• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

प्रवासबाटै मत दिन पाउनुपर्ने माग गर्दै ओएनएफले बुझायो ज्ञापनपत्र

Byspainnepal

Jan 25, 2022

प्रवासी नेपालीहरुले पनि आफू बसेकै मुलुकबाट नेपालको निर्वाचनमा मत हाल्न पाउनुपर्ने माग गर्दै सोमबार निर्वाचन आयोग र परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको छ।

नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको एक प्रतिनिधिमण्डलले सोमबार निर्वाचन आयोग र परराष्ट्र मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएको हो ।

मञ्चका सचिवालय सदस्य तथा पूर्वी एशियाका इन्चार्ज भक्त गुरुङ (हङकङ), सचिवालय सदस्य तथा महिला सशक्तिकरण अभियान प्रमुख डा विमला भण्डारी (रुस), मञ्चको युरोप कमिटी उपाध्यक्ष एवम् बेलायत इन्चार्ज विनोद ज्ञवाली र बेलायत कमिटीकै सदस्य राधा भट्टराईले ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरुले कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ज्ञापनपत्र हस्तान्तरण गरे । त्यस्तै, सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सचिव भरतराज पौडेलमार्फत् परराष्ट्रमन्त्री नारायण खड्कालाई पनि ज्ञापनपत्र बुझाइयो । ज्ञापनपत्रमा प्रवासी नेपालीहरूले प्रवासबाटै मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्न सम्बन्धित निकायहरुसँग माग गरिएको छ ।

मञ्चले नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रको आधारमा प्रवासबाटै कूटनीतिक नियोगमार्फत् वा ईन्टरनेटको विद्युतीय माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने र अद्यावधिक गर्न पाउने व्यवस्था गर्न माग गरेको छ । त्यस्तै, प्रमाणित मतदाता नामावलीको आधारमा बसोबास गरेको देशको नेपाली कूटनीतिक नियोगमा विद्युतीय मतदान यन्त्रको माध्यमबाट प्रत्यक्ष रुपमा मतदान गर्ने र अशक्तहरुको हकमा हुलाकद्वारा मतदान गर्न पाउने गरी व्यवस्था गर्न समेत माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै निर्वाचन आयोग र परराष्ट्र मन्त्रालय दुवैका अधिकारीहरुले प्रवासी मञ्चले अघि सारेको मताधिकारसम्बन्धि माग व्यवहारिक रहेको र यसप्रति आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएको मञ्चको प्रतिनिधिमण्डलमा सहभागी युरोप कमिटी उपाध्यक्ष एवम् बेलायत इन्चार्ज विनोद ज्ञवालीले जानकारी दिए ।

मञ्चका विभिन्न मुलुकस्थित कमिटीहरुले पनि सोमबार नै स्थानीय नेपाली दूतावास तथा कूटनीतिक नियोगमार्फत् ज्ञापनपत्र बुझाएका छन् । प्रवासी नेपालीहरुले नेपालको संविधानद्वारा प्राप्त गरेको ‘ नेपाली नागरिकको मतदानको हक’ प्रवासबाट नेपालका आम निर्वाचनहरुमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै प्रवासी नेपाली मञ्च स्पेनले पनि नेपाली राजदुताबास स्पेन मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । प्रवासी नेपाली मञ्च स्पेनका सचिवालय सदस्यहरु शिवराज सिग्देल र गंगादेवी शर्मा साथै मनोज सिग्देल लगायतको टोलिले कार्यबाहक राजदुत मार्फत ज्ञापनपत्र बुझाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *