• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

नेपालमा फेरी कोरोना संक्रमण बढ्न थाल्यो

Byspainnepal

Mar 22, 2021

नेपालमा कोरोना संक्रमितको संख्या माघ २० यता पछिल्लो २४ घन्टामा सर्वाधिक संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय लगातार संक्रमितको संख्या घटिरहेको नेपालमा सोमबारबाट फेरि बढ्न सुरू गरेको छ।
मन्त्रालयका अनुसार माघ २० गते नेपालमा १७१ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि सोमबार १५० जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घन्टामा नेपालमा ४४७२ जनाको पीसीआर परीक्षण गर्दा १५० जनामा कोरोना पोजेटिभ देखिएको हो।
यस्तै ९९ जना निको भएर घर फर्किएका छन् भने पछिल्लो २४ घन्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेका छन्। यस्तै निको हुनेको संख्या २ लाख ७२ हजार २० छ भने मृत्यु हुनेको संख्या ३०१९ जना छन्।
हाल ५१ जना क्वारेन्टाइनमा छन् भने १०१७ जना अझै उपचाररत छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी कोभिड-१९ संक्रमण बढेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको थियो । हुन पनि छिमेकी मुलुकमा भाइरस संक्रमण दिनदिनै बढ्दो क्रममा छ । जसले गर्दा नेपालमा फेरि जोखिम देखिएको हो ।

नेपालमा केही महिनादेखि घट्दो क्रममा रहेको संक्रमण दर फेरि उकालिन थालेको छ । संक्रमित संख्या झिनो रूपमै बढिरहेको भए पनि यसप्रति सबै सचेत रहनुपर्छ । समयमै सावधानी अपनाइएन भने संक्रमणको अर्को लहर सुरु नहोला भन्न सकिन्न । कोभिड-१९ विरुद्धको खोप नेपालमा भित्रिएपछि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न हेलचेक्र्याइँ देखिएको छ । अधिकांशले मास्क लगाउन छोडिसकेका छन् भने सार्वजनिक स्थलमा भीडभाड र सभा, गोष्ठी र सम्मेलनमा पनि आवश्यक सतर्कता अपनाइएको हुँदैन ।

बसभित्र मास्कको प्रयोग भएको देखिँदैन, सडकमा पनि मानिस खुलेआम हिँडेको देखिन्छ । जोखिम रोक्न सीमानाकामा अनपनाउनुपर्ने प्रभावकारी संयन्त्र र मुलुकभित्रै अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्डमा लापरबाही भइरहेको देखिएको जनस्वास्थ्यविद्हरु बताउँछन् । जसले गर्दा सम्भावित जोखिमको खतरा बढेको हो ।

अहिलेदेखि नै सावधानी अपनाउन नसके होलीपछि संक्रमण बढ्न सक्छ । भारतमा रोजगारीबाट फर्केका नेपालीबाट गाउँ-गाउँमा संक्रमण फैलने सम्भावना बलियो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *