• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

नेपालमा भोलीदेखि आन्तरिक उडान बन्द, २२ गतेदेखि भारतसँगको उडान पनि बन्द हुने

Byspainnepal

May 2, 2021

बढ्दो कोभिड संक्रमण रोकथामका लागि सरकारले सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

कृषिमन्त्री पद्मा अर्यालले दिएको जानकारीअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबन्दा उच्च कोभिड संक्रमित भेटिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।

 नेपालमा पछिल्लो २४ घण्टायता परीक्षण गरिएकामध्ये ४३ प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आँकडाअनुसार नेपालमा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमण सुरु भएयताकै यो सर्वाधिक संख्या हो । १६ हजार ७ सय ७० जनाको परीक्षण गर्दा ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार तीन सय २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १६ सय १२ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८३ हजार ९९४ जनाले कोरोना जितेका छन् ।

हाल नेपालमा ४८ हजार ७११ संक्रिय संक्रमित रहेका छन् भने आइसोलेसनमा ६७ जना रहेका छन् । हालसम्म नेपालमा २५ लाख ४ हजार ४७६ वटा पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३ हजार ५ सय ९५ जना भेटिएका छन् । काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *