• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

थप ५० लाख डोज कोरोना खोप किन्ने प्रक्रिया सुरु

Byspainnepal

Mar 2, 2021

नेपालमा सरकारले थप ५० लाख डोज कोभिड–१९ (काेराेना भाइरस) विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको जनाएकाे छ । 

मङ्गलवार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतकाे उपसमितिमा कोभिड–१९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नका लागि प्रक्रिया सुरु गरेको बताउनुभएको हो । अहिले मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी एक करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले आउँदा दिनमा खोप अभियान ज्येष्ठ नागरिकबाट सुरु गर्ने बताउनुभयो । अग्रपङ्क्तिमा खटेर काम गर्नेहरूलाई पनि कोभिड–१९ को सङ्क्रमणबाट बचाउनुपर्नेमा उहाँको जोड छ । तीन लाख डोज खोप यही हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उहाँले जानकारी दिनुभयो । तर एकैचोटि करोडको सङ्ख्यामा खोप आएमा राख्ने ठाउँ नहुन सक्ने पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले कोभिडविरुद्धको खोपका कारण गम्भीर प्रकृतिका असर देखा नपरेको बताउनुभयो ।
डा. शर्माले कोभिडविरुद्धको खोप स्तनपान गराइरहेको आमालाई पनि दिन मिल्ने बताउनुभयो । १८ वर्षमुनिका बालबालिकाको उमेर समूहमा अध्ययन भएर तथ्याङ्क नआएको हुनाले खोप नदिइने उहाँको भनाइ छ ।

पहिलो खोप लगाएपछि गम्भीर प्रकारका असर देखा परेका व्यक्ति र गर्भवती महिलालाई पनि कोभिडविरुद्धको खोप नदिइने उहाँले जानकारी दिनुभयो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *