• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

‘नेपाली कांग्रेसको पत्रले प्रवासी नेपाली विभाजित’

Byspainnepal

Jul 23, 2021

चिरन शर्मा।
लन्डन । १४ औँ महाविधेशनको तयारीमा रहेको नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीहरुको सद्धभावलाई खलबल्याउने प्रयास गरेको छ। विदेशमा रहेका नेपाली संघ संगठनमाथि ठाडो हस्तक्षेप गर्दै नेपाली कांग्रेसले प्रवासी नेपालीहरुलाई गुट, उपगुट र विभाजनको मार्गमा हिँड्न प्रेरित गरेको हाे।

प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबरमा हुने १० औं महाधिवेशनलाई प्रभाव पार्ने उद्देश्यले नेपाली कांग्रेसका केन्द्रीय नेताहरु समेत जुम (भर्चुअल) मार्फत आयोजना हुने बैठकमा सहभागी भएर गैरआवासीय नेपाली संघको निर्वाचनमा लोकतान्त्रिक समूहलाई जिताउन लागि परेका छन्।

गैरआवासीय नेपाली संघको १८ वर्षको ऐतिहासमा नेपाली कांग्रेसका नेताहरु स्वयं उपस्थित भएर पार्टीको प्यानलै घोषणा गर्ने प्रचलनको सुरुवात गरेपछि गैरआवासीय नेपाली संघले आपत्ति जनाएको छ। आगामी हप्ता हुने गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनमा उठेका कांग्रेस समर्थक समूहको उम्मेदवारी घोषणासभाका कांग्रेसका केन्द्रीय नेताहरु एनपी साउद, धनराज गुरुङ, सरोज थापालगायतले सम्बोधन गर्दै लोकतान्त्रिक उम्मेदवारहरुलाई विजयी गराउन उर्दी जारी गरेका थिए।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियामा नेपाली कांग्रेसका नेताहरुको सहभागितामा संघको नेतृत्वको लागि प्यानल नै घोषणा गरेपछि गैरआवासीय नेपाली संघले आपत्ति जनाएको थियो। अष्ट्रेलियामा नेपाली कांग्रेसले हस्तक्षेप गरेपछि संघका अध्यक्ष कुमार पन्तले तत्कालै एक पत्रमार्फत् सो कार्यक्रमको निन्दा गरेका थिए। पन्तले संघका सबै राष्ट्रिय समितिहरुलाई पत्र लेख्दै कुनै पनि राजनीतिक दलको तर्फबाट समूह बनाई राजनीतिक दलका प्रतिनिधिमार्फत् समर्थन वा घोषणा गराई निर्वाचनमा भाग लिन प्रतिबन्धित रहेको स्मरण गराएका थिए।

संघले राजनीतिक दलको समूह बनाई राष्ट्रिय महाधिवेशनको निर्वाचनमा सहभागी भएको पाइएमा त्यस्ता समूहलाई मान्यता नदिने चेतावनी समेत दिएका थिए। संघको विधानले जातीय, धार्मिक र राजनीतिक दलमा संलग्न पदाधिकारीलाई एनआरएनएभित्र प्रवेश निषेध गरेको छ।

पन्तले पत्र जारी गरेको दुई हप्ता नपुग्दै नेपाली कांग्रेसले संघको केन्द्रीय निर्वाचनसमेत प्रभाव पार्ने गरी पार्टीका तर्फबाट औपचारिक पत्र जारी गर्दै गैरआवासीय नेपाली संघको निर्वाचनमा ठाडो हस्तक्षप गरेको छ। नेपाली कांग्रेसको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले विदेशस्थित पार्टीको भ्रातृ संस्था नेपाली जनसम्पर्क सम्पर्क समितिका सभापतिहरुलाई श्रावण ७ गते (२१ जुलाई) एक पत्र जारी गर्दै एनआरएनएको उद्देश्य र गैरआवासीय नेपाली साथीहरुको भावना अनुरुप संस्थालाई सफल र गतिशील बनाउन लोकतन्त्रवादीको नेतृत्व आवश्यक रहेको जिकिर गरेका छन्।

पार्टीले पत्रमा विश्वभरिका लोकतन्त्रवादीहरुको नेतृत्व सुनिश्चित गर्नको लागि एकताबद्ध भएर संघको राष्ट्रिय निर्वाचनमा लोकतन्त्रवादी समूहलाई विजयी गराउन आब्हान गरेको छ। पार्टीले गैरआवासीय नेपाली संघको महाधिवेशनलाई विशेष महत्व दिएर आवश्यक समन्वय गरेको पत्रमा उल्लेख छ। नेपाली जनसम्पर्क समितिका प्रमुख नेताहरुले नेपाली कांग्रेसको पछिल्लो पत्रले प्रवासी नेपाललाई समेत विभाजन गर्ने भन्दै आपत्ति जनाएका छन्।

विदेशस्थित नेपाली जनसम्पर्क समितिका एक नेताका अनुसार पार्टीको पत्रलाई विदेशस्थित नेपाली जनसम्पर्क समितिका सभापतिहरुले समेत गलत भन्दै सो पत्रको अवज्ञा गर्ने चेतावनी दिएका छन्। उनले पार्टीका केही पदाधिकारीलाई गलत सल्लाह दिएका कारण सो पत्र जारी भएको बताउँदै पार्टीको पछिल्लो कदमले गैरआवासीय नेपालीबीच पार्टीको छवि धमिल्याउने खेल भएको बताए। ‘गैरआवासीय नेपाली संघको निर्वाचनमा पार्टी हस्तक्षेप अस्वीकार्य छ,’ उनले भने।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रतिष्ठानको अन्तर्राष्ट्रिय संयोजक गंगाधार गौतमले महामन्त्रीद्वारा जारी पत्र अस्पष्ट भएको बताए। उनले भने, ‘पार्टी कार्यकर्तालाई तिक्तता मेटाएर मिलेर जाउ भन्न मिल्छ तर एनआरएनए निर्वाचनमा लोकतान्त्रिक गठबन्धन गर्न ह्वीप जारी गर्नु गलत हो।’ उनले नेपाली कांग्रेसको परिपत्रले विदेशमा रहेका नेपालीहरुका बीचमा समेत बैमनस्यता उत्पन्न हुने बताए। उनले महामन्त्रीद्वारा जारी पत्रको बैधानिकता खोज्न केन्द्रीय समितिलाई समेत आग्रह गरे।

गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन आगामी अक्टोवर २३ देखि २५ सम्म काठमाडौंमा हुँदैछ। सो अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्ने छ। सो अधिवेशनको तयारीको लागि जुलाई ३१ तारिखभित्र संघका ५० भन्दा बढी राष्ट्रिय समितिको निर्वाचन सम्पन्न हुँदैछ।

अनलाइनमार्फत् हुने संघको निर्वाचनका लागि वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी र गत निर्वाचन अध्यक्ष पदका पराजित उम्मेदवार कुल आचार्यको नाम पुनः चर्चामा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *