई सहयोग पठाउने छलफल गरेको भनेर छलियो । कोभिड पिडितलाई सहयोग पठाउन कुटपिट र झगडा नै गर्नु परेको देखेर ति प्रहरीले पनि अचम्मै माने होलान ।

यि प्रसंग सुन्दा रमाइला र सामान्य लाग्न सक्छन तर यसले एनआरएनका कारण प्रवासी नेपालीहरुको बदनाम कुन तह सम्म पुगेको छ भन्ने कुराको स्पष्ट संकेत गरेको छ ।
करिव ८० लाख प्रवासी नेपालीलाई प्रतिनिधित्व गर्ने गैर आवासीय नेपाली संघको आगामी १० औँ विश्व सम्मेलन अघि अधिकांश देशको एनसीसीहरुको चुनाव सम्पन्न गरेका छन । तर धेरै देशहरुको चुनाबका क्रममा भएका अति राजितिकरण र तल्लो स्तरका गतिविधिले बास्तवमै नेपालीहरुको साख गिराएको छ । अमेरिकाबाट शुरु भएको यो क्रम जापान हुँदै युरोपमा प्रवेश गर्यो । र युरोपका धेरै देशहरुमा एनआरएनएको चुनाव धेरै विवादित, झगडा र झडपहरु भए ।

बेल्जियम घटना


युरोप क्षेत्रका २८ वटा देशमा एनसीसी रहेकोमा पाँच वटा देशमा निश्किृय अबस्था छन भने बाँकी देशहरुमा विभिन्न प्रक्रियाबाट अधिवेशन भएका छन् । केही देशमा निर्बिरोध रुपमा अधिबेशन सम्पन्न भयो र केहीमा कमिटीमा बस्ने ब्यक्ति पनि भेटाउन नसक्दा पुर्ण हुन नसकेको पद बाँकी राखेर घोषणा गरियो । निर्विरोध भएका देशहरुमा बाहेक अरु प्रायजसो सवै देशहरुमा चुनावमा अति राजिनितिकरण र विवाद देखियो । कतिपय देशमा अनलाइनबाट चुनाव गरियो । सवैभन्दा धेरै विवाद र धाधली अनलाइन मतदान भएका देशहरुमा देखियो । अनलाइन मतदानमा युकेमा १ हजार भन्दा धेरै फर्जी खसेको पाइयो । यही विषयमा विवाद हुँदा लामो समयसम्म नतिजा घोषणा गरिएन । निर्वाचन समितीका ब्यक्ति नै आफुलाई अपहरण गरेर थुनिएको भन्दै संचार माध्यममै आए । बेल्जियममा विदेशी नागरिकलाई प्रयोग गरेर तोडपोड र विवाद गरियो । पछि च्यातिएका मतपत्र समेत गनेर नतिजा सार्वजनिक गरियो । सवैभन्दा धेरै विवाद पोर्चुगलमा देखिएको छ । त्यहाँ एउटा क्षेत्रमा भौतिक रुपमा मतदान गरिएपनि अन्य क्षेत्रमा अनलाइन मतदान गराइयो । अनलाइन मतदानमा एउटा पक्षले आफुखुसी भोट खसालेको समाचारहरु प्रकासित भए । अन्त्यमा त्यहाँ २ वटा कमिटी देखिएका छन् । त्यती मात्रै होइन अनलाइन चुनाव भएका साइप्रस, जर्मनी, स्पेन, नर्वे, फ्रान्समा पनि एउटै ब्यक्तिले धेरै भोट हालेको, मतदाताहरुको कोड र इमेल चोरी भएका कुराहरु सार्वजनिक भएका छन र एउटा पक्षले नमान्ने र अर्को पक्षले नतिजा घोषणा गरेर जाने क्रमहरु चले ।

राजनीति हावी, एनआरएन प्रति वितृष्णा
एनआरएनएको प्राय सवै देशहरुमा भएको अधिबेशनमा कुनै न कुनै विवाद देखियो नै । र हर ठाँउमा हुने विवादको कारण राजनीति हावी हुनु नै हो । अहिले एनआरएनको सवै क्षेत्रको नेतृत्वमा जान चाहने र गएकाहरु नेपालमा कुनै न कुनै राजनीतिक पार्टी आबद्ध भएर सक्रिए काम गरेकाहरु देखिएका छन् । उनीहरुले नेपालमा राजनीति गर्दा सिकेका सवै उपाए र दाउपेचहरु अहिले एनआरएनएको चुनावमा प्रयोग गरेको देखिन्छ । त्यसैले एनआरएनमा प्रवासी नेपालीको अब त्यति धेरै विश्वास र आशा छैन भन्दा पनि हुन्छ । सदस्यहरुको सख्याले पनि यो कुरा प्रस्ट देखाउछ । वास्तवमा आफै सदस्य बनेकाहरु कुनै पनि देशमा ५ प्रतिसत पनि पुग्दैनन होला । एमआइएसको फाइदा उठाउँदै उमेद्वार र पार्टीका नेताहरुले आफै सदस्य बनाएका सदस्यहरुले आफुलाई सदस्य बनाइदिनेकै हातबाट भोट खसालेका छन् ।
प्रवासमा ८० लाख नेपाली रहेको मानिदा एनआरएनको पञ्जिकृत सदस्य १ लाख पुगेको छ । त्यो पनि फर्जी सदस्य सहित । युरोपको कुरा गर्दा अधिकांश देशमा १० प्रतिसत पनि पञ्जिकृत सदस्य बनेका छैनन ।
केन्द्रीय उपाध्यक्षसहित अधिकांश एनआरएन अभियान्ता रहेको बेल्जियममा २२ सय भन्दा कम सदस्य हुनु त्यो पनि स्वस्फुर्त नभई उमेद्वारले आफूलाई भोट हाल्नकै लागि बनाइदिएका सदस्य छन् । फ्रान्समा ५ सय मात्रै सदस्य भए । नेपालीको सख्याको ५÷६ प्रतिसत मात्रै सदस्य हुनुले के संकेत गर्छ ? १० हजार भन्दा धेरै नेपाली भएको स्पेनमा २ हजार मात्रै सदस्य छन् । ३५ हजार भन्दा धेरै नेपाली रहेको पोर्चगलमा १६ सय सदस्य छन् । यि केही देशका उदाहरण मात्रै हुन । प्राय सवै देशको अबस्था यस्तै नै देखिन्छ । यसले एउटा कुरा प्रष्ट रुपमा भनेको छ कि अब एनआरएनप्रति विदेशमा बस्ने नेपालीहरुको रुचि विश्वास छैन ।
युरोपमा विवादको कारण
युरोपमा अधिकांश देशमा चुनावमा भएको विवाद, लडाई, झगडा र कुटपिटका घटनाको मुख्य कारण अति राजीतिकरण नै हो । यसमा नेतृत्वले नै विवाद कम गर्ने तिर भन्दा आफ्ना मान्छेहरुलाई जिताउन विवादहरु सिर्जना गर्न लागि परेको देखिन्छ । एनआरएनएका युरोप संयोजक नारायण आचार्यले भने यो कुरा स्विकार गर्नुहुन्न । हामीसँगको कुराकानीमा उहाँले युरोपका सवैदेशहरुको निर्वाचन विधानसम्बत ढंगले भएको र विवाद भएका देशहरुमा आफुले नै पहल गरेर विवाद समाधान गरेको दावी गर्नुभयो । तर युरोप उपसंयोजक मुक्त गुरुङले भने धेरै देशहरुमा विवाद आउनुको प्रमुख कारण नै युरोप संयोजक रहेको आरोप लगाउनुभयो । प्रवेक्षक चयनदेखि लिएर चुनावी प्रक्रियाहरुमा आचार्यले एकलौटी रुपमा गरेको र कतिपय देशमा आफ्नो पक्षकालाई जिताउन आफै विवाद सिर्जना गर्न लागि परेको आरोप लगाउनुभयो । दुवै पक्षका कुरा सुन्दा युरोपमा देखिएको विवादमा एक पक्षले अर्को पक्षलाई आरोप लगाइरहेको देखिन्छ । यि सवैको मुख्य कारण चाही अति राजनीति हुनु नै रहेको युरोपका पुराना पत्रकार केजिन राई बताउँछन् । नेपालमा स्वबियु निर्वाचनमा हुने हर्कतहरु युरोपको एनआरएनमा देखिएको उनले बताए । अहिले एनआरएनमा चुनावमा लागिरहेका ब्यक्तिहरु नेपालमा स्वबियुमा चुनाव लडेका र काम गरेका पुस्ताका धेरै रहेकोले पनि त्यो झल्को यता देखिएको उनको निश्कर्ष छ ।
गैरआवासीय नेपाली संघभित्र दलगत राजनीति नराम्ररी छिरेको छ । अझ कांग्रेस केन्द्रीय कार्यालयले औपचारिक लेटरहेडमा छाप तथा महामन्त्री पूर्णबहादुर खड्काको हस्ताक्षरसहित विश्वभर रहेका नेपाली जनसम्पर्क समितिलाई सानातिना मतान्तरलाई बिर्सेर समन्वय परिषद्मा साथीहरूलाई विजयी गराउन निर्देशन दिएको पत्रले नेपालका राजनीतिक पार्टीहरुले नै जर्वजस्ती एनआरएनमा राजनीति छिराएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *